शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

गण्डकीमा मन्त्रालय भागबन्डामा अझै किचलो, मुख्यमन्त्री अधिकारी पुगे काठमाडौँ

सोमबार, ०९ माघ २०७९, २० : २९
सोमबार, ०९ माघ २०७९

पोखरा ।  सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा नमिल्दा मुख्यमन्त्री खगराज अधिकारी सोमबार शीर्ष नेतासँग परामर्श लिन काठमाडौँ पुगेका छन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७४ संशोधन गरेर मन्त्रालय सङ्ख्या १२ बाट ७ वटा बनाउने निर्णय गरेको थियो । तर, भागबन्डा नमिल्दा अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । 

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या ७ बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सिता सुन्दासले बताइन् । ‘आइतबार र सोमबार सत्ता साझेदारको बैठक बस्यो । बैठक लगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या ७ बनाउने निर्णय गरेको छ,’ सरकारकी प्रवक्ता सुन्दासले भनिन् ।

पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएसँगै अधिकारीले विश्वासको मत लिएको १ साता भइसक्यो । तीन मन्त्रीलाई साथमा लिएर शपथ लिएका अधिकारीले अहिलेसम्म कुनै मन्त्रीले जिम्मेवारी दिन सकेका छैनन् । सोमबार मन्त्रालय घटाउने विषयमा सहमति जुटे पनि भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेन । 

‘मुख्यमन्त्रीको भित्री चाहना सोमबार नै मन्त्रिपरिषद् विस्तार गर्ने चाहना थियो । तर, यहाँ सत्ता गठबन्धनमा सहभागी दलको नेताहरूको बैठकले कुन दलको कति मन्त्रालय बनाउने भन्ने विषयमा सहमति नजुट्दा समस्या भएको हो,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘मन्त्रालय सङ्ख्या घटेपछि सबै दलले धेरै मन्त्रालयको अपेक्षा गर्दा मुख्यमन्त्री यहीँ कुरालाई टुङ्ग्याउन केन्द्रीय नेतासँग सल्लाह लिन जानु भएको हो ।’ 

सोमबारको सत्ता गठबन्धनको बैठकमा एमालेले मुख्यमन्त्रीसहित ४, माओवादीले २ र राप्रपाले १ मन्त्रालय पाउने विषयमा छलफल भएको थियो । तर, सहमति नटुटेपछि मुख्यमन्त्री अधिकारी काठमाडौँ पुगेको स्रोत बताउँछ । यता माओवादी एक सांसदका अनुसार सोमबारको बैठकमा सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्रीसहित एमालेबाट ३, माओवादीबाट ३ र राप्रपाबाट १ मन्त्री बन्ने सहमति नजिक पुगेको थियो । अब अधिकारी पोखरा आएपछि मात्र मन्त्रिपरिषद् बैठक विस्तार गर्ने तयारी छ । 

सम्भावित मन्त्री 

resham jukjeli

यता माओवादी सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा पठाउने निर्णय गरेको हो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीबाट निर्वाचित भएका थिए । माओवादीका तर्फबाट यसअघि तनहुँ २(ख)बाट निर्वाचित हरिबहादुर चुमान विना विभागीय मन्त्री नियुक्त भइसके । 

‘पार्टीको सिफारिसमा संसदीय दलको बैठकले जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको छ,’ माओवादी केन्द्रका एक सांसदले भने । यदि माओवादीले ३ मन्त्रालय पाएको खण्डमा गोरखाबाट निर्वाचित भएका फणीन्द्र देवकोटालाई माओवादीले मन्त्री बनाउने तयारी छ ।  

roshan gaha magar

यस्तै, एमालेबाट रोशन गाह्रा मगर मन्त्री हुने लगभग निश्चित भएको छ । अन्य ३ मन्त्रीहरूमा बागलुङबाट एक जना सांसद मन्त्री बन्ने एमाले निकट स्रोत बताउँछ । यसमध्ये बागलुङबाट निर्वाचित गोविन्दा नेपाली र लीलबहादुर थापा मध्ये एक हुने सम्भावना छ । कास्की आइपुगे भीमबहादुर कार्की र वेदबहादुर गुरुङ ‘श्याम’ हुने सम्भावना रहेको एमाले नेताहरू बताउँछन् । यसअघि राप्रपाबाट पञ्चाराम गुरुङ मन्त्री भइसकेका छन् । तीन जना मन्त्रीहरूले नै जिम्मेवारी पाउन नसकेका हुन् ।

 यस्तो छ, मन्त्रालयको कार्यक्षेत्र– 

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद् –बैठक, प्रशासन र शासकीय सुधार

२. आर्थिक मामिला  मन्त्रालय –अर्थ, सहकारी, गरिबी निवारण, भूमि व्यवस्था 

३. आन्तरिक मामिला तथा कानुन मन्त्रालय –शान्ति सुरक्षा, विपद् व्यवस्थापन, समारोह व्यवस्थापन, सञ्चार, प्रदेश सभा मामिला तथा कानुन । 

४. भौतिक पूर्वाधार विकास मन्त्रालय –भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात

५. सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय –शिक्षा, संस्कृति, विज्ञान प्रविधि, श्रम, रोजगार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या 

६. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय –पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, वातावरण, भू–संरक्षण

७. कृषि तथा जलस्रोत मन्त्रालय –कृषि तथा पशुपंक्षी, ऊर्जा, सिँचाइ र खानेपानी ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप