शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
स्वास्थ्य

डब्ल्यूएचओले कोरोनालाई आपतकाल अन्त्य घोषणा गरे पनि जोखिम कायमै

शुक्रबार, २९ वैशाख २०८०, ११ : ०३
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड– १९ (कोरोनाभाइरस) को विश्वव्यापी स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा गरेको छ । कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वमा अस्पताल भर्ना र मृत्यु दर कम भएपछि डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल (ग्लोबल पेन्डामिक इमर्जेन्सी) अन्त्यको घोषणा गरेको हो ।

सन् २०२१ को जनवरीमा साप्ताहिक रुपमा मृत्युदर एक लाख भन्दा बढी थियो भने गत महिना साढे तीन हजारमा झरेको डब्ल्यूएचओले जनाएको छ ।

नेपालको हकमा भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अवस्था हेरेर  कोरोनाभाइरस सङ्क्रमणको आपतकालको अवस्था सार्वजनिक गर्नुपर्ने इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले बताए । विदेशबाट नेपाल आउनेहरूले कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउन पर्ने/नपर्ने, पीसीआर परीक्षण गर्नुपर्छ कि पर्दैन भन्नेबारे प्रस्ट धारणा बनाउनुपर्ने उनले बताए । 

‘नेपाल दुई ठूला देश चीन र भारतको बीचमा रहेकाले जुन देशमा सङ्क्रामकजन्य रोग फैलिए पनि नेपालमा देखा परिहाल्ने भएकाले सजग हुनुपर्छ,’ डा. मरासिनीले भने, ‘वर्तमान अवस्थालाई हेरेर धारणा सार्वजनिक गर्नुपर्छ । डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकालको अन्त्य घोषणा गर्दा नेपालबाट पनि कोरोनाभाइरस उन्मुलन भयो भनेर सोच्न हुँदैन ।’

के सङ्क्रमणको जोखिम अन्त्य भएको हो ?

करिब दुई महिना अघिसम्म कोरोना–१९ सङ्क्रमण दर शून्य थियो । त्यसपछि क्रमशः दैनिक १४२ जनासम्मलाई सङ्क्रमण भएको थियो । हाल दैनिक १५ देखि ३० जनामा सङ्क्रमण पुष्टि हुँदै आएको छ । यस अवधिमा कोरोना सङ्क्रमणका कारण १० जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वभरको सिनारियो अध्ययन गरेर ग्लोबल पेन्डामिक इमर्जेन्सीको अन्त्य गरे पनि खोप नलगाएका दीर्घरोगी, वृद्धवृद्धा सजग हुनुपर्ने सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् ।

डब्ल्यूएचओले आपतकालको अन्त्य गर्नुु भनेको कोरोना भाइरस नै विश्वबाट उम्मुलन भएको भनेर बुझ्न नहुने उनको भनाइ छ । कोरोनाविरुद्धको खोप र बुस्टर डोज लगाएकालाई भन्दा नलगाएकालाई सङ्क्रमणले सताउन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए ।

सङ्क्रामकजन्य रोग विशेषज्ञ डा. प्रभात अधिकारी सङ्क्रामक रोग एक अर्काबाट सर्ने भएकाले कोरोना सङ्क्रमणबाट जोगिन हरेक समय जनस्वास्थ्यको मापण्ड पालना गर्नुपर्ने बताउँछन् । ‘कोरोना भाइरस निरन्तर उत्परिवर्तन भइराख्छ । उत्परिवर्तन भएका नयाँ भेरिएन्टमा जटिलता, सङ्क्रामता कम भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई सताउन सक्ने भएकाले खोप लगानुपर्छ,’ उनले भने । कोरोनाभाइरस कमजोर बन्दै गएको तर, विश्वबाट उन्मुलन नभएको उनको भनाइ छ ।

काेरोनाभाइरस चीनको उहानबाट विश्वव्यापी रुपमा फैलिएको हो । २०१९ डिसेम्बर अन्त्यमा उहानबाट फैलिएको भाइरस तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि संक्रमणको त्रास कायम छ । गत शुक्रबार अर्थात् मे ५ मा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले कोभिड–१९ अब ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’को रूपमा नरहेको घोषणा गरेका थिए । यद्यपि उनले सबैभन्दा उच्च तहको सतर्कता हटाउने निर्णय गर्नुको अर्थ कोरोना–१९ कोे खतरा भने नसकिएको बताएका छन् ।

पुनः अवस्था फेरिएमा आपतकालीन अवस्थालाई फेरि बिउँताउन सकिने उनको भनाइ छ ।

दुईभन्दा धेरै देशमा संक्रमण फैलिएर धेरै मानिस प्रभावित भएमा सो रोगलाई ‘ग्लोबल पेन्डामिक इमर्जेन्सी’का रुपमा डब्ल्यूएचओले घोषणा गर्ने डा.अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप