बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै

शनिबार, १८ चैत २०७९, १४ : ११
शनिबार, १८ चैत २०७९

सिमरा । १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । सिमरा रंगशालामा हुने अन्तिम फाइनल खेलमा दुवै टिम सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा देखिएका छन् ।

मोफसलका प्रतियोगितामा दुवै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च ब्वाईजले इटहरी गोल्डकप र शेर्पाले मकवानपुर गोल्डकपको फाइनल खेलेका थिए । तर दुवै टिम उपविजेता रहन पुगे ।

मोफसलका अन्य प्रतियोगितामा सहभागी हुँदै सिमरा आएका दुवै टिम उपाधि विहीनताको अवस्थाको अन्त्य गर्न चाहन्छन् । दुवै टिमका लागि यो उपाधि निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सम्पन्न भए लगत्तै ए डिभिजन लिगको छैटौँ चरणका खेल सोमबारदेखि सुरु हुँदैछन् ।

काठमाडौँ पुगेर लिगको यात्रा थालनी गर्न आफूहरूका लागि जीतपुरसिमराको उपाधिले ऊर्जा थप्ने टिमका कप्तान तथा प्रशिक्षकको भनाई छ ।

लिगमा अपराजित रहेको चर्च ब्वाईजका प्रशिक्षक प्रदीप हुमागाई पहिलो सहभागितामै उपाधि उचालेर जीतपुरसिमरामा इतिहास रच्न र मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधि लिएर लिगको सुरुवात गर्न    चाहन्छन् । ‘यो उपाधि हाम्रो लागि निकै महत्त्वपूर्ण छ । हामीसँग राम्रो टिम छ तर उपाधि जित्न सकेका छैनौँ’ हुमागाईले भने ‘टिममा ऊर्जा र दर्शकमा उत्साह थप्न यो उपाधि जित्नै पर्नेछ । हामीले जित्ने गरी खेल्नेछौँ ।

बि डिभिजनबाट बढुवा भएर आएपछि उत्कृष्ट फुटबल प्रदर्शन गर्दै आएको चर्च ब्वाईजले जीतपुरसिमरा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हो । एपीएफ र एनआरटीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको चर्च ब्वाईजले इतिहास रच्न शेर्पाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।

दोस्रो संस्करणको विजेता र चौथो संस्करणको उपविजेता शेर्पा जीतपुरसिमरा गोल्डकपका लागि परिचित टिम हो । लामो समयदेखि निरन्तर सहभागिता जनाउँदै आएपनि उसले पछिल्लो १० वर्षदेखि भने जीतपुरसिमरामा सुखद नतिजा प्राप्त गर्न सकेको थिएन । फाइनलको यात्रा तय गर्न १० वर्ष प्रतीक्षा गरेको शेर्पा दोस्रो पटक उपाधि उचाल्ने अवसर खेर फाल्न चाहँदैन् । शेर्पाका टिम मेनेजर विजेन्द्र पुडासैनीले उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप