शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सरकारबारे अनिर्णित एकीकृत समाजवादीले वामपन्थी एकतालाई जोड दिने

मङ्गलबार, १९ पुस २०७९, १६ : ०६
मङ्गलबार, १९ पुस २०७९

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले वामपन्थी शक्तिहरुसँगको एकता प्रक्रियालाई तीव्रता दिने भएको छ । मंगलबार सम्पन्न सो पार्टीको पोलिटब्युरो बैठकले वामपन्थी एकता, सहकार्य र मोर्चा निर्माणबारे ठोस पहलकदमी गर्न पार्टी केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

साे पार्टी सरकारबारे भने अनिर्णयको बन्दी बनेको छ । ४ दिनसम्म बसेको स्थायी समिति र पोलिटब्युरो बैठठकले सरकारबारे कुनै धारणा बनाउन नसकेको हो । बरु उसले अनिर्णयको बन्दी बन्दै जिम्मेवारी सचिवालयलाई पञ्छाएको छ । 

समाजवादीले जनता समाजवादी पार्टी (जसपा) देखि अन्य राजनीतिक दल र समूहसँग वार्ता र संवाद गर्दै एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । ‘हामी वामपन्थी धारमा रहेका सबैलाई एकताबद्ध बनाएर हाम्रो नेतृत्वमा अघि बढाउने प्रयासमा छौँ, जसपामात्रै होइन अरू दलहरू पनि हुन सक्छन्’, खतिवडाको भनाइ छ । उनले एमाले, माओवादीका साथै अरू वामपन्थी व्यक्ति र साना समूहहरूसँग समेत एकता गरिने भन्दै सवैसँग छलफल र कुराकानी गर्ने बताए । 

‘व्यक्ति वा साना समूह पनि हुन सक्छन्, अव हामी यो दिशामा अघि बढ्छौ’, खतिवडाको भनाइ छ । केही समयअघि एमाले छाडेका वामपन्थी नेता घनश्याम भुसाललगायतका नेताहरूसँग पनि छलफल गरेको थियो । तर भुसालसँग छलफल भएपनि उनले समाजवादी प्रवेश गर्ने नगर्ने निर्णय गरिनसकेको जनाएको छ । 

बैठकमा १२० भन्दा बढी केन्द्रीय सदस्यहरु भोट हाल्न नगएको र उनीहरूलाई कारबाही गर्नुपर्छ भनेर आवाज उठेपनि त्यसको तथ्य र रेकर्ड नभएको प्रचार विभाग प्रमुख खतिवडाले बताए । ‘यो पुष्टि हुने तथ्य र रेकर्ड हामीसँग छैन’, खतिवडाको भनाइ छ । तर पोलिटब्युरो बैठकमा सचिव रामकुमारी झाँक्री र नेता मुकुन्द न्यौपानेले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए । त्यसक्रममा उनीहरुले १२० भन्दा बढी केन्द्रीय सदस्य नै गत निर्वाचनमा भोट हाल्न नगएकाले उनीहरुमाथि छानबिन हुनुपर्ने धारणा राखेका थिए । 

एकीकृत समाजवादीले वर्तमान सरकारप्रति मौन बस्ने नीति लिएको छ । उसले आफ्नो पार्टीलाई सरकारमा आउन र समर्थन गर्न अहिलेसम्म कुनै प्रस्ताव नआएको भन्दै मौन बस्ने नीति लिएको हो । यदि प्रस्ताव आएपनि उसका प्रस्ताव हेरेर मात्रै सरकारमा जाने नजाने र समर्थन गर्ने नगर्नेबारे निर्णय गर्ने समाजवादीको तयारी छ । ‘प्रस्ताव आएपनि प्रस्ताव हेरेर, उसले गर्नसक्ने सम्भावना र एजेण्डा हेरेरमात्रै निर्णय हुन्छ’, खतिवडाले भने, ‘सरकार आज आफै बहुमतमा छ । उसले हामीसँग छलफल परामर्श गर्नुपर्छ नै भन्ने पनि छैन ।’ समाजवादीले सरकारबारे पार्टीमा औपचारिक रूपमा छलफल गर्ने कुरा नै नभएकाले बैठकमा त्यसबारे प्रवेश गर्ने नपरेको जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप