शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आदिपुरुष चलचित्रको प्रदर्शन नेपालभर रोकियो

सोमबार, ०४ असार २०८०, १४ : ४९
सोमबार, ०४ असार २०८०

काठमाडौँ । भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो । 

उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले एक विज्ञाप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको छ । 

कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिए । 

“काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौँ”, वितरक राठीले भने । 

यस्तै, वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र सङ्घले सम्पूर्ण भारतीय चलचित्रमा रोक लगाएको विषयमा असन्तुष्टी व्यक्त गरेको छ ।

 सङ्घका उपाध्यक्ष गोपालकाजी कायस्थले कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जानकारी दिए । 

उनले भने, “यसरी सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउनु उचित समाधान होइन । हामी यसविरुद्ध कानुनी प्रक्रियामा जान्छौँ र निकास खोज्छौँ ।”

काठमाडौँ महानगर पश्चात चलचित्र आदिपुरुषलाई पोखरा, धराण, वीरगञ्जलगायतका सहरमासमेत स्थानीय निकायका प्रमुखले प्रदर्शन नगर्न निर्देशन दिइसकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप