शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
प्रमाणपत्र कीर्ते प्रकरण

अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा परे सांसद सुनील शर्मा

बिहीबार, २५ साउन २०८०, १८ : २९
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेको सांसद डा सुनील शर्मासहितका अभियुक्तहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा राखिएको छ ।

प्रहरीले अप्रेशन ‘फोक्सट्रोट चार्ली’ नाम दिएको यो प्रकरणमा शर्मासहित चार जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए । यद्यपि अप्रेशनका क्रममा थप केही व्यक्ति पक्राउ गरिएको बताइएपनि औपचारिक रुपमा जानकारी गराइएको छैन । 

प्रहरीले कांग्रेस नेता समेत रहेका सांसद शर्मालाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो ।  बिहीबार पक्राउ परेलगत्तै उनलाई सीआईबीको हिरासतमा राखिएको हो । 

मेडिकल व्यवसायी समेत रहेका शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बेलबारी–९ मोरङ स्थायी ठेगाना भएका उनले भारतबाट कक्षा १२ उत्तीर्ण भनि ल्याएको प्रमाणपत्र नक्कली पाइएको सीआईबीले जनाएको छ । सोही प्रमाणपत्रका आधारमा उनले त्यसपछिको अध्ययन गरेको सीआईबीको दाबी छ ।  

सीआईबीले गरेको लामो अनुसन्धानपछि उनको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको पाइएको थियो । त्यसपछि प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो । सीआईबीको अनुसन्धानका क्रममा भारतबाट उनले लिएको प्रमाणपत्र नक्कली भएको जवाफ प्राप्त भएसँगै कीर्ते प्रकरण पुष्टि भएको थियो । 

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले पनि सांसद शर्मालाई कीर्ते अभियोगमा पक्राउ गरिएको पुष्टि गरे । 

सीआईबीको टोलीले उनलाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो । उनीसहित तीन जनालाई पक्राउ गरेको सीआईबीले सबै कीर्ते अभियोगमै मुछिएका व्यक्तिहरु भएको जनाएको छ ।  त्यसमध्ये पक्राउ परेका अर्का व्यक्ति हुन् पिपरा–८ महोत्तरी घर भएका डा रञ्जित कुमार यादव  । उनको पनि १२ कक्षाको सर्टिफिकेट नक्क्लदी र भारतीय भएको खुलेको प्रहरीको भनाइ छ । 

यस्तै त्रिवि शिक्षण अस्पतालका डा अमृत चौधरी पनि पक्राउ परेका छन् । 

पक्राउ परेकाहरुलाई लाजिम्पाटस्थित नेपाल ट्रस्ट रहेको भवनमा राखिएको छ । सीआईबीको कार्यालय महाराजगन्जमा भएपनि सीआईबीले भाडामा लिएर सो स्थानबाट पनि कार्य गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप