शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राहदानी विवाद

रविले अमेरिकी राहदानी त्यागेको प्रमाणित निस्सा खोइ ?

अध्यागमन र काठमाडौँ प्रशासनलाई सर्वोच्चको पत्र
बुधबार, १० जेठ २०८०, १४ : ५८
बुधबार, १० जेठ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा सरकारलाई बुझाए वा नबुझाएको चर्चा अहिले पनि छ । लामिछानेले निस्सा नबुझाएको भनी अधिवक्ता युवराज पौडेल ‘सफल’ले १९ चैत ०७९ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यतिबेला दरपिठ गरिएको उक्त रिट अहिले सर्वोच्चले दर्ता गर्ने निर्णय गरेको अधिवक्ता पौडेलले रातोपाटीलाई बताए ।

लामिछानेउपर कानुनबमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीका नाममा परमादेश जारी गर्नुपर्ने अधिवक्ता पौडेलको माग छ ।

लामिछानेले आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्नेमा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज लामिछानेउपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण रहेको जिकिर पौडेलले पछिल्लो रिटमा गरेका छन् । 

346118683_1265742080723800_1881784063851345905_n (1)

यसअघि राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको समेत पौडेलको दाबी छ ।

 लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के कुन प्रयोजनका लागि प्रयोग गरेको भन्नेमा बहस हुनुपर्ने र सर्वोच्च अदालत नियमावली २०७४ बमोजिम हुनुपर्ने पौडेलको माग छ । उक्त नियमावलीको नियम ४९ उपनियम २ (१) ले पक्षलाई अपूरणीय क्षति हुने अवस्था देखेमा, मौलिक हक वा कानुनी व्यवस्थाको गम्भीर उल्लङ्घन भएको देखिएमा वा सुविधा सन्तुलनको दृष्टिले उचित र आवश्यक देखेमा अदालतले अन्तरिम आदेश दिन सक्ने व्यवस्था छ । यसै उपनियमको ‘ग’मा अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफल गर्न अर्को पक्ष झिकाउने आदेश गरी दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश जारी गर्न सक्ने उल्लेख छ । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने रविले बुझाएको निस्सा सर्वोच्चमा बुझाएको मिसिलमा रहेको रातोपाटीलाई बताए । उनले भने, ‘उहाँले निस्सा बुझाउनुभएको छ । हाम्रो फाइलमा सुरक्षित छ ।’ उनले यसो भने पनि निस्सा सार्वजनिक भएको छैन । उल्टै सर्वोच्चले अध्यागमन र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेखी प्रमाणित निस्सा उपलब्ध गराउन आग्रह गरेको छ । 

सर्वोच्चको मुद्दा रिट महाशाखाका शाखा प्रमुख मधुसुदन आचार्यले गत जेठ ३ गते लेखेको पत्रमा भनिएको छ, ‘निवेदक युवराज पौडेल सफल र प्रत्यार्थी वा विपक्षी महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौँ समेत भएको उत्प्रेषण समेत विषयको रिट निवेदनमा मिति २०७९/१२/२२ मा भएको आदेशानुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा पठाइदिनुहुन भनी पत्राचार गरिएको सम्बन्धमा तहाँ विभागको च.नं. १४०५ मिति २०८०/०२/०१ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो । सो सम्बन्धमा तहाँ विभागबाट उक्त निस्सा ०७९–डब्लुसी–००३५ नं. को मुद्दामा सामेल हुने गरी पठाइएकोमा उक्त मुद्दा फैसला भइसकेपश्चात यस अदालतको च.नं. ३३४०० मिति २०७९/११ /२५ को पत्रमार्फत तहाँ विभागमा फिर्ता पठाइसकिएको देखिँदा उक्त पत्रको प्रतिलिपि समेत साथै राखी पठाइएको छ । अतः पूर्वपत्रानुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा यस अदालतमा पठाइदिनुहुन अनुरोध छ ।’ 

rabi 2

उता अध्यागमनले भने प्रमाणित निस्साका सम्बन्धमा जेठ १ मै पत्र लेख्दै सक्कल फाइल सर्वोच्चलाई नै बुझाएको र फिर्ता नआएको जानकारी गराएको छ । गत जेठ १ गते विभागले सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखालाई लेखेको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ सम्मानित सर्वोच्च अदालतको च. नं. २४०२४, मिति २०७१/०९/२४ (मुद्दा नं. ०७९–डब्लुसी.००३५) को प्राप्त पत्रानुसार सक्कल कागजात पठाइदिने व्यहोराको पत्र यस विभागको च. नं. ९११ मिति २०७९/०९/२६ को पत्र साथ सक्कलै कागजात पाना थान–८ पठाइसकिएको र अदालतबाट पुनः यस विभागमा फिर्ता नपठाइएको व्यहोरा सादर अनुरोध छ ।’ 

rabi 1

यसरी सर्वोच्च र अध्यागमनबीचको पत्रको दोहोरीले लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नभएको र नबुझाएको स्पष्ट हुने दाबी अधिवक्ता पौडेल गर्छन् । 

रोचक कुरा, सर्वोच्चले निस्साका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई समेत पत्र लेखेको छ । वैशाख २७ मा पत्र लेख्दै सर्वोच्चले प्रमाणित निस्सा उपलब्ध गराइदिन प्रशासनलाई आग्रह गरेको छ । प्रशासनले सर्वोच्चलाई पत्र लेख्दै राहदानी त्यागसम्बन्धी निस्सा आफ्नो कार्यालयसँग सम्बन्धित नरहेको जवाफ दिएको छ । पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा सम्मानित अदालतको चलानी संख्या ४३३९० मिति २०८०/१/२७ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो । तत् सम्बन्धमा निवेदक युवराज पौडेल सफल र विपक्षी महान्याधिवक्ता कार्यालय काठमाडौँ समेत भएको उत्प्रेषण (मुद्दा नं ०७२–डब्लुओ–१०८७) को रिट निवेदनमा प्रत्यार्थी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा माग भएको हुँदा उक्त राहदानी त्याग सम्बन्धी निस्सा यस कार्यालयसँग सम्बन्धित नरहेको व्यहोरा सादर अनुरोध छ ।’ 

rabi 11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप