शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
बयान

टी–ट्वान्टी म्याच फिक्सिङ प्रकरण : यस्तो छ सीआईबीमा आदिल र मेहबुबले दिएको बयान

सोमबार, ०८ फागुन २०७९, २० : २३
सोमबार, ०८ फागुन २०७९
काठमाडौँ । म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका  मोहम्मद  आदिल अन्सारी र मेहबुब आलमले आफूहरूको फिक्सिङमा कुनै संलग्नता नरहेको दाबीसहित प्रहरीमा बयान दिएका छन् । नेपालमा पहिलो पटक भएको फ्रेन्चाइजी लिग नेपाली टी–ट्वान्टी प्रतियोगितामा फिक्सिङ गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए । 
 
गत पुस ९ गतेदेखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना भएको प्रतियोगितामा अन्सारी र आलमको संलग्नता देखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको थियो । सीआईबीलाई दिएको बयानमा  आदिलले आफूलाई फिक्सिङको अफर आएको भएपनि समयमै यसबारे क्यानलाई जानकारी दिएको बताएका छन् ।  त्यस्तै मेहबुबले भने कुनै पनि खेलाडीले फिक्सिङको अफर स्वीकार नगरेको बताएका छन् ।
 
आलम पूर्व राष्ट्रिय क्रिकेट खेलाडी हुन् भने अन्सारी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य हुन् । माघ पहिलो साता आलम विराटनगरबाट र अन्सारी सप्तरीबाट पक्राउ परेका थिए । सीआईबीले यो विषयमा अन्य व्यक्तिलाई पनि पक्राउ परेर अनुसन्धान गरिरहेको छ । 
 
मोहम्मद आदिल आलमले गरेको बयानः
हाल सम्पन्न भएको नेपाल टी–ट्वान्टी लिग शुरु भएको केही दिन पछि सामान्य चिनजान भएका भारतका समीर शेख भन्ने व्यक्तिले हाल सम्पन्न भएको नेपाल टी–ट्वान्टी लिगमा म पनि खेल्न लागेको थाहा पाई मलाई मैले प्रयोग गर्ने वाट्सएप नम्बरमा हेलो भनी मेसेज पठाई सो पश्चात् वाट्सएप मै कल गरी “मेरो लागि एउटा नो बल बल र  वाइड बल  फालिदेउ  सो बापत १ लाख रकम दिने भनी प्रस्ताव राखेका थिए तर मैले निजलाई तत्कालै यस्तो विषयमा मसँग कुरा नगर्नु भनी निजसँग कुरा गर्न छाडिदिएको थिएँ । मैले निजको एप्रोच तत्कालै अस्वीकार गरेको र निजले भने अनुसार खेल खेलेको पनि छैन । सो विषयमा नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई समेत जानकारी गराएको थिएँ । सन् २६ डिसेम्बर २०२२ (मिति २०७९।०९।११ गते) भएको खेल खेल्ने क्रममा बायाँ भागको कम्मरको नशामा समस्या आएपछि मैले तत्काल टिम कोचलाई जानकारी गराएपछी हाम्रो टिमको फिजियोथेरापिष्ट कर्मा छोडोन गुरुङले मलाई सामान्य उपचार गरिसकेपछि म पुनः खेल खेल्नको लागि मैदानमा गएको थिएँ । 
सो पश्चातको खेलमा पनि मैले अल राउण्डरको रुपमा खेल खेली बलिङ गरेको थिएँ । हाम्रो टिममा तीव्र गतिको बलर नभएको कारण मलाई नै बलिङ गर्नको लागि कोचले निर्देशन दिएको कारण मैले बलिङ गरेको थिएँ । मलाई बायाँ भागको कम्मरमा समस्या आएकै कारण मिति २०७९ पौष १२ गते (सन् २०२२ डिसेम्बर २७) मा सम्पन्न भएको काठमाडौँ नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौँ ओभर र मिति २०७९ पौष १४ गते (सन् २०२२ डिसेम्बर २९) सम्पन्न भएको जनकपुर रोयल्स र फार वेस्ट यूनाइटेड बीचको खेलको छैटौँ ओभरमा दुखाइको कारण एक नो बल र एक वाइड बल भएको हो । मैले समीर शेखले भने अनुसार बलिङ गरेको होइन । मलाई निज समीर शेखले निजले भने बमोजिम नो बल र वाइड बल गरिदिएमा १ लाख रुपैयाँ दिने भनी WhatsApp मा कल गरी प्रस्ताव गरेका थिए । सामान्य रकम प्रस्ताव गरेको हुँदा मैले यसमा निजले मसँग मजाक गरेका होलान् भनी गम्भीरता पूर्वक लिएको थिइन । खेलकै दौरान (मलाई कल आएको एक–दुई दिनपछि) विभिन्न सञ्चार माध्यमहरूमा म्याच फिक्सिङ र स्पट फिक्सिङका बारेमा समाचार प्रकाशन प्रसारण भएको र सर्वसाधारणहरू समेतले यस बारेमा चर्चा परिचर्चा हुन थालेपछी समीर शेखले मलाई फिक्सिङमा प्रयोग गर्न खोजेका हुन सक्छ भनी नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई उक्त एप्रोचको बारेमा जानकारी गराएकोमा निजको सल्लाह बमोजिम सो को भोलिपल्ट Anti–Corruption Manger बिर सिंहलाई जानकारी गराएको हु । मैले निज समीर शेखले भने अनुसार खेल नखेलेको र निजसँगबाट रकम समेत लिएको छैन । तर निज समीर शेखले मजाक–मजाकमा नो बल र वाइड बल फाल्न भनेपछि निजलाई मैले अव यस्तो नगर्नु भनी चेतावनी समेत दिई निजसँग कुरा गर्न छाडेको थिएँ । तर उक्त खेल अवधिमा मलाई कम्मर दुख्ने समस्या आएकोले मैले बलिङ गर्दा सामान्य भन्दा फरक नो बल र वाइड बल भएको हो । सोही कारण निज परेश प्रसाद लोहनीलाई शङ्का लागि एन्टी करप्सन युनिट  (एसीयूओ) विर सिंहलाई जानकारी गराउनु भएको हुनसक्छ ।
 
मेहबुब आलमको बयान 
मेरो छिमेकी भाईले रवि माझीले मलाई हालै सम्पन्न नेपाल टी – २० क्रिकेट लिग सञ्चालन भई रहेको बेला निजको ह्वाट्याप नम्बरबाट मैले प्रयोग गर्ने WhatsApp No मा मलाई सम्पर्क गरी तत्काल जारी लिगमा पोखरा एभेन्जर्सका खेलाडी म. आरीफ शेख र फार वेस्ट यूनाईटेडका खेलाडी महमद हासिम अन्सारीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिए निजहरूलाई ने.रु. ६ लाख रकम निजले उपलब्ध गराउने कुरा सम्बन्धित व्यक्तिहरूलाई जानकारी गराई दिनू भनेकाले मैले मेरो मोबाइलबाट तत्काल म. आरीफ शेखलाई निजको मोबाईलमा सम्पर्क गरी रवि माझीको प्रस्तावबारे जानकारी गराएको थिएँ । सो प्रस्तावबारे म. आरीफ शेखले तत्काल निर्णय दिएनन् । मैले म. आरीफ शेखको मोबाइल नं समेत रवि माझीलाई ह्वाट्यापमा पठाई मैले सबै कुरा गरेको छु, तिमी पनि कुरा गर भनी मेसेज पठाएको थिएँ ।
खेलाडीको काम हुना साथ पैसा उपलब्ध हुने कुरा पनि बताएका थिए । सो पश्चात् मैले म.आरीफ शेखको मेसेन्जरमा तिमिलाई कसैले फोन गर्‍यो भनी प्रश्न गर्दा निजले मबाट यो काम हुँदैन भनी जवाफ दिए । मैले निजलाई पैसा राम्रो दिएको भएर कुरा गरेको, बाँकी ६ म्याचको प्रति म्याच ६ लाखका दरले रु.३६ लाख तिमीलाई हुने कुरा पनि मेसेन्जरमा बताएको थिएँ । मलाई पनि प्रति म्याच २ लाख दिने बताई खेलाडीहरूसँग सम्पर्क गर्न भनिएको थियो । मैले त्यसैले तिमिसँग सिधा कुरा गराएको भनी म. आरीफ शेखलाई जानकारी गराएको थिएँ । म. आरीफ शेखले कुन टिमसँगको खेलमा प्रस्ताव गरे बमोजिम खेल खेल्नु पर्ने भन्ने बारेमा रवि माझीले बताएका थिएनन् । म. आरीफ शेखलाई कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिए निजलाई ने.रु. छ लाख दिने भनी रवि माझीको प्रस्ताव नै मैले निज म. आरीफ शेखलाई राखी दिएको हुँ । मिति २०७९/०९/१४ गते मैले महमद हासिम अन्सारीले निजले प्रयोग गर्ने नं बाट मैले प्रयोग गर्ने  नं भएको मोबाइल फोनमा फोन गरेका थिए ।
उक्त समयमा मैले निजले खेल्ने कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा ने.रु. चार लाख रकम दिने रवि माझीको प्रस्ताव मैले राख दिएको थिएँ। निजले तत्काल कुनै निर्णय दिएनन् । महमद हासिम अन्सारीले कुन टिमसँगको खेलमा प्रलोभन देखाए बमोजिम खेल खेल्नु पर्ने थियो, सो बारेमा रवि माझीले बताएका थिएनन् । कुनै खेलमा ब्याटिङ गर्दा खेलाडीले ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिए निजलाई ने.रु. छ लाख रवि माझीले उपलब्ध गराउने प्रस्ताव मैले महमद हासि अन्सारीलाई राख्दा ने.रु. चार लाख दिने भनी प्रस्ताव राखेको थिएँ । रवि माझीले ने.रु. छ लाख मध्येबाट मलाई ने.रु. दुई लाख दिने प्रस्ताव गरेको कारण मैले महमद हासिम अन्सारीलाई ने.रु. चार लाख दिने भनी प्रस्ताव गरेको थिएँ । उल्लेखित प्रस्ताव खेलाडीले स्वीकार गरे मात्र मलाई ने.रु. दुई लाख दिने रवि माझीले बताएका थिए। महमद हासिम अंसारीको रेडमी नोट ७ मोबाइल फोन परीक्षण पश्चात् परीक्षण प्रतिवेदनसाथ पेश हुन आएको डीभीडीमा भएको अडियो रेकर्ड कम्प्यूटरमा प्ले गरी मलाई सुनाउँदा सुनी पाएँ ।
 
 उक्त अडियो रेकर्डमा भएको संवाद म र महमद हासिम अंसारीबीच फोन सम्पर्क हुँदा भएको संवाद हो । उक्त संवाद महमद हासिम अन्सारीले निजको मोबाइल फोनमा रेकर्ड गरेको हुनु पर्छ । उक्त संवादमा मैले महमद हासिम अन्सारीलाई ‘हिजो १ जना मान्छेले सम्पर्क गरेको, कोही छ भने सम्पर्क गर्नू, पैसा कमाउन चाहन्छ भने ५ रन भित्र आउट हुनु पर्छ, ४ लाख रुपैयाँ दिन्छ, तिमि आफै गर्छौ भने गर्दा हुन्छ, ५ रन भित्र आउट हुनु पर्छ, ४ लाख रुपैयाँ पाउँछ’ भनी प्रस्ताव राखेको थिएँ । रवि माझीले मलाई भने बमोजिम मैले उक्त प्रस्ताव महमद हासिम अन्सारीलाई राखी दिएको थिएँ। सो प्रस्तावको जवाफ एक छिनमा दिन्छु भनी महमद हासिम अन्सारीले भनेका थिए । निजहरुले तत्काल उक्त प्रस्तावलाई स्वीकार नगरेको कारण उक्त रकम भुक्तान भएको छैन । म. आरीफ शेख र महमद हासिम अंसारी बाहेक अन्य कोही कसैलाई खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले प्रस्ताव गरेको छैन ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप