शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : राजदरबार हत्याकाण्ड

युवराज दीपेन्द्रले गाँजा र ‘कालो’ मिसाएर खाने अर्दलीको बयान

शुक्रबार, १९ जेठ २०८०, ०९ : २५
शुक्रबार, १९ जेठ २०८०

नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते भएको घटना सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले अर्दली (युवराज दीपेन्द्रको पोसाक लगाइदिने र खोलिदिने काम गर्ने) रामकृष्ण के.सी.सँग लिएको बयान :

समितिः कति वर्ष भयो काम गरेको ?

जवाफः तीन वर्ष भयो ?

समितिः  के जिम्मेवारी दिएको थियो ?

जवाफः म पोशाकहरु खोल्दिने, लगाइदिने........

समितिः युवराजधिराजको पोशाक लगाइदिने, खोलिदिने, ए त्यस्तो भएपछि खोपीमा आउन जान पाइरहने, त्यो घटना हुँदा तपाईं कहाँ हुनुहुन्थ्यो ? 

जवाफः म किचेनमा थिएँ, माथि सवारी होइबक्स्यो भनेर आमाले भनेपछि माथि आई साहेब ढलिबक्सिरहेछ, हामी आएपछि उठिबक्स्यो, अनि पोशाक खोल्न लाइबक्स्यो । पोशाक खोल्दैथ्यौँ । अनी वाथरुम सवारी भयो । हामी वाहिर बसिरह्यौँ एक छिनपछि वाहिर सवारी भयो, अनि तिमीहरु जाओ भन्नुभयो हामी पछाडी गयौँ । पछाडि गएपछि ज्यूनारको सामान आयो, किचेनको साँचो आमासँग हुन्थ्यो । अनि म साँचो माग्न आमाकहाँ आएँ । 

समितिः तपाईंले आमा भनेर कसलाई भनको ? 

जवाफः जमुना अधिकारीलाई हामी आमा भन्छौँ, द्वारे आमा भएको हुँदा । ...... म आफैँ जान्छु भनी आमा जानुभयो । म त्यहाँ उभिइराखेको समयमा साहेव पोशाक लगाएर हतियार भिरेर सवारी भयो । सवारी भएपछि बाहिर सवारी हुन लागेछ......

समितिः तपाईंले हतियार भिरेको देख्नुभयो ? कसरी भिरेको रे ?

जवाफः पछाडीबाट भिर्नु भएको, पछाडिबाट, त्यहाँबाट बाहिर सवारी भयो की भनी इमर्जेन्सी  ब्याग चाहिन्छ कि भनी सोध्दा चाहिदैन हुकुम भयो र म ए.डि.सि.लाई खबर गर्न दौडेको मात्र थिएँ पड्कीन सुरु भइहाल्यो । अनि भागेर पछाडि गएँ । 

समितिः अनि त्यो लडेपछि वाथरुम जाँदाखेरी वाकवाक पनि लागेको थियो ?

जवाफः वाकवाक चाहिँ अलिअलि गरिबक्सेको थियो ।

समितिः वान्ता नै भएको थियो ?

जवाफः त्यो त हामीले हेरेनौं ।

समितिः अनि तपाईंले हतियारले लैष भएको देख्नुभयो ? कपडा चेञ्ज गरेर 

जवाफः हजुर ।

समितिः तपाईंले देख्दा कतिवटा हतियार थियो ?

जवाफः दुइटा तीनवटा होला, त्यति याद छैन । 

समितिः हतियार छ भनेर कसरी थाहा पाउनुभयो ?

जवाफः हतियार भिरिवक्सेर ।

समितिः त्यसपछि हतियार भिरेपछि तपाईं सँगसँगै जानुभयो ?

जवाफः इमरजेन्सी व्याग सोधेँ मैले, बाहिर सवारी हुँदा सरकारको सामान गाडीमा हाल्ने गरेको र बेलुका खोपीमा लाने गरिन्थ्यो । इमरजेन्सी ब्याग पर्दैन भनेर भन्नुभयो । ए.डि.सी.लाई खबर गर्न म आउनु र त्यहाँ पड्कनु एकैसाथ भयो र म पछाडि आएँ । 

समितिः ए.डि.सी.लाई तपाईंले खवर गर्नु भो ?

जवाफः खवर गर्न पाइन, पड्की हाल्यो ।

समितिः जाँदा जाँदै ?

जवाफः हजूर ।

समितिः त्यो पड्कदा तपाईं कहाँनीर हुनुहुन्थ्यो ?

जवाफः म खोपीतिर माथि नै थिएँ पड्कीए पछाडि भागेँ । 

समितिः ए, तपाईं माथि नै ?

जवाफः हजूर । 

समितिः खोपीदेखि कता हुनुहुन्थ्यो ?

जवाफः म एता वरै थिए । 

समितिः त्यो भर्‍याङ्गभन्दा माथि ?

जवाफः त्यो टेबुल छ नी हजुर, त्यहीनिर । ढोकामा उभिइराखेको थिएँ । 

समितिः ढलेको अवस्थामा चिन्तामा वा मादक पदार्थ के मा ढलेको जस्तो लाग्यो ?

जवाफः खोइ त्यो त, ढलिबक्सेको रहेछ, जुरुक्क उठिबक्स्या । त्यत्ति उ नै भएन । 

समितिः बेडिङ्गको नजिकैमा कि वलि वरै ढलेको ?

जवाफः वेड नजिकै ढलेको ।

समितिः अरु केही सम्झना छ ?

जवाफः छैन । त्यहाँबाट भागियो । 

समितिः शरिरमा त हतियार भिरेको देख्नुभयो, हातमा केही थियो कि थिएन ?

जवाफः हातमा याद भएन ।  देखिन ।

समितिः भर्‍याङ्गबाट कता जानुभयो ?

जवाफः पछाडि उतैबाट फर्कें ।

समितिः पड्केपछि सरकार फर्के नफर्केको केही थाहा पाउनु भयो ?

जवाफ  : म भागिहालें थाहा पाइन । पछाडि भागिहालें । 

समितिः अनि कुन वेला आउनुभयो ?

जवाफः म त पछि आइन, पछि आउँदै आइन । पछाडि पछाडि भइहाल्यो । सैनिकहरु आइहाले होलान् भनी आउँदै आइन । पछि धेरै लाष्टमा ए.डि.सी. अफिसमा बोलाएपछि आयौं ।

समितिः ए.डि.सी. अफिसमा बोलाएर सोध्यो ? 

जवाफः केही पनि सोधेन । 

समितिः अरु केही सम्झना छ भन्नु पर्ने ? 

जवाफः केही पनि छैन । 

रामकृष्ण के.सी. (शाही अर्दली)संग पुन सोधपुछ

समितिः रामकृष्ण के.सी. जी, तपाईलाई हामीले किन बोलाएको भने अलिकति केही कुरा बाँकी भयो । ८ बजेर १९ मिनेट जाँदा तपाईलाई युवराजधिराज सरकारलाई चुरोट लगिदिनका लागि अह्राइएको थियो । त्यो चुरोट त बैठकमा पनि देखिन्छ त, किन चुरोट लान पर्‍यो ? चुरोट किन लानु पथ्र्यो र चुरोट लिएर कहाँ जानुभयो ? 

जवाफः चुरोट अब त्यसमा खास ... माल भएको चुरोट ।

समितिः माल भनेको के ?

जवाफः गाँजा । गाँजा भरेको चुरोट ल्याऊ भन्नुभएको रहेछ । अनि म विलियर्ड हलको त्यो मेन ढोकामा पुगेपछि पारस सरकारलाई टक्र्याएँ । भित्रचाहीं म छिरिन । 

समितिः कुनचाहीं  ढोका ? पूर्वपटृीको ढोका ? कतिवटा लगिदिनुभयो ?

जवाफः त्यही ठूलो ढोका । त्यसमा ५/६ वटा जति थियो । 

समितिः कसले गराउने गर्थ्याे ? के के हाल्ने गर्थ्याे त्यसमा ?

जवाफः त्यो हामीहरुले नै बनाउने हो । त्यो गाँजा र सुर्ती मिसाएर बनाउने हो । 

समितिः ५/६ वटा पारस सरकारलाई बुझाइयो ? अनि ... के भनेर ... ?

जवाफः सरकारले हुकुम भएको भनेर ... सावले भनिबक्सियो । अनि त्यहाँ गएको, पारस सरकार सवारी भयो । त्यहाँ टक्र्याएँ । ... पारस सरकार हाँस्दै सवारी भयो । अनि म हातमा लिएर गएको थिएँ । मैले दिएँ । टक्र्याइबक्सियो । 

समितिः त्यो चुरोटमा गाँजा मात्रै भरिएको थियो भन्ने तपाईंलाई एकिन छ ? 

जवाफः त्यसमा गाँजा र अर्को कालो के हुन्थ्यो त्यो ल्याउँथें, त्यो मिसाएर भरिदिनु पथ्र्यो । 

समितिः कहाँबाट कसले ल्याउँथ्यो ?

जवाफः त्यहीं नै हुन्थ्यो अब भर ... 

समितिः त्यहींं भनेको खोपीमै हुन्थ्यो कि ?

जवाफः त्यहीं नै हुन्थ्यो, खोपीमै हुन्थ्यो ।

समितिः गाँजा तपाईंले चिन्नुहुन्थ्यो ? कालो तपाईंले चिनिदैनथ्यो, कालो कति राख्नुपर्दथ्यो ?

जवाफः त्यो अब हेरेर, त्यस्तै चुरोट हेरेर । 

समितिः एउटा चुरोटको खिलीमा गाँजा कति, त्यो कालो कति राखिन्थ्यो ?

जवाफः त्यो त अब .... बक्सेको थियो पहिलाचाहीं । त्यो सुर्ती र उ सबै एउटामा मिलाएर हालिदिने । 

समितिः त्यो कालोको रंग अहिले देख्यो भने चिनिन्छ ? पूरा कालो थियो कि अलिअलि कलेजी कलेजी थियो ?

जवाफः पूरा उ त थाहा छैन । त्यो त्यहीं पनि सधैं होइन, कहिलेकाहीं त्यस्तै उ भएको बेलामा ।  

समितिः त्यो दिन कुन पर्‍यो ? कालो मिसिएको उ पर्‍यो कि अर्को परेको थियो ? 

जवाफः त्यसमा कालो मिसिएको र अर्को दुवैथरी थियो ।

समितिः लगेर पारस सरकारलाई दिनुभयो । पारस सरकारलाई बुझाउँदा युवराजधिराज सरकारले मागिबक्सेको हुनाले लिएर आएको । वहाँ पुर्‍याइदिने तपाईंले भनेको हो कि होइन ?

जवाफः मैले त्यो जाहेर गर्न मिल्दैन । म त्यो उसमा गएर बसें । म सरासर जान लागेको थिएँ, पारस सरकार हाँस्दै सवारी भयो । मैले हातमा लिएको थिएँ । मैले टक्र्याएँ । अनि पारस सरकारले लिएर सवारी भयो । 

समितिः अनि के खवर गरेर माथि खोपीमा पुग्नुभएको थियो त ? चुरोट ... पछि युवराजधिराज सरकार माथि ... मा पुगिसकेको, कहाँबाट के खवर आएर ? 

जवाफः सरकार सवारी भएको थियो । ... सवारी भएको छ ... जानु भनेर अनि ...

समितिः त्यो कहाँ छ, त्यो खोपीमा ?

जवाफः त्यो खोपीमा हुन्थ्यो । सरकारले ल बनाउ भनेर बक्सिन्थ्यो अनि ...

समितिः त्यसदिन तपाईले कहाँबाट बनाएर ल्याउनु भयो ?  

जवाफः सरकारले बक्सेको थियो ।

समितिः त्यही दिन कि बिहान ?

जवाफः त्यो सरकारले बक्सेर पहिले बनाएर राख भन्नुभएको थियो, बनाएर राखेको थिएँ । 

समितिः बनाएर खोपीमा राख्नुभएको थियो ? 

जवाफः बनाएर आफ्नै साथमा थियो ।

समितिः त्यो बनाउन दिएको कति बेला हो ?

जवाफः दिउँसो २/३ बजेतिर । 

समितिः  होइन, त्यो ... जान भन्दा पहिले कि ?

जवाफः पहिले नै । 

समितिः त्यो दिन कति खिली बनाउनु भनिबक्सेको थियो ?

जवाफः त्यो बक्सेको थियो ५/६ बनाइदिने हुकुम भएको थियो । ५, ६ वटा ...

समितिः कुन चुरोट ?

जवाफः शिखर चुरोट ।

समितिः त्यो खाने कसले खाए भन्ने देख्नु भएन ? त्यो चिज तपाईसंग छैन ?

जवाफः छैन, जति वक्सिन्छ त्यही बनाएर टक्र्याउने हो । 

समितिः जति बक्स्यो ५/६ वटा बनाएर दिइहाल्नुहुन्थ्यो ? त्यो भन्दा अगाडि अगाडि  पनि ... कति चोटी भएको थियो ? कहिले एकवर्षदेखि, ६ महिनादेखि चुरोट गाँजा हालेर बनाउनुस् भनेर ... कहिले शुरु गर्नुभएको थियो ?  

जवाफः मैले त त्यस्तै हाम्रोचाहीं अल्टरनेट ड्युटी हुन्छ । कहिलेकाँही आफ्नो ड्युटी परेको बेलामा मैले त्यस्तै २/३ पटक बनाएँ होला । 

समितिः .... कति पटक ?

जवाफः महिना भन्दापनि झण्डै एकवर्ष जति भयोहोला । एक वर्षदेखि पहिला बनाएको थिएँ । अहिले तीनपाली जति बनाएँ मैले, आफ्नो ड्युटीमा ।

समितिः कस्तो बेलामा माग्ने गरिबक्सिन्थ्यो ?

जवाफः त्यही पार्टी भएको बेलामा वनाउँ भनिबक्सिन्थ्यो । 

समितिः अस्ति तपाईले हामीलाई जानकारी दिँदाखेरी सरकार खोपीबाट निस्केपछि मैले इमर्जेन्सी व्याग पनि लानपर्छ कि सरकार भनेर भनें भन्नुभयो तपाईंले । त्यो इमर्जेन्सी व्यागमा के के हुन्छ ?

जवाफः त्यसमा अब सरकार बाहिर सवारी हुँदा त्यो वेदरप्रुफ ज्याकेट, ... चिपिस्टिक, ... स्प्रे, अनि त्यो एक्स्ट्रा व्याट्रीहरु त्यस्तै नै हुन्छ । पानी ज्युनार हुन्छ । 

समितिः अनि तपाईं त्यो खोपीमा जाँदाखेरी युवराजधिराज सरकार तल उभिइरहेको देख्नुभयो कि बसिरहेको देख्नुभयो ?

जवाफः ढलेको अवस्थामा ।

समितिः त्यो वेला त्यस्तो किसिमले तपाईंले बनाइसकेको ...

जवाफः  केही पनि देखिन । 

समितिः के मा राखेको थियो ?

जवाफः त्यो सरकारको बट्टामा, चुरोटको ...

समितिः तपाईलाई बटृाको रंग याद छ, कलर ?

जवाफः त्यो चाहीं याद भएन । त्यो दिन त मैले त्यही चुरोटको बटृामा नै टक्र्याएको हो । तर सरकारले अर्कै बोकिबक्सेको हो बटृा । अब कालो पोशाक भएको बेलामा कालै बटृा, खैरो भएको बेलामा खैरो बटृा लिइबक्सिन्थ्यो चुरोटको । 

समितिः अब फेरि चाहियो भने बोलाउँला है !

(नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटना सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदनबाट साभार ।)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप