काठमाडौँकै विद्यालय जहाँ ३ जना विद्यार्थी पढाउन छन् ४ जना शिक्षक
काठमाडौँ । सरकारले शिक्षक विद्यार्थी अनुपात मिलाउने भन्दै २०६८ सालदेखि नै योजना बनाएर काम सुरु गर्यो । शिक्षा मन्त्रालयले बनाएको शिक्षा नियमावलीअनुसार हिमालमा प्रतिकक्षा ३० जना, पहाडमा प्रतिकक्षा ४० जना र तराई तथा उपत्यकामा प्रतिकक्षा ५० जना विद्यार्थी हुनुपर्ने उल्लेख छ ।
तर उपत्यकामै कैयौँ यस्ता सरकारी विद्यालयहरू छन्, जहाँ शिक्षक विद्यार्थी अनुपात हेर्ने हो भने कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी भेटिन्छन् ।
काठमाडौं महानगरपालिका अन्तर्गत वडा नम्बर २४ तारिनीबहालमा छ, तारिणी आधारभूत विद्यालय । कक्षा ५ सम्म पढाई हुने यो विद्यालयमा विद्यार्थी भने जम्मा ४ जना मात्रै छन् । तर उनीहरू पनि सँधै विद्यालय आउने भने होइनन् ।
बिहीबार अपरान्ह २ बजे हामी तारिणीबहालको तारिनी आधारभूत विद्यालयमा पुग्यौँ । विद्यालयमा एकजना विद्यार्थी पनि थिएनन् । ३ जना शिक्षिका र १ जना कर्मचारी भने विद्यालयको छतमा घाम तापेर बसिरहेका थिए ।
‘विद्यार्थी छैनन् ?’ हाम्रो प्रश्नमा विद्यालयकी प्रधानअध्यापिका सीता घिमिरेले भनिन्, ‘विद्यार्थी बिदा लिएर बसेका छन् ।’
कति विद्यार्थी छन् र ?
नियमित आउने ४ जना थिए, उनीहरू पनि बिदा लिएर बसेका छन् ।
खासमा यो विद्यालयमा भर्ना हुन १४ जना विद्यार्थी आएका रहेछन् । १४ जनामध्ये १० जना विद्यार्थी मधेसी मुलका थिए, जो दैनिक मजदुरी गर्छन् । उनीहरू नियमित विद्यालय आउन पनि सक्दैनन् । बाँकी रहेका ४ जना विद्यार्थी भने नियमित आउने गरेका रहेछन् र त्यही ४ जना विद्यार्थीलाई पठाउन ३ जना शिक्षिका र एक जना कार्यालय सहयोगी विद्यालयमा थिए ।
विद्यार्थीहरू बिदा लिएर गए पनि शिक्षिकाहरू भने विद्यालयमा हाजिर गरेर फर्कने गरेका छन् ।
महानगरको २४ नम्बर वडाकै अर्को विद्यालय केशचन्द्र विद्यालयको हालत पनि उस्तै छ । यस विद्यालयमा त अझ ३ जना विद्यार्थी छन् भने ४ जना शिक्षकको दरबन्दी छ । इटुम्बहालमा रहेको यस विद्यालयमा १२ जना विद्यार्थी भर्ना भए पनि जम्मा ३ जना विद्यार्थी मात्रै नियमित आउने गरेका छन् ।
हामी बिहीबार अपरान्ह साढे २ बजे यस विद्यालयमा पुग्दा विद्यालय बन्द थियो । न यहाँ विद्यार्थी थिए, न त शिक्षक शिक्षिका नै । विद्यार्थी नभएकै कारण होला, विद्यालयमा ताला झुण्डिएको थियो ।
यी दुई विद्यालयबाट १ मिनेटकै पैदल दूरीमा दुईवटा विद्यालय छन्, शान्ति विद्यागृह र कन्या स्कुल । यी दुई विद्यालयमा प्रशस्तै विद्यार्थी पनि छन् । तर ५ वर्षदेखि विद्यार्थी नहुँदा पनि पनि यी विद्यालय भने अझै मर्ज हुन सकेका छैनन् । पहाड र तराईका कतिपय जिल्लामा एउटै कक्षामा ७० जनासम्म राखेर पढाउनुपरेको छ, तर काठमाडौँमै विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या बढी हुँदा पनि न शिक्षकको व्यवस्थापन भएको छ न त विद्यालय मर्ज नै भएका छन् ।
यसै विषयमा जिल्ला शिक्षा कार्यालय काठमाडौँका स्रोत व्यक्ति रुद्र कार्कीलाई सोध्दा उनले विद्यालय मर्ज गर्न प्रतिवेदन बुझाएको बताए । आफूले पटक पटक विद्यालय मर्ज गर्न महानगरपालिका र जिल्ला शिक्षा कार्यालयमा प्रतिवेदन बुझाए पनि मर्ज नभएको बताए । बरु शिक्षकको व्यवस्थापनको काम भइरहेको भन्दै ती शिक्षकलाई अर्को विद्यालयमा पठाउने तयारी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण