शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु, स्थानीयद्वारा निकुञ्जको चेकपोस्ट तोडफोड

सोमबार, ०८ फागुन २०७९, १९ : ४७
सोमबार, ०८ फागुन २०७९

मकवानपुर । जंगली हात्तीको आक्रमणबाट घाइते भएकी वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । हात्तीको आक्रमणबाट घाइते भएकी मकवानपुरको मनहरि गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको चितवनस्थित मेडिकल कलेजमाउपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार बिहान करेसाबारीमा काम गरिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाइते भएकी अधिकारीलाई उपचारको लागि सबैभन्दा पहिले हेटौँडास्थित चुरेहिल अस्पताल ल्याइएको थियो । उक्त अस्पतालमा उपचार हुन नसकेपछि थप समस्या भएपछि उनलाई चितवन रिफर गरिएको थियो ।

हात्तीको आक्रमणबाट अधिकारीको मेरुदण्ड भाँचिएको थियो भने शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो । जंगली हात्तीको आक्रमणबाट वृद्धा घाइते भएसँगै आक्रोशित स्थानीयले पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत मनहरि गाउँपालिका–३ लामिटारमा रहेको लामिटार चेकपोष्ट कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । 

हात्ती लखेट्न बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका थिए । निकुञ्जले मानिसलाई भन्दा जनावरलाई बढी महत्त्व दिएको भन्दै आक्रोशित स्थानीयले नाराबाजी गर्दै निकुञ्जबाट मनहरिलाई हटाउन समेत माग गरेका छन् । आक्रोशित स्थानीयले निकुञ्जका कर्मचारी र नेपाली सेना बस्दै आएको कार्यालय तथा गोलघरमा तोडफोडसहित आगजनी गरेका थिए । उनीहरूले आर्मी र निकुञ्जका कर्मचारीले प्रयोग गर्दै आएको मोटरसाइकल तथा गाडी पनि तोडफोड गरेका छन् ।

आइतबार साँझबाट मनहरि मसिने क्षेत्रमा हात्ती देखा परेको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले बताए । केही दिनयता तीनवटा हात्तीले स्थानीयलाई हानी पुर्‍याइरहेको उनको भनाइ छ । उनका अनुसार हात्ती नियन्त्रणका लागि सेना खटाइएको छ । उनले साँझ बिहान घर बाहिर ननिस्किन समेत सर्वसाधारणलाई आग्रह गरेका छन् । यता मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले हात्ती नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय गरिरहेको जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप