आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सिठ्ठी फुकेर व्यवसायीहरूद्वारा आफ्ना मागबारे सरकारको ध्यानाकर्षण

सोमबार, २२ साउन २०८०, १७ : ५६
सोमबार, २२ साउन २०८०

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन सोमबारबाट सुरु भएको छ । जस अनुसार निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर महासंघ सचिवालयदेखि संसद् भवन अगाडिसम्म सिठ्ठी जुलुस गरेका छन् ।

महासंघका अध्यक्ष रवि सिंह नेतृत्वमा रहेको सोही जुलुस बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोणसभामा बदलिएको थियो । कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले  व्यवसायीहरूको रकम तत्काल भुक्तान गर्न सरकारसँग माग गरे ।

निर्माण व्यवसायीहरूको रकम भुक्तान हुनुपर्ने विषयमा आफूले संसदमै कुरा उठाइसकेको स्मरण गराउँदै शाहीले अब अर्थ समितिमा पनि यो विषय प्राथमिकता सहित उठान गर्ने प्रतिबद्धता जनाए । ‘सरकारले काम लगाएपछि रकम भुक्तानी गर्नैपर्छ, आफ्नो अधिकार पाउनका लागि निर्माण व्यवसायीहरू सडकमै ओर्लनु राज्यकै कमजोरी हो’ शाहीले भने ।

निर्माण उद्योगमा धेरै समस्याहरू रहेको स्वीकार गर्दै शाहीले त्यस्ता समस्या समाधानका लागि सार्वजनिक खरिद ऐनमै संशोधन आवश्यक रहेको बताए । मुलुकको कर्मचारीतन्त्रका कारण पनि निर्माण व्यवसायीहरू मारमा परेको उनको भनाई थियो । महासंघका अध्यक्ष सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गर्नुपरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप