शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

ब्याजदर विवाद : व्यवसायी भर्सेस बैंकर !

ब्याजदर एकल अंकमा ल्याउन माग, आन्दोलनमा समर्थन जुटाउँदै
आइतबार, २८ फागुन २०७९, १८ : ०२
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । बैंकको ब्याजदर एकल अंकमा झार्नुपर्ने मागसहित देशभरका उद्योगी व्यवसायीहरू संयुक्तरुपमा सडक आन्दोलनमा उत्रिएका छन् । व्यवसाय सञ्चालन गरेर देशको आर्थिक विकासमा ध्यान दिनुपर्ने उद्योगी व्यवसायीले चर्को ब्याजका कारण व्यवसाय सञ्चालनमै समस्या आइरहेको भन्दै आन्दोलन आक्रामक बनाएका हुन् । 

उसो त करिब १ वर्षदेखि उद्योगी व्यवसायी ब्याजदरविरुद्धको आन्दोलनमा रहेका छन्, तर माग सम्बोधन हुन छाँटकाँट नदेखिएको भन्दै उनीहरुले फेरि नयाँ चरणको आन्दोलन सुरुवात गरेका हुन् । आन्दोलनरत व्यवसायीहरूका अनुसार हाल देशभरका महासंघ, वस्तुगत संघ र जिल्ला नगर संघ गरी आन्दोलनमा करिब ७० वटा संघ/संस्थाको ऐक्यबद्धता छ । आन्दोलनमा संलग्न हुने व्यवसायिक संस्थाको सङ्ख्या निरन्तर थप भइरहेको उनीहरूको भनाइ छ ।

 व्यवसायीहरूको आन्दोलनको संयोजन राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष नरेश कुटवालले गरिरहेका छन् । उद्योगी व्यवसायीले सुरुमा बैंकको सावा ब्याज नै नतिर्ने घोषणासहित आन्दोलन गरेका थिए । तर, आन्दोलनको मुख्य नारा र उद्देश्य परिवर्तन गर्दै आन्दोलनरत व्यवसायीले यसका लागि समय चाहिने बताउन थालेका छन् ।

बैंक तथा वित्तीय संस्था संर्घष समितिका संयोजक कटुवालका अनुसार आजको दिनसम्म देशभरका ९ वटा व्यवसायिक छाता संगठन छन् । आन्दोलनमा नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ, नेपाल विद्युतीय व्यवसायी महासंघको समर्थन छ । यस्तै, राष्ट्रिय यातायात व्यवसायी महासंघ लगायतको समेत समर्थन रहेको छ ।

333370207_1586017308476038_4587987803305602161_n

यसैगरी उद्योग वाणिज्य महासंघमा आबद्ध जिल्ला नगर र वस्तुगत संघहरु आन्दोलनमा होमिएको कटुवालले जानकारी दिए । उनले सुरुवामा आफूहरु एक्लै बैंकविरुद्ध आन्दोलनमा होमिएपनि निरन्तर देशभरबाट ऐक्यबद्धता कायम रहेको उनको भनाइ छ । ‘बैंक विरुद्धको आन्दोलनमा सहभागी हुने व्यवसायिक संगठनको सङ्ख्या दिनदिनै बढिरहेको छ । आज शान्तिपूर्णरुपमा भइरहेको आन्दोलन सरकारले समयमै सम्बोधन नगरे भावी दिनमा झनै ठुलो बन्न सक्छ,’ उनले भने । 

व्यवसायीहरूले आन्दोलनमा बैंकको चर्को ब्याजलाई एकल अंकमा झार्नुपर्ने माग राखेका छन् । व्यवसायीहरूको मुख्य माग र नारा ‘बैंक हामीलाई प्यारो छ, ब्याज वृद्धिले गाह्रो भो’, ‘ब्याजदर हामीलाई चर्को भो, गरिखान गाह्रो भो’ र ‘चालू पूँजी कर्जा मार्ग निर्देशन स्थगन गर’ लगायत छन् । यस्तै, बैंक आतङ्क बन्द गर्नुपर्ने, बैंकले एक पक्षीयरुपमा ब्याज बढाउन नपाउने लगायतका माग समेत व्यवसायीक छाता संगठनहरुको छ । यसका साथै, प्रिमियम दर नियन्त्रण गर्दै बैंकहरुले लिएको चर्को नाफा रोकिनुपर्ने माग व्यवसायीहरूको छ ।

थपिँदै व्यवसायिक संस्था

बैंकको चर्को ब्याजदरविरुद्ध सुरुमा राष्ट्रिय व्यवसायी महासंघ र मोरङ व्यापार संघ लगायतले आन्दोलन थालेका थिए । सुरुमा एक्लाएक्लै आन्दोलनमा होमिएका विभिन्न जिल्लाका व्यवसायिक संघहरु यतिबेला एकजुट बनिसकेका हुन् । गत वर्षसम्म काठमाडौंमा बैंक विरुद्धको मोर्चा राष्ट्रिय व्यवसायी महासंघ र पूर्वमा मोरङ उद्योग संगठनले सम्हालेको थियो । तर, संगठनले पूर्वका तीन वटा व्यवसायीक संघ जम्मा पारेर आन्दोलन सुरु गर्दैगर्दा देशभरका व्यवसायीक संगठनहरु एकजुट भइरहेका छन् ।

यसअघि, आन्दोलनमा रहेका व्यवसायीहरुले नयाँ सरकारको गठनसँगै आन्दोलन स्थगित गरेका थिए । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलपछि पुस १३ गते व्यवसायीहरुले आन्दोलन रोकेका थिए । तत्कालिन अर्थमन्त्री पौडेलसँग ब्याज घटाउने र चालू पूजाी कर्जा निर्देशिका स्थगन गर्ने सम्झौता भएसँगै आन्दोलन स्थगित भएको थियो । तर, त्यसयता हालसम्म पुनः २ पटक आन्दोलन भइसक्यो ।

यसअघि, व्यवसायीहरुले फागुन ५ गते समेत माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । उक्त आन्दोलनमा ९ वटा महासंघ र ३८ वटा व्यवसायीक संघहरुको सहभागीता रहेको थियो । जबकी, आइतबारको आन्दोलनमा देशभरका ९ वटा महासंघ र ५९ वटा संघको सहभागीता रहेको बताइएको छ ।

प्रसाईँको कालोमोसो अभियानमा छैन समर्थन

यतिबेला मेडिकल व्यवसायी दुर्गा प्रसाईले बैंकविरुद्ध देशव्यापी अभियान छेडेका छन् । प्रसाईले झापामै एक कार्यक्रमको आयोजना गर्दै देशभरका बैंक तथा वित्तीय संस्थाविरुद्ध महाअभियान छेडेका थिए । उनले सार्वजकि कार्यक्रममार्फत नै बैंकको ब्याज नतिर्ने र बैंक तथा वित्तीय संस्थाका कर्मचारीविरुद्ध कालोमोसो दल्ने लक्ष्यसहित ‘कालोमोसो दस्ता’ नै चलाएका छन् । र, यही अभियान अन्तर्गत जाजरकोटमा लघुवित्तका कर्मचारीलाई कालोमोसो नै दलिएको थियो । यद्यपी, हाल प्रसाईका कालोमोसो दस्ताका संयोजकलाई चितवनबाट प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रसाईले सुरु गरेको कालोमोसो अभियानमा आफूहरुको साथ नरहेको माइतीघरमा आन्दोलनरत व्यवसायीको भनाइ छ । आन्दोलनका संयोजक कटुवालले बैंकको ब्याज नतिर्ने लक्ष्यसहित आन्दोलनमा आएको नभई ब्याज एकल अंकमा झार्नुपर्ने आफूहरुको माग रहेको बताए ।

 ‘हामी बैंकको ब्याज तिछौं । तर, बजारमा व्यापार नै नभइरहेको समयमा बैंकले व्यवसायीलाई समस्यामा पार्न हुँदैन,’ कुटवाल भन्छन्, ‘संकटको समयमा बैंकहरुले व्यवसायीलाई अपराधी करार गरेर सम्पत्ति लिलामी प्रक्रियालाई रोक्नुपर्छ ।’

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले आन्दोलको मूख्य लक्ष्य बैंकको ब्याज नतिर्नु नरहेको बताए । उनले तत्काललाई सम्पत्ति लिलामी प्रक्रिया रोक्नुपर्ने र मन्दीको समयमा व्यवसायीहरुलाई अनावश्यक तनाब नदिन माग गर्दै आन्दोलनमा आएको बताए । यसका साथै, आन्दोलनरत व्यवसायीहरुको मुख्य माग एकल अंकको ब्याजदर रहेको शाक्यको भनाइ छ ।

335783876_1252744991981771_5154671348244180113_n

राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौला समेत दुर्गा प्रसाईको कालोमोसो अभियानमा आफूहरुको साथ नरहेको बताउँछन् । तर, बैंकले पछिल्लो २ वर्षमा बढाएको चर्को ब्याजका कारण व्यवसाय सञ्चालनमा समस्या परेकाले ब्याजदर एकल अंकमा झार्नुपर्ने माग रहेको बताए । ‘यतिबेला सबै व्यवसाय समस्यामा छन् । उद्योगधन्दा कलकारखाना चलेको छैन । बजारमा व्यापार छैन,’ सिटौलाले भने, ‘बजारमा चहलपहल नभएपछि यातायात क्षेत्र समेत समस्यामा छन् । मानिसहरुको आउजाउ छैन ।’ बजारमा चहलपहल नै नभएपछि यातायात क्षेत्रको व्यवसाय नघट्ने कुरै भएन । यहीकारण, कठिन समयमा बैंकहरुले व्यवसायीहरुलाई अनावश्यक तनाब दिन नहुने सिटौलाको भनाइ छ ।

केन्द्रीय बैंक घेर्ने तयारी

बैंकविरुद्धको आन्दोलनमा रहेका उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंकको संरक्षणमा वाणिज्य बैंकहरुले निरन्तर ब्याज बढाइरहेको निष्कर्ष निकालेका छन् । यही निष्कर्षसहित पटक–पटक केन्द्रीय बैंक र गर्भनर महाप्रसाद अधिकारीविरुद्ध आन्दोलनको घोषणा गरिरहेका छन् । यसअघि पनि पटक–पटक गर्भनर अधिकारीको राजिनामा माग गर्दै व्यवसायीले आन्दोलन गरेका थिए ।

यसपटक पनि गर्भनरविरुद्धमा आन्दोलन खनिने चेतावनी व्यवसायीले दिइसकेका छन् । आजदेखि सुरु भएको आन्दोलन चरणबद्धरुपमा अघि बढ्ने बताइसकेका व्यवसायीले चैतभर आन्दोलन जारी रहने जनाएका छन् । शान्तिपूर्णरुपमा सुरु भएको आन्दोलन आगामी दिनमा चर्किने सम्भावना समेत रहेको व्यवसायीको भनाइ छ । यही आन्दोलनका क्रममा केन्द्रीय बैंक घेर्ने योजना बनिरहेको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले बताए । उनले आजको आन्दोलनलाई सरकारले सम्बोधन नगरेमा केही दिन भित्रै केन्द्रीय बैंक घेर्ने तयारी र योजना बनिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप