बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरदारको घरमा जन्मियो ६०औँ सन्तान : भन्छन्, ‘श्रीमती अझै बच्चा जन्माउन चाहन्छिन्’

मङ्गलबार, १९ पुस २०७९, १२ : २६
मङ्गलबार, १९ पुस २०७९

इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आइतबार आफ्नो ६० औं सन्तान जन्मेको दाबी गरेका छन् ।

बीबीसीसँग कुरा गर्दै उनले आफ्ना ५ सन्तान अल्लाहलाई प्यारो भएको र ५५ जना जीवित र स्वस्थ रहेको बताए ।

उनले यति धेरै सन्तान जन्माएर पनि आफू नरोकिने र अल्लाहले चाहे अझै सन्तान जन्माउने बताए । यसका लागि उनले चौथो विवाह गर्ने योजना पनि बनाएका छन् ।

५० वर्षीय सरदार जान मोहम्मद खान खिलजी क्वेटा सहरको पूर्वी बाइपास नजिकै बस्छन् । उनी डाक्टर हुन् र उनको त्यही क्षेत्रमा क्लिनिक छ ।

६० औं सन्तानको रुपमा उनको छोरा जन्मिएके हाजी जानले बताएका छन् ।  उनले छोराको नाम खुशहाल खान राखेका छन् ।

उनले भने, ‘मैले खुशहाल खानको जन्म हुनुभन्दा पहिले उनको आमालाई उमराहमा लिएर गएको थिएँ, त्यसैले म उनलाई हाजी खुशहाल खान भन्छु ।’

यति धेरै छोराछोरीको नाम याद त हुन्छ भनी सोध्दा उनले चर्को स्वरले हाँस्दै भने, ‘किन नहुनु ?’

सन् २०५० सम्ममा विश्वको कुल जनसङ्ख्या वृद्धिमा पचास प्रतिशत योगदान दिने विश्वका आठ देशमध्ये पाकिस्तान पनि एक हो ।

संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् १९६० देखि विश्वभर जनसंख्या वृद्धि दर घट्दै गएको र सन् २०२० मा यो दर एक प्रतिशतभन्दा कम थियो भने पाकिस्तानमा १.९ प्रतिशत रहेको थियो ।

sardar1चौथो विवाहका लागि महिला खोज्दै

सरदार जान मोहम्मदले आफू चौथो पटक बिहे गर्ने र यसका लागि चौथो महिलाको खोजीमा रहेको बताए ।

उनले भने, ‘मैले मेरा सबै साथीहरूलाई मेरो चौथो विवाहका लागि केटी खोज्न मद्दत गर्न आग्रह गरेको छु । जीवन हातबाट फुस्किरहेको छ, त्यसैले मेरो चौथो विवाह छिटो होस् भनेर प्रार्थना गरिरहेको छु ।’

उनले धेरै बच्चा जन्माउने आफ्नो मात्रै इच्छा नभएको भन्दै उनका श्रीमतीहरुको पनि यस्तै चाहना भएको बताए । उनका अनुसार उनको घरमा छोराको साटो छोरी धेरै छन् ।

जान मोहम्मदले आफ्ना केही छोराछोरी २० वर्षभन्दा बढी उमेरका भए पनि अध्ययनरत रहेकाले कसैको पनि विवाह नभएको बताए ।

‘आर्थिक समस्याको सामना गर्दै’

हाजी जान मोहम्मदले आफ्नो कुनै ठुलो व्यापार नभएको तर घरको सबै खर्च आफ्नो क्लिनिकले बेहोर्ने बताए ।

यसअघि छोराछोरीको खर्चमा खासै समस्या नपरेपनि पनि पछिल्लो तीन वर्षदेखि अत्यधिक महँगी बढेपछि केही आर्थिक समस्यामा परेको उनले बताए ।

उनी भन्छन्, ‘व्यवसाय ठप्प भएको छ । पीठो, घिउ, चिनीलगायत सबै आधारभूत कुराको मूल्य तीन गुणाले बढेको छ । पछिल्ला तीन वर्षदेखि म लगायत विश्वका सबै पाकिस्तानीले समस्या भोगिरहेका छन् ।’

छोराछोरीलाई खुसी राख्ने आफ्नो प्रयास रहेको र त्यसका लागि आफूले कसैसँग सहयोग नभई मिहिनेतले खर्च जुटाउने प्रयास गरेको उनले बताए ।

सबै छोराछोरीलाई पढाउँदै आएका हाजी जानले आफ्ना छोराछोरीको पढाइमा पनि धेरै खर्च गरिरहेको बताए ।

उनले भने, ‘बच्चाहरुको खर्चको सिलसिलामा मैले कसैको पनि मद्दत मागेको छैन तर सरकारसँग नागरिकको रुपमा मेरा बच्चाहरुले उनीहरुको अधिकार पाउनुपर्छ ।’

sardar2‘बच्चालाई कारमा घुमाउन लैजानु अब मुस्किल’

सरदार जान मोहम्मदले आफू घुम्न शौखिन भएको र आफ्नो छोराछोरीले पनि पूरा पाकिस्तान घुमुन् भन्ने चाहना राखेका छन् ।

छोराछोरी सानो हुँदा गाडीमा लैजान सजिलो भए पनि अब कारमा लैजान सम्भव नभएको उनले बताए ।

छोराछोरीलाई यात्रा गर्न सरकारले सहयोग गरिदिनु पर्ने उनको भनाइ छ ।

हाजी जान भन्छन्, ‘यदि सरकारले मलाई एउटा बस दियो भने, म आफ्ना सबै छोराछोरीलाई सजिलै पाकिस्तान लैजान सक्छु ।’

सरदार जान मोहम्मद बलुचिस्तानमा धेरै सन्तानको पिताको रूपमा चर्चा हुने दोस्रो व्यक्ति हुन् ।

यसअघि बलुचिस्तानको नुस्की जिल्लामा अब्दुल मजीद मेंगल नामका व्यक्तिले ६ विवाह गरी ५४ सन्तान जन्माएका थिए ।

अब्दुल मजिद मेंगलको ७५ वर्षको उमेरमा गत महिना निधन भएको थियो । उनको जीवनकालमा उनका दुई श्रीमती र १२ छोराछोरीको मृत्यु भयो ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप