शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विमान परिचारिका सृजनाको जन्म गाउँ शोकमा

शुक्रबार, ०६ माघ २०७९, ०८ : ३०
शुक्रबार, ०६ माघ २०७९

पाल्पा । गत आइतबार पोखरामा भएको जहाज दुर्घटनामा मृत्यु भएकी विमान परिचारिका (एयर होस्टेज) सिर्जना हुङचुङ (सिर्जु थापा) लाई सम्झेर उनको जन्म गाउँ पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानी सिरुङ्गा नै शोकमग्न छ । हुङचुङको निधनले परिवारजन पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान सिरुङ्गावासी गहिरो बेदनामा छन् । 

हाल उनको परिवार रुपन्देहीको सैनामैना बस्दै आएको भए पनि पाल्पाको सिरुङ्गामा उनका काका, काकी तथा सबै दाजुभाइसहित आफन्तहरू छन् । ‘बिहान १० बजेतिर सिर्जनाको माइला दाजु बुटवल बस्दै आउनुभएका तेजेन्द्र हुङचुङसँग कुराकानी भइरहेको थियो । हामी धेरैबेर दुई दाजुभाइबीच कुरा भएको थियो । फोन राखेको दुई घण्टापछि पोखरामा विमान दुर्घटनाको खबर पाइयो ।’ –सिर्जनाका भतिजा विजयराम हुङचुङले भने ।

उनले भने, ‘दुर्घटनाको खबर पाए पनि बहिनी दुर्घटनामा परेको खबर हामीलाई थाहा थिएन, एक्कासि दिउँसो दाजु तेजेन्द्रले बहिनी पनि दुर्घटनामा परिछन् भनेर फोन गरेपछि म अत्यन्त भावुक बने ।’ सृजनाको सम्झनामा अहिले परिवारसहित सिङ्गो सिरुङ्गा गाउँ नै शोकमा रहेको बगनासकाली गाउँपालिका–९ का वडा अध्यक्ष थानेश्वर तिमिल्सीनाले बताए । 

२०७२ देखि विमान परिचारिकाका रूपमा काम गरेकी २९ वर्षीय सिर्जना घरकी एक्ली छोरी थिइन् । उनका तीन दाजु भाइ रहेका छन् । शनिबार साँझ सृजनाले घरमा कुरा गरेर आइतबारको पोखरा उडानबारे परिवारलाई जानकारी गराएकी थिइन् । त्यही कुराकानी उनको अन्तिम भइदियो । फोनमा भएको कुराकानीमा सिर्जनाले ६१ वर्षीय आमा खिमसरासँग आफूलाई मनपर्ने बटुक रोटी पकाएर पठाइदिन भनेकी थिइन् । आइतबार माघे सक्रान्ति पनि थियो । आइतबार बिहानैदेखि आमा खिमसराले सृजनाका लागि बटुक पकाउँदै थिइन् । तर पोखरामा विमान दुर्घटना भएको थाहा पाएपछि उनको परिवारमा रुवाबासी चल्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप