शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

संसद‌‌‍मा दर्ता भएका विधेयकमाथि अब सर्वसाधारणले पनि सुझाव दिन सक्ने, यस्तो छ प्रक्रिया

शुक्रबार, २४ चैत २०७९, २२ : ३३
शुक्रबार, २४ चैत २०७९

सरकारले प्रतिनिधि सभामा दर्ता गरेको कुनैपनि विधेयकमाथि अब आम सर्वसाधारण नागरिकले पनि सुझाव दिन सक्ने भएका छन् । संघीय संसद् सचिवालयले शुक्रबारदेखि यो व्यवस्थाको सुरुवात गरेको हो ।

संघीय संसद् सचिवालयको वेवसाइटमा गएर दर्ता भएको विधेयक पढ्न सकिने र त्यही रहेको फर्म भरेर बढीमा २५० शब्दमा सुझाव दिन सकिने व्यवस्था गरिएको छ । 

संघीय संसद्का सचिव डा.रोजनाथ पाण्डेले एक महिनाअघि निर्णय गरेर शुक्रबारबाट विधेयकमाथि सुझाव माग्न थालिएको जानकारी दिए । 

संसदमा दर्ता भएका ३ विधेयकहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि ७ दिनसम्म सुझाव दिन सकिने व्यवस्था गरिएको छ ।

सचिवालयका सचिव डा. पाण्डेले रातोपाटीसँग भने,‘अव संघीय संसद् सचिवालयको वेवसाइटमा विधेयक दर्ता भएकै दिन वेवसाइटमा राख्छौँ ।  निश्चित समय दिएर सर्वसाधारण जनताको त्यसमाथि राय प्रतिक्रिया प्राप्त गर्नेगरी सुझाव संकलनका लागि फर्म राखेका छौँ । त्यो सुझावसँगै उहाँहरुले त्यसबारेमा केही डकुमेन्ट छ भने त्यसलाई पनि अपलोड गर्ने ठाउँ राखेका छौँ । अधिकतम २५० शब्दसम्म उहाँहरुले विधेयकमाथि आफ्नो सुझाव राख्न सक्नुहुन्छ ।’

यसरी सर्वसाधारणबाट आएको सुझावहरुलाई एकमुष्ठ रुपमा संकलन गर्ने र त्यसलाई प्रमाणित गरेर संवन्धित तह वा निकायमा जनताको सुझाव यस्तो आएको छ भनेर सन्र्दभ सामग्रीको रुपमा उपलब्ध गराइने उनले बताए । संसदीय समितिमा हुने छलफल वा संसदको सभामा हुने छलफलका क्रममा पनि सांसदहरुलाई अध्ययनका लागि जनताको सुझावको डकुमेन्ट दिइने सचिव पाण्डेले जानकारी दिए । 

झन्डै एक महिनाअघि संसद् सचिवालयले यसबारे निर्णय गरेपछि वेवसाईट–सफ्टवेर बनाउने काम गरेको उनले बताए । आजदेखि सर्वसाधरणका लागि सुझाव दिन वेवसाइटबाट खुला गर्ने निर्णय भएको उनको भनाई छ । 

संसदमा प्रक्रियामा रहेका ३ वटा बिधेयकमाथि संसद् सचिवालयले वेवसाइट मार्फत सुझाव मागेको छ । प्रत्येक विधेयकमाथि अव नागरिकले आफ्नो मत राख्न पाउने भएका छन् ।

 

कसरी दिन सकिन्छ सुझाव ? 

सरकारले कुनै विधेयक संसदमा दर्ता गरेकै दिन संघीय संसदको वेवसाइटमा सो विधेयक अपलोड गरिन्छ । संसदको वेवसाइट www.parliament.gov.np मा क्लिक गरेपछि त्यहाँ राष्ट्रिय सभा र प्रतिनिधि सभाको दुई लिङ्क भेटिन्छ । दुईमध्ये कुन सभामा विधेयक दर्ता भएको हो सो हेर्नका लागि विधेयकहरू लेखिएको लिङ्कमा क्लिक गरेर दर्ता विधेयकहरूको सूची भेटिन्छ । सुचीको दायाँ भागमा विधेयकमा सुझाव भन्ने अप्सन राखिएको छ । त्यहाँ क्लिक गरेपछि दर्ता भएको विधेयक खुल्छ भने दायाँ भागमा सुझाव दिने फारम खुल्छ । उक्त फारम भरेर विधेयकमाथि आफ्नो टिप्पणी सुझाव पेश गर्न सकिन्छ । 

ss1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप