आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने

आइतबार, २४ असार २०८०, १८ : ५८
आइतबार, २४ असार २०८०

काठमाडौँ । उपत्यकाका स्थानीय तहले ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा स्वास्थ्य विभागका प्रमुखसँग गरेको छलफलमा चार महिनासम्म उक्त अभियान सञ्चालन गरिने महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए । 

“अबको चार महिना डेङ्गु सङ्क्रमण बढ्ने निकै नै जोखिम हुन्छ”, उनले भने, “स्थानीय तहले चार महिना लामुखट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्नेछन् ।”

स्थानीय तहले प्रत्येक हप्ता टोल–टोलमा गएर पानी जम्ने सम्भावना भएको ठाउँ खोजी गरी नष्ट गर्नेछन् । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले महाशाखाबाट उपत्यकाका सबै स्थानीय तहलाई रोकथाम र नियन्त्रण गर्न आग्रह गर्दै यसका लागि आवश्यक सहयोग उपलब्धसमेत गरइने जानकारी दिए । 

बूढानीलकण्ठ नगरपालिकका प्रमुख मिठाराम अधिकारीले लामखुट्टे खोज्न र नष्ट गर अभियान चाँडै नै सञ्चालन गरिने बताए । उनले पालिकाभित्रका गाउँ टोलमा पनि डेङ्गु नियन्त्रण तथा रोकथामका लागि सचेतना अभियानसमेत सञ्चालन गरिने उल्लेख गरे । 

पानीपरेसँगै जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्ने भएकोले डेङ्गुको जोखिमसमेत बढ्दै आएको छ । महाशाखाका अनुसार काठमाडौँमा ४६ ललितपुरमा १२ भक्तपुरमा ३५ जना डेङ्गुका बिरामी भेटिएका छन् । सन् २०२३ यता अहिलेसम्म एक हजार २४ मानिस डेङ्गुका कारणले बिरामी हुनाका साथै सुनसरीमा एक जनाको ज्यान गएको छ । 

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर  टोकेपछि डेङ्गु रोग लाग्दछ । डेङ्गुले गर्दा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेजस्ता लक्षण देखा पर्दछ । 

लामखुट्टेबाट बच्न सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल तथा ढोकामा जाली हाल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । 

सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएको र यसबाट ८८ जनाको ज्यान गइसकेको छ । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप