शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
पेन्सन भुक्तानीमा समस्या

सेवानिवृत्त २२ हजार शिक्षकले किन पाएनन् पेन्सन ?

बुधबार, ०६ वैशाख २०८०, १४ : ५५
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । सेवा निवृत्त भएका करिब २२ हजार शिक्षकहरूले निवृत्तिभरण (पेन्सन) नपाएको पाइएको छ ।  राज्यसँग पैसा नहुँदा ५२ हजार पूर्व शिक्षकहरूमध्ये २२ हजार शिक्षकले पेन्सन पाउन नसकेका हुन् । उनीहरूले चैत र वैशाख महिनाको पेन्सन पाएका छैनन् । पेन्सन नपाएपछि शिक्षकहरूले विरोध समेत गर्दै आएका छन् । उनीहरूले राज्यको ध्यानाकर्षण समेत गराएका छन् । 

उनीहरूले नियमित पाइरहेको निवृत्तिभरण अकस्मात् रोकिएपछि तत्काल निकासा गर्न माग गर्दै आएका छन् । सेवा निवृत्त शिक्षकहरूको संस्था सेवा निवृत्त शिक्षक समाजले निवृत्तिभरणको भरमा बाँचिरहेका ज्येष्ठ नागरिक शिक्षकहरू प्रभावित भएको जनाएको छ । 

समाजमा महासचिव ईश्वरबहादुर श्रेष्ठले ३० हजार शिक्षकले पाए पनि अझै २२ हजार शिक्षकले नपाएको बताए । 

‘चैत र वैशाखको पाएका छैनौँ । पैसा नहुँदा अहिलेसम्म नहालेको भन्ने जानकारी दिनुभएको छ । यो महिनामा अन्तिमसम्ममा पैसा हाल्ने कुरा छ,’ उनले भने । 

विगतमा नियमित रूपमा प्राप्त भइरहेको निवृत्ति भरण आर्थिक वर्ष २०७९/८० मा अनियमित भइरहेको छ । जसले गर्दा हजारौँ सेवा निवृत्त शिक्षकहरू प्रभावित हुन पुगेका छन् । 

सरकारले सेवा निवृत्त शिक्षकहरूमाथि विभेद गर्ने गरेको समाजको ठहर छ । सरकारले सुरुमा महिनाको पहिलो हप्तामा निवृत्ति भरणको पैसा दिने गरेको थियो । त्यसपछि दोस्रो हप्ताका लागि सरेको थियो । दोस्रोबाट पनि तेस्रो हप्ता सरेको तर, अहिले दुई महिना वितिसक्दा धेरै शिक्षकहरूले नपाएको एक सेवा निवृत्त शिक्षक मनोहर भट्टले बताए । 

‘पहिला यस्तो समस्या थिएन । यो वर्षदेखि हामीले समयमा नै पेन्सन पाउन सकेका छैनौँ । सरकारले पैसा कहिले हाल्छ भन्ने यकिन छैन,’ उनले भने । 

सरकार आर्थिक रूपमा टाट पल्टेको हो कि भन्ने लागेको उनको भनाइ छ । पेन्सन रोकिएको विषयमा विभिन्न जिल्लाबाट गुनासोहरू समाजमा आउने गरेको छ । उनीहरूले यो विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । 

यता निवृत्तिभरण शाखा त्रिपुरेश्वरले आर्थिक अभावमा पेन्सन खुवाउन नसकेको जनाएको छ । सरकारले पैसा उपलब्ध गराएसँगै यो महिनाको अन्तिमसम्ममा बाँकी शिक्षकहरूलाई पेन्सन दिइने जनाएको छ । 

बाँकी शिक्षकहरूको पेन्सन निकासा गर्न मन्त्रालयमा बजेट माग भएको र उक्त प्रक्रिया पुरा हुन वैशाखको २० गते सम्मको समय लाग्ने शाखाको भनाइ छ । 

केही समय अगाडि अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई परिपत्र गरेर खर्च कटौती गर्न भनेको थियो । सोही आधारमा शिक्षा विकास तथा मानव स्रोत केन्द्रले खर्च कटौती थालेको थियो । 

अर्थतन्त्र कमजोर बनेको भन्दै सरकारले खर्चमा मितव्ययिता गर्दै आएको छ । सरकारको आम्दानी कमजोर हुँदा पेन्सन शिक्षकहरूले समयमै तलब खान नपाएका हुन् । 

सरकारले ५२ हजार सेवा निवृत्त शिक्षकका लागि वार्षिक ७ अर्ब रुपैयाँ पेन्सन खुवाउँदै आएको छ । 

सरकारले सेवा निवृत्त शिक्षक शिक्षिकाहरूलाई निवृत्तिभरण, उपदान लगायतका सेवा सुविधा दिँदै आएको छ ।  

विद्यालय शिक्षक कितावखानामार्फत सरकारले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूले अवकाश पाएपछि उनीहरूको व्यक्तिगत विवरण राख्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप