शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सुडानमा कार्यरत २० जना नेपाली साउदी अरब पुगे, ११ जना उद्धारको प्रतीक्षामा

सोमबार, १८ वैशाख २०८०, २२ : ५०
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । सुडानमा कर्यरत २० जना नेपाली सुरक्षित रुपमा साउदी अरब पुगेका छन् । सुडानमा गृहयुद्ध चर्किएसँगै त्यहाँ कार्यरतमध्ये २० नेपाली साउदी अरब पुगेको पराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  गृहयुद्ध चर्किएसँगै त्यहाँ कार्यरत नेपाली नागरिकहरुको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले निरन्तर अधिकतम प्रयास गरिरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार कायरोस्थित नेपाली राजदूतावासले उद्धार कार्य जारी राखेको छ ।  संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक हालसम्म ३० जना नेपाली नागरिक नेपाली राजदूतावास कायरोको सम्पर्कमा रहेको मन्त्रालयको भनाइ छ ।

दूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरु साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा पुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ ।  यसअघि नै थप एक जना नेपाली सकुशल जेद्दा पुगेका थिए ।  जेद्दा  पुगेका २० जनालाई नै नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयको भनाइ छ ।

यस्तै सुडानमा कार्यरत थप ११ जना नेपालीमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको र एक जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्याउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।  तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको र दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सीमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाएको राजदूतावासले जानकारी गराएको छ ।

अझै पनि सुरक्षा अवस्था असहज रहेको भन्दै मन्त्रालयले सबै नेपाली नागरिकहरुलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न अनुरोध गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप