मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादीको निर्णयले सकसमा मुख्यमन्त्री कार्की

एमालेले सरकार विस्तार नरोक्ने
सोमबार, २५ पुस २०७९, ११ : ४८
सोमबार, २५ पुस २०७९

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्ति भएका एमालेका हिक्मतकुमार कार्कीलाई पहिलो गाँसमै ढुंगा लागेको छ । ६० जना सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई २४ घण्टा नबित्दै माओवादी केन्द्रले केन्द्रीय सत्ता गठबन्धन दलबीचको सहमतिमा असन्तुष्टि सार्वजनिक गरेपछि कार्कीलाई सकस भएको हो । 

केन्द्रमा भएको गठबन्धन दलको बैठकले प्रदेश १ सरकारको मुख्यमन्त्रीमा आलोपालो नगरी एमालेको एकलौटी हुने निर्णय सार्वजनिक भएको थियो । उक्त निर्णयपछि माओवादी केन्द्र प्रदेश १ ले आफूहरु अपमानित भएको भन्दै निर्णय सच्चिएर लिखित सहमति भएपछि मात्रै सरकारमा जाने बताएको छ ।

 १३ जना सांसद रहेको माओवादी केन्द्रले समर्थन भने दिइसकेको छ । यद्यपि उसले समर्थन फिर्ता लिएको अवस्थामा कार्कीलाई झिनो बहुमत मात्रै हुनेछ । एमाले, राप्रपा र जसपाको मत ४७ हुन्छ । ९३ जना सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । 

एमालेले सरकार विस्तार नरोक्ने
नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ सरकारमा नजाने घोषणा गरेसँगै एमालेले भने माओवादी बिनाकै सानो आकारको सरकार बनाउने तयारी गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो २ बजे शपथ लिएसँगै एमाले र सत्ता सझेदार अन्य दललाई समेटेर सरकार बनाउने तयारी गरेका छन् । नेकपा एमालेका प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले माओवादी सरकारमा नआएपनि आज मन्त्रीमण्डल विस्तार हुने बताए । 

आज बिहान अचानक नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा नजाने घोषणा गरेसँगै प्रदेश १ मा नयाँ राजनीतिक घटनाक्रम विकास भएको हो ।
एमालेका प्रमुख सचेतक भण्डारीले राप्रपा र जसपालाई समेटेर मन्त्रीमण्डल गठन गरी अगाडि बढ्ने बताए । नेकपा एमालेले पहिलो चरणमा दुई जना र अन्य पार्टीबाट १–१ जना मन्त्री बनाउने तयारी गरेको छ । तर, को को मन्त्री बनाउने भन्ने सार्वजनिक भएको छैन । स्रोतले दिएको जानकारी अनुसार एमालेबाट तिलकुमार मेन्याङ्बो र बुद्धिराज भण्डारी, राप्रपाबाट भक्तिप्रसाद सिटौला पहिलो चरणमा मन्त्री बन्ने छन् । जसपाबाट सहभागी गराउँदा एक मात्रै सांसद निर्मला लिम्बू पनि मन्त्री बन्ने सम्भावना छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप