शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश बजेट

कोशी प्रदेशमा दिइने अनुदान झण्डै ३ अर्बले घट्यो

मङ्गलबार, १६ जेठ २०८०, १८ : ०२
मङ्गलबार, १६ जेठ २०८०

विराटनगर । संघीय सरकारले दिने विभिन्न अनुदानको रकम चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि कोशी प्रदेशमा करिब ३ अर्ब कम हुने देखिएको छ ।

संघीय सरकार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को अन्तरसरकारी वित्तीय हस्तान्तरणको सारांशमा कोशी प्रदेशलाई अनुदान रकम २ अर्ब ९८ करोड २१ लाख रुपैयाँ कम आउने भएको हो । 

संघीय सरकारले प्रदेशलाई न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनका आधारमा दिने अनुदानलाई समानीकरण अनुदानको शीर्षकमा उल्लेख गरेको छ । जुन अनुदान रकम चालू आर्थिक वर्षमा कोशी प्रदेशले ९ अर्ब ८२ लाख पाएको थियो । अहिले झण्डै २२ करोड ४४ लाख रुपैयाँ कम गर्दै ८ अर्ब ७८ करोड ३८ लाख दिइने भएको छ । 

समानीकरण अनुदानको रकम प्रदेश सरकारले आफ्नो बजेट वक्तव्यमार्फत् छनौट गरेका योजनामा खर्च गर्न पाउँछ ।

यस अघि प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिसमा पनि कोशी प्रदेशले वित्तीय समानीकरण अनुदानमार्फत् २ अर्ब ६९ करोड १५ लाख रुपैयाँ, सूत्रमा आधारित ५ अर्ब ६१ करोड २५ लाख र कार्यसम्पादनमा आधारित ४७ करोड ९८ लाख गरी जम्मा ८ अर्ब ७८ करोड ३८ लाख पाउने उल्लेख गरेको थियो । 

यस्तै, संघीय सरकारले दिने सशर्त अनुदान पनि चालू आर्थिक वर्षको भन्दा २ अर्ब ८५ करोड २७ लाख कम दिँदै आगामी आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ३२ लाख दिने उल्लेख छ । 

चालू आर्थिक वर्षमा संघीय सरकारले कोशी प्रदेशका लागि ८ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ सशर्त अनुदान दिएको थियो । विशेष अनुदान भने आगामी आर्थिक वर्षमा चालू आर्थिक वर्षको भन्दा २८ करोड ५० लाख बढेको छ । 

चालू आर्थिक वर्षमा ४७ करोड ५० लाख रुपैयाँ विशेष अनुदान प्राप्त गरेको कोशी प्रदेशले आगामी आर्थिक वर्षमा भने ७६ करोड रुपैयाँ पाउने भएको हो । 

यस्तै, समपूरक अनुदान (पुँजीगत प्रकृति) पनि आगामी आर्थिक वर्षका लागि १ अर्ब ९० करोड रुपैयाँ कम आउने भएको छ । चालू आर्थिक वर्षमा ९ अर्ब २० करोड रुपैयाँ समपूरक अनुदान पाएको कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ३० करोड रुपैयाँमात्रै पाउने भएको हो । 

केन्द्र सरकारको चालू र पुँजीगत प्रकृतिको जम्मा अनुदान जोड्दा चालू आर्थिक वर्षको भन्दा २ अर्ब ९८ करोड २१ लाख कम हुने देखिएको हो । 

चालू आर्थिक वर्षमा संघीय सरकारबाट कोशी प्रदेशले सबै प्रकारका अनुदान १९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ पाएको थियो । आगामी आर्थिक वर्षका लागि भने १६ अर्ब ११ करोड ७० लाख रुपैयाँमात्रै अनुदान पाउने भएको छ । 

अनुदानको यो तथ्याङ्कले कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेटको आकार पनि खुम्चिने प्रष्ट भएको छ । 

कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट कार्यान्वयन गरिरहेको छ । 

उक्त आम्दानी र खर्च व्यहोर्ने स्रोतमा उसले आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख ४० हजार, वैदेशिक अनुदानबाट २५ करोड ६७ लाख ६० हजार, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड, विशेष अनुदानबाट ४७ करोड ५० लाख अनुमान गरेको छ । त्यस्तै, नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ अनुमान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप