क्यान्सर र उपचार भ्रम र यथार्थ : क्यान्सररोग विशेषज्ञ
बिहीबार, १२ फागुन २०७३, १४ : ४५
क्यान्सरलाई एक भयावह रोगको रूपमा लिइन्छ । हाम्रोजस्तो स्वास्थ्यको पहुँच नपुगेको तथा उपचारका पर्याप्त प्रविधि नभएको देशमा त क्यान्सर ठूलो समस्या बन्ने गरेको छ । उपचार गर्दागर्दै धन पनि सकिने र ज्यान पनि जाने तितो यथार्थ भोग्नुपरेको अवस्था छ । तर, चुरोट र खैनी सेवन मात्रै छाड्ने हो भने नेपालीमा क्यान्सरको जोखिम धेरै कम हुने बताउँछन्, क्यान्सररोग विशेषज्ञ डा. आबिस अधिकारीः
—हाम्रा शरीरका कोषहरू पनि अनुशासनमा बस्नुपर्ने हुन्छ । जब कोषहरूले अफ्नो कर्तव्य बिर्सिन्छन् र एकाएक हतार–हतार बढ्न थाल्ने, बाँडिने हुन्छन्, तब समस्या आउँछ । यो समस्या नै क्यान्सर हो । एक ठाउँबाट अर्को ठाउँमा सर्नु क्यान्सरको नराम्रो बानी हो । एक अंगमा निम्तिएको क्यान्सर छेवैको या टाढाको अंगमा फैलिनुलाई मेटास्टासिस भएको भनिन्छ । क्यान्सर कुनै पनि अंगमा हुन सक्छ । पुरुषमा फोक्सो र मुखको क्यान्सर बढी देखिन्छ भने महिला पाठेघरको मुख र स्तन क्यान्सरको बढी जोखिममा हुन्छन् ।
—क्यान्सर किन हुन्छ भन्ने प्रश्नको सोझो उत्तर छैन । केही क्यान्सर वंशाणुगत हुन्छन् भने फोक्सो, मुख आदिमा क्यान्सर हुने खास कारण चुरोट र खैनी सेवन नै हो । फोक्सो र मुखको क्यान्सर भएकामध्ये ८० प्रतिशतभन्दा बढीले चुरोट, खैनी खाएको पाइन्छ । चुरोट, खैनी नखाएर पनि फोक्सो र मुखको क्यान्सर भएको निकै कम छ । मोटो शरीर, वातावरणीय प्रदूषण, केमिकल र कीटनाशक औषधि संक्रमित खानाका कारण पनि क्यान्सर निम्तिने गरेको छ ।
—क्यान्सरको उपचार गर्ने तरिकामध्ये अप्रेसन एउटा पाटो हो । काटेर फाल्न मिल्ने क्यान्सरको अप्रेसन गरिन्छ । जहाँ रोग छ, त्यो भाग काटेर हटाउनु नै क्यान्सरको अप्रेसन हो । तर, धेरैजसो काटेर निकाल्नै नसकिने अवस्थामा क्यान्सर भेटिन्छ । टाउको, घाँटी, रगत वा अरू निकाल्नै नमिल्ने अंगमा क्यान्सर भएको छ भने अप्रेसन असम्भव हुन सक्छ ।
—औषधि दिएर पनि क्यान्सरको उपचार गरिन्छ । क्यान्सरका औषधिलाई किमोथेरापी भनिन्छ । आजकाल सयौँ प्रकारका किमोथेरापी बनेका छन् । केही क्यान्सर किमोथेरापीसँगै सजिलै निको हुन्छन् भने केहीलाई किमोथेरापीले छु“दैन । हरेक किमोथेरापीका आ–आफ्नै राम्रा÷नराम्रा असरहरू हुन्छन् । सामान्यतया किमोथेरापीका कारण कपाल झर्ने, वाकवाक लाग्ने हुन्छ । तर, सबै किमोथेरापीले यस्तो नगराउन पनि सक्छ ।
—रेडिएसनको प्रयोगले क्यान्सरको उपचार गर्ने प्रविधिलाई रेडियोथेरापी भनिन्छ । नेपालीमा रेडिएसनलाई विकिरण भनिन्छ । केही बढी तागत भएको एक्सरे भनेर बुझ्दा पनि हुन्छ । रेडियोथेरापी गर्ने विभिन्न मेसिन हुन्छन् । हरेक दिन केही मिनेटका दरले हप्तामा पाँच दिन गरिने यो उपचार ६ हप्ताजतिको हुन्छ । रेडियोथेरापीलाई ‘सेकाउने’ रूपमा धेरैको बुझाइ छ । तर, यो बुझाइ पूर्णतः गलत हो । रेडियोथेरापी गर्दा न पोल्छ, न त दुख्छ नै । यो सुरु गरेको २–४ हप्तामा कसै–कसैको छाला अलि कालो भने हुन सक्छ । अरू प्रतिकूल असर के हुन्छ भन्ने कुराचाहिँ रेडियोथेरापी कुन अंगमा गरिँदै छ भन्नेमा भर पर्छ ।
—नेपालमा क्यान्सरको अप्रेसन र किमोथेरापी धेरै अस्पतालमा गरिन्छ । तर, रेडियोथेरापी सुविधा भने कम अस्पतालमा छन् । वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुरस्थित क्यान्सर अस्पताल र मणिपाल कलेज पोखरामा यो सेवा उपलब्ध छ । त्यसो त भक्तपुरमा खुलेको काठमाडौं क्यान्सर सेन्टर र हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा पनि रेडियोथेरापी
सेवा दिइन्छ ।
—क्यान्सरको उपचार क्षेत्रमा हरेक दिन केही न केही नयाँ आइरहेका हुन्छन् । केही दशकअघि पार पाउन नसकिने भनिएको क्यान्सर वेलैमा पहिचान गर्न सके निको हुन थालेको छ । बिस्तारै नयाँ औषधि, नयाँ प्रविधि भित्रिँदै गए नेपालमै सहज तरिकाले क्यान्सर निको हुन सम्भव हुने विश्वास गर्न सकिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण