शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द

आइतबार, २८ साउन २०८०, १६ : ४६
आइतबार, २८ साउन २०८०

जाजरकोट । सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ । मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको हो ।

बिहानै मौसम नखुल्ने तर दिउँसो १२ बजेपछि उडान गर्न नपाउने गरी नेपाल नागरिक उड्यन प्राधिकरणले यही साउन १३ गते गरेको निर्णयले कर्णालीमा हवाई उडान रोकिएको छ । हवाई मार्ग रोकिए पछि  हिमाली जिल्लाबाट उपचार तथा अन्य कामका लागि  नेपालगन्ज तथा सुर्खेत झर्ने यात्रु मर्कामा परेका छन् । 

नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट, मुगुको ताल्चा र बाजुरामा पनि उडान बन्द भएको छ । त्यस्तै कालिकोट र डोल्पाको मसिनेचौरमा निर्माण भएको विमानस्थलमा अहिलेसम्म जहाजको अवतरण हुनसकेको छैन । वर्षायाममा सडक अवरुद्ध भएकाले  बिरामी लैजान  सबैभन्दा बढी समस्या हुने भएको सर्वसाधारणले बताए । 

मुगुको सोरु गाउँपालिका–८ पानमती रावलको सात महिनाको गर्भ छ  तर उनलाई उपचारका लागि नेपालगञ्ज पुग्न निकै सकस परेको छ । रावलले नेपालगञ्ज जानका लागि आठ दिनसम्म रारा विमानस्थलमा जहाजको पर्खाइमा बिताइन् । त्यस्तै सोरु–८ कै सनिता शाहीले पनि जहाजका लागि विमानस्थलमा जहाज कुर्दा कुर्दा नौ दिन बित्तेको बताइन् । उनलाई बुबाको उपचारका लागि काठमाडौँमा समय मिलाउनुपर्ने बाध्यता छ तर जहाज नआउँदा बुबाको स्वास्थ्य समस्या थपिँदै गएको छ ।  कर्णालीका जिल्लामा अझै पनि भरपर्दो सडक नभएकाले हवाई मागको बिकल्प खोजिनुपर्नेमा  डोल्पाका ठूलिभेरीस्थित जुफालका बालकृष्ण डाँगीले बताए ।

 जुफाल विमानस्थलमा दैनिक जहाजको पखाइँमा ५० भन्दा बढी यात्रु आउने गरे पनि जहाज नआउँदा समस्या हुँदै गएको उनले बताए । प्रविधिको प्रयोग लाइफ क्यामरा, मेट्रोलोजीयन्त्रलगायत प्रविधिको विकासमामा ध्यान नदिई वर्षातको कारण देखाउँदै हवाई उडान बन्द गर्नु नेपाल नागरिक उड्डयन प्राधिकरणको गैर जिम्मेवार भएको पर्यटन व्यवसायीको आरोप थियो ।

हुम्लामा यातायात सेवा अझैँ जोडिएको छैन । डोल्पाको भेरी नदीमा पुल निर्माण नभएका कारण सहजरुपमा यात्रा असम्भव जस्तै छ । ठूलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले ६ दिनसम्म नेपालगन्ज विमानस्थल जहाज कुरेर अन्तिममा भेरी करिडोर हुँदै डोल्पा पुग्नुपरेको बताए ।

नेपालगन्जबाट डोल्पा पुग्दा भारी मात्रामा दुःख भएको उनको भनाइ थियो । उपल्लो डोल्पास्थित डोल्पोबुद्ध–३ याङ्की गुरुङले सात दिन जुफाल विमानस्थलमा कुर्दा पनि जहाज नआउदा आमाको उपचार गर्न नपाएको गुनासो गरिन् । स्थलमार्ग हुँदै नेपालगन्ज जाँदा तीन दिन लागेको र दुःख धेरै पाइएको उनले बताइन् ।

दुर्गम जिल्लामा बिहान मौसम नखुल्ने र मौसम खुल्ने समयमा विमान सञ्चालन नहुने भएकाले यहाँका रारा ,जुफाल र ताल्चा विमानस्थलका लागि यो निर्णय उपयुक्त नभएको रारा विमानस्थलका प्रमुख रोमन भट्टराईले बताए । उनका अनुसार बिहान हुस्सु लाग्ने र ११ बजे मौसम खुल्ने भएकाले हवाई उडान भर्न समस्या हुँदा यहाँका नागरिक मर्कामा परेका छन् । 

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सरकारले जनताको हितका लागि प्रतिकूल हुने नीतिगत व्यवस्थालाई सुधार गर्दै जानुपर्नेमा जोड दिए । प्राधिकरणको यो निर्णयले त कर्णालीवासीको जिउधनको सुरक्षा गर्नेभन्दा पनि थप जटिलता थपेजस्तो भएको छ । यसलाई समन्वय गरी उपयुक्त निर्णयमा पुग्नुपर्छ,’ उनले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप