कोरिया रिटर्नीहरूको समस्या समाधानका लागि ‘कूटनीति पहल’

काठमाडौँ । कोरिया रिटर्नीहरूले उठान गरेका मागहरूका विषयमा नेपाल सरकारले कूटनीति पहल थालेको छ । भाषा परीक्षा पास गरेर पुनः कोरिया जाने तयारीमा रहेका श्रमिकहरूको समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कूटनीतिक पहल थालेको हो ।
वैदेशिक रोजगार विभाग अन्तर्गत ग्वार्कोमा रहेको ईपीएस कार्यालयले उनीहरूका समस्या समाधानका लागि मन्त्रालयलाई पत्राचार गरेको छ ।
कार्यालयका निर्देशक पुष्पराज कटुवालले कोरिया रिटर्नीहरूले उठान गरेका मागहरूका विषयमा कोरिया सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने बताए । त्यसका लागि कार्यालयले मन्त्रालयमा पत्राचार गरेको उनको भनाई छ ।
‘उहाँहरूले उठान गरेका मागहरू हाम्रो तहबाट समाधान हुन सक्दैनन् । त्यसका लागि कोरिया सरकारसँग नै कूटनीति पहल थाल्नुपर्छ । हामीले मन्त्रालयमा पत्राचार गरेका छौं’ निर्देशक कटुवालले भने ।
५ वर्ष कोरिया बसेर फर्केकाहरूले पुनः भाषा परीक्षा पास गरेर कोरिया जाने प्रतीक्षामा रहेका छन् । तर, उनीहरू रोजगारदाताको छनौटमा पर्न नसक्दा लामो समयसम्म जान पाएका छैनन् । उनीहरूको तुलनामा नयाँहरू धमाधम गइरहेका छन् ।
कामदार छनौटको काम कोरियास्थित रोजगारदाताले गर्ने र त्यसमा उनीहरूले पुरानाभन्दा नयाँलाई प्राथमिकमा राख्दै आएको कटुवालले बताए ।
कामदार छनौट प्रक्रियामा कार्यालयले भेदभाव गरेको भन्दै कोरिया रिटर्नीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले ईपीएस कोरिया शाखामा गएर विरोध प्रदर्शन गर्दै आएका छन् । आफूहरूको फाइल ईपीएस शाखाले नै अगाडि नबढाउँदा रोजगारदाताको छनौटमा पर्न नसकेको उनीहरूको भनाई छ ।
४ हजारको हाराहारीमा रहेका कोरिया रिटर्नीहरू पुनः भाषा परीक्षा दिएर पास भएर कोरियाको जान पाउन प्रतीक्षामा रहेका छन् । उनीहरूले पुरानाहरू कोरिया जाने पालो नआएसम्म नयाँको परीक्षा नलिन आग्रह गर्दै आएका छन् ।
‘हाम्रो फाइल यतै थन्क्याएर राखिएको छ । शाखाले फाइल नै अगाडि नबढाई रोजगारदाताले हामीलाई कसरी छनौट गर्छ ?’ भक्तपुरका निमा लामाले प्रश्न गरे ।
फाइल नै अगाडि नबढ्दा आफूहरूको आईडीमा प्रक्रिया अगाडि बढेकोबारे नदेखाएको लामाको भनाई छ ।
तर, निर्देशक कटुवालले भने फाइल नै अगाडि नबढेको भन्ने उनीहरूको गलत बुझाई रहेको बताए । ‘हामीले उनीहरूको फाइल उता पेश गरेर नै परीक्षा दिन पाउनुभयो । त्यही आधारमा पास भएर रोस्टरमा पर्नुभयो । अहिले रोजगारदाताले छनौटमा प्राथमिकतामा नराखेको साँचो हो,’ कटुवालले भने ।
रिटर्नीहरूको समस्या समाधान गर्नका लागि श्रम मन्त्रालय मार्फत कोरिया सरकारसँग कूटनीतिक पहल गर्नुपर्छ । र त्यही आधारमा कोरिया सरकारले समेत रोजगारताहरूलाई रिटर्नीहरूलाई समेत छनौट गरिदिन आग्रह गर्नुपर्छ । यो सबै प्रक्रिया रोजगारदाताको हातमा रहेको निर्देशक कटुवालको भनाई छ ।
‘हामीले कोरिया सरकारलाई आग्रह गर्ने हो । कोरिया सरकारले समेत रोजगारदातालाई आग्रह गर्ने हो । सरकारले गरेको आग्रहको आधारमा रोजगारदाताले छनौट गरिदिन सक्छन् भन्ने हाम्रो विश्वास हो’ निर्देशक कटुवालले भने ।
कोरियाको रोजगारदाताले उमेरहदको कारण देखाउँदै पुरानाभन्दा नयाँलाई प्राथमिकतामा राखेको हुनसक्ने अनुमान गरिएको छ ।
रोजगारदाताले नै पुरानालाई भन्दा नयाँलाई प्राथमिकतामा राख्दा यो समस्या देखिएको निर्देशक कटुवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड
-
शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै