बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा आमा छोरीको मृत्युबारे प्रहरीको अनुसन्धान जारी

शनिबार, १६ असार २०८०, १२ : ५३
शनिबार, १६ असार २०८०

रौतहट । रौतहटको मौलापुरमा गत शुक्रबार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए । 

आरुहीको शव पङ्खामा झुन्डिएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले बताए । उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन् । कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । 
कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ । उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो । कविताका बुबा विजयशङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए । उनका अनुसार छोरी र ज्वाइँबीच पटक पटक विवाद हुने गरेको थियो । 

“बेलाबेलामा कविताले ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औंठी र सिक्री माग्ने गरेको बताएकी थिइन् । दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो”, साहको आरोप छ ।  हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप