बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेश : पहिचान आन्दोलनको नेतृत्व गर्ने दल नै विभाजित !

विभाजित पार्टी र नागरिक उन्मुक्तिबीच एकता
सोमबार, १८ वैशाख २०८०, १७ : ५७
सोमबार, १८ वैशाख २०८०

विराटनगर । कोशी प्रदेशमा पहिचानको पक्षमा आन्दोलन चलिरहेको बेला त्यही आन्दोलनको नेतृत्व गरिरहेको एउटा दल भने विभाजित भएको छ । कोशी प्रदेशमा लिम्बुवान राज्य माग गर्दै जन्मिएको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजित बनेको हो । 

उक्त पार्टीको नेतृत्व कुमार लिङ्देनले गर्दै आएका थिए । लिङ्देनलाई कारबाही गरेको घोषणा गर्दै सो पार्टीका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङको नेतृत्व नागरिक उन्मुक्तिमा मिलेको घोषणा गरिएको हो । 

गत वैशाख १२ गते मञ्चको बैठक दमकमा बसेको थियो । बैठकले अध्यक्ष लिङ्देनलाई कारबाही गरेको थियो । बैठकमा गुरुङले लिङ्देनलाई ४४ बुँदे अभियोगपत्र पेश गरेका थिए । 

विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी मञ्चको विभाजित पार्टीसँगै कोचिला एकता संघर्ष समिति तथा नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच एकता भएको हो । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुरुङले पार्टी एकतामा हस्ताक्षर गरेका छन् ।

यसअघि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तीकरणका लागि जागरण अभियान कोशी प्रदेशमा पहिचानको माग गर्दै कोशी नाम खारेजको पक्षमा भइरहेको आन्दोलनमा सहभागी हुँदै आएका थिए । 

पार्टी एकीकरण गर्ने विषयमा लिङ्देनले नमानेपछि ५१ प्रतिशत केन्द्रीय सदस्यहरूको समर्थनमा नयाँ नेतृत्व चयन गरेको गुरुङले जानकारी दिए । उन्मुक्ति पार्टीसँग एकता भइसकेपछि पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी (एकीकृत) राखिएको छ । केन्द्रीय समिति ६९ जनाको रहने र १५ सदस्य पदाधिकारी हुने सहमति भएको छ । जसमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव ३, सचिव ७ र सहसचिव ३ जना रहने भएका छन् । 

उक्त पार्टीले शासकीय स्वरुप आलङ्कारिक राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने बताएको छ ।

यता कुमार लिङ्देनले भने लोकतान्त्रिक राष्ट्रिय मञ्चले कसैसँग एकीकरण नगरेको बताएका छन् । दुई प्रतिशत कार्यकर्ता मात्रै आफ्नो पार्टीबाट गएको उनले दाबी गरे । 

लिङ्देनले २८५ जना संघीय कार्यसमिति रहेको बताउँदै पार्टी फुटाएर जानेहरुले ४० प्रतिशत पुर्याउनै नसक्ने बताए । ‘हावातालमा पार्टीभित्र भ्रम छरेर एउटा सानो समूह मात्रै बाहिरिएको हो,’ उनले भने, ‘दुई वर्षदेखि उनीहरु निष्क्रिय थिए । पहिचानको आन्दोलनमा पनि असहयोग गरिरहेका थिए । निर्वाचनमा पनि उनीहरुको असहयोग रह्यो । यस्तो अवस्थामा उहाँहरु बाहिरिएकै राम्रो भयो नि । त्यहाँबाट राम्रो गर्नुहोस् भन्ने मेरो सुझाव छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप