मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

किम जोङ उन रेलबाटै किन गर्छन् विदेश भ्रमण ?

मङ्गलबार, २६ भदौ २०८०, १० : २८
मङ्गलबार, २६ भदौ २०८०

उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलवार बिहान रुस पुगेका छन् । रिपोर्टका अनुसार किमले रुसी बन्दरगाह सहर भ्लादिभोस्तोकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् ।

सोमबार दक्षिण कोरियाली सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गर्दै किमले विदेश भ्रमणका लागि प्रयोग गर्ने बख्तरबन्द रेल प्योङयाङ छाडेको जानकारी दिएको थियो ।

पुटिन र किमबीच मङ्गलवार भेटवार्ता हुनसक्छ । क्रेमलिनले पनि किमले आगामी दिनमा रुसको भ्रमण गर्ने पुष्टि गरेको छ ।

यदि किम र पुटिनबीच भेटवार्ता भयो भने यो उत्तर कोरियाली नेताको चार वर्षभन्दा बढीमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण हुनेछ । कोरोना महामारीपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

kim jong un1के गर्न रुस जाँदै छन् किम जोङ उन ?

एक अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएससँगको कुराकानीमा पुटिन र किमले युक्रेनमा युद्धका लागि हतियार सम्झौताको सम्भावनाबारे छलफल गर्ने जानकारी दिए ।

सन् २०१९ मा आफ्नो अन्तिम विदेश यात्रामा किम पुटिनसँगको पहिलो शिखर वार्ताका लागि भ्लादिभोस्तोक गएका थिए ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक निःशस्त्रीकरण वार्ता असफल भएपछि उनले भ्रमण गरेका थिए । त्यति बेला उनी रेलबाट भ्लादिभोस्तोक पुगेका थिए ।

यसअघि अमेरिकी राष्ट्रपति कार्यालय र निवास ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै रुस र उत्तर कोरियाबीच हतियारसम्बन्धी वार्ता तीव्र गतिमा अघि बढेको नयाँ जानकारी प्राप्त भएको बताएको थियो ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले यसअघि उत्तर कोरियाको हालैको भ्रमणका क्रममा रुसी रक्षामन्त्री सर्गेई शोइगुले प्योङयाङलाई रुसलाई आर्टिलरी हतियार बेच्न मनाउने प्रयास गरेको बताएका थिए ।

रुसलाई १२२ मिमी र १५२ मिमी गोला चाहिन्छ, किनभने त्यहाँ यसको स्टक घट्दै छ । तर उत्तर कोरियाको रहस्यमय प्रकृतिलाई ध्यानमा राख्दै, यसको पुरा तोपखानाको सूची निर्धारण गर्नु सजिलो काम होइन ।

kim jong un2किम जोङ उनको रुस भ्रमण

किमको रेलमा कम्तीमा २० बुलेटप्रुफ कार पनि राखिएको चर्चा छ । यसले गर्दा यो औसत रेलभन्दा भारी हुनेछ ।

त्यसैले यो ५९ किमी प्रति घन्टा (३७ माइल प्रतिघण्टा) भन्दा बढी गतिमा दौडन असमर्थ हुनेछ । यस्तोमा भ्लादिभोस्तोकको यात्रा पूरा हुन एक दिन लाग्ने अनुमान गरिएको छ ।

किम जोङ उनलाई ११८० किलोमिटरको यो यात्रा पूरा गर्न २० घण्टाभन्दा बढी समय लाग्नेछ । यो रेल भारी बख्तर बन्द सुरक्षाको कारण लगभग ५० किमी प्रति घण्टा को गतिमा चल्छ । लन्डनको हाईस्पीड ट्रेनको गति २०० किलोमिटर प्रतिघण्टा र जापानको बुलेट ट्रेनको गति ३२० किलोमिटर प्रतिघण्टा छ ।

किमको ट्रेनको नाम ताइयाङहो हो । यो शब्द कोरियन शब्द हो जुन सूर्यको लागि प्रयोग गरिन्छ । यसलाई उत्तर कोरियाका संस्थापक किम इल सुङसँग पनि जोडिन्छ ।

रेलबाट लामो दूरीको यात्रा गर्ने चलन किम जोङ उनका हजुरबुवा किम इल सुङले सुरु गरेका थिए । उनी भियतनाम र पूर्वी एसियाली देशहरूमा रेलबाट यात्रा गर्थे ।

किमको लग्जरी ट्रेनको सुरक्षाका लागि ठुलो सङ्ख्यामा सैनिक तैनाथ गरिएको बताइएको छ । उनीहरूले ट्रेनको रुट र त्यसबीच आउने स्टेसनमा बम र अन्य खतराका लागि जाँच–अनुसन्धान गर्नेछन् । 

किम जोङ उनका पिता किम जोङ इलले सन् १९९४ देखि २०११ सम्म उत्तर कोरियामा शासन गरेका थिए । उनी हवाई यात्रासँग डराउने भएकाले आवश्यक परेको बेला रेलमा मात्र यात्रा गर्थे ।

सन् २००१ मा पुटिनसँगको भेटका लागि उनले १० दिने मस्को भ्रमण गरेका थिए । उक्त भ्रमणमा किम जोङ इलसँगै रुसी सैन्य कमान्डर कोन्स्टान्टिन पुलिकोभस्की पनि थिए । उनले आफ्नो संस्मरण ‘ओरिएन्ट एक्सप्रेस’ मा यस रेलको बारेमा विस्तृत जानकारी दिएका छन् ।

kim jong un3किम जोङ उनको रेल

उनले लेखेका छन्, ‘यस रेलमा रुसी, चाइनिज, कोरियाली, जापानी र फ्रान्सेली खानामध्ये कुनै पनि परिकार अर्डर गर्न सम्भव थियो । पुटिनको व्यक्तिगत ट्रेनमा पनि ‘किम जोङ इल’ को ट्रेनजस्तो सुविधा थिएन ।’

उत्तर कोरियाको सरकारी मिडियाका अनुसार किम जोङ इलको सन् २०११ मा रेलको यात्रा गर्ने क्रममा हृदयाघातका कारण मृत्यु भएको थियो ।

नोभेम्बर सन् २००९ मा, दक्षिण कोरियाको रूढिवादी अखबार ‘चोसुन इल्बो’ ले बख्तरबन्द रेलमा करिब ९० सवारी साधन रहेको दाबी गरेको थियो । पहेँलो स्ट्रिपहरू भएको यो हरियो ट्रेनमा कन्फरेन्स रुम, दर्शक कोठा र शयन कक्षहरू पनि थिए । त्यसमा ब्रिफिङका लागि स्याटलाइट फोन र टिभी पनि राखिएको थियो ।

kim jong un4किम जोङ उनको निजी विमान

ट्रेन बाहेक किमलाई लक्जरी यातायातका अन्य माध्यमबाट पनि यात्रा गरेको देखिएको छ । यो उत्तर कोरियाका गरिब जनताको जीवनशैलीभन्दा बिलकुलै फरक छ । किमले स्विजरल्याण्डको बोर्डिङ स्कुलमा पढेका छन् । यस्तो अवस्थामा किम जोङ उनका लागि हवाई यात्रा कुनै नौलो कुरा होइन ।

सत्ता सम्हालेपछि उनले सन् २०१८ मा पहिलो अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्न डालियान सहर गएका थिए । रिपोर्टका अनुसार उनले उत्तर कोरियामा यात्रा गर्न आफ्नो निजी जेट प्रयोग गर्छन् । जुन जहाजमा उनी चीन गएका थिए, त्यो रुसमा बनेको हो । 

किमको यो निजी जेटमा आधुनिक सुविधा दिइएको छ । यसमा उनको काम गरिरहेको र बैठक बसिरहेको तस्बिरहरू आइरहन्छन् । किमकी बहिनी किम यो जोङ सन् २०१८ मा उच्चस्तरीय ओलम्पिक प्रतिनिधिमण्डलसँग दक्षिण कोरिया गएकी थिइन् ।

दक्षिण कोरियाली मिडिया योनहापका अनुसार यो जहाजको पहिचान यसको नम्बर ‘पीआरके–६१५’ ले हुन्छ । यो नम्बर सायद दुई देश बीच सन् २००० मा दस्तखत गरिएको १५ जून उत्तर–दक्षिण संयुक्त घोषणाको प्रतिकात्मक सन्दर्भ हो ।

kim jong un5किम जोङ उनका लग्जरी कारहरू

किमले मार्च २०१८ मा रेलबाट चीनको राजधानी बेइजिङको यात्रा गरेका थिए । तर सहर भित्र यात्रा गर्न उनले आफ्नो मन पर्ने मर्सिडीज बेन्ज एस क्लास प्रयोग गरेका थिए ।

दक्षिण कोरियाली अखबार ‘जोङआङ इल्बो’ का अनुसार यो कार विशेष रूपमा रेलमा लोड गरेर ल्याइएको थियो । अखबारका अनुसार सन् २०१० मा बनेको यो कारको मूल्य करिब दुई अर्ब कोरियन वोन (१.८ मिलियन डलर) रहेको छ ।

किमको यो मन पर्ने मर्सिडीज–बेन्ज एस क्लास मोडेल पनि पानमुनजोममा सन् २०१८ मा भएको अन्तर–कोरियाली शिखर सम्मेलनमा देखियो । यति बेला उनले अङ्गरक्षकसँग सीमा पार गरेका थिए ।

उनको काफिलामा एउटा शौचालय कार पनि समावेश थियो । डेलीएनके, सियोलमा आधारित अखबारले रिपोर्ट गरे अनुसार किमको सशस्त्र गाडीहरूको काफिलामा विशेष रूपमा तयार गरिएको बाथरुम पनि समावेश थियो ।

kim jong un6को हुन् यी रहस्यमय जहाजका मालिक ?

उत्तर कोरियाको सरकारी मिडियाले किमलाई डुङ्गा, पनडुब्बी, बस र स्की लिफ्ट समेत चढेको देखाएको छ।  तर, अहिलेसम्म उनको विदेश भ्रमणमा यस्तो देखिएको छैन ।

सरकारी मिडियाले मे २०१३ मा सेनाद्वारा सञ्चालित माछा मार्ने स्टेसनको उनको भ्रमणको तस्बिरहरू प्रकाशित गर्‍यो । एनके न्युजले पृष्ठभूमिमा एउटा डुङ्गा देख्यो ।

यस डुङ्गा बारे कुनै स्पष्ट पुष्टि हुन सकेको छैन, तर यसको अनुमानित मूल्य करिब सात मिलियन डलर रहेको छ । विलासिताका सामानमा अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद कसरी आयात भयो भन्ने प्रश्न हो । यसको मूल्यलाई ध्यानमा राख्दै धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले किम जोङ उनलाई यसको सम्भावित मालिक बताएको छ ।

सन् २०१५ मा, वाशिंगटनको रेडियो फ्री एसियाले भनेको थियो – एक अनुसन्धानकर्ताले दक्षिण प्योङ प्रान्तमा किमको लेकसाइड निवासमा नयाँ हेलिप्याड पत्ता लगाएको थियो । यी शोधकर्ताले अमेरिकी कोरिया इन्स्टिच्युट अफ जोन हप्किन्स स्कुल अफ एडभान्स इन्टरनेशनल स्टडीजमा काम गरेका थिए । यो हेलिप्याड किम, उनको परिवार र अन्य पाहुनाले प्रयोग गर्ने उनको विश्वास छ ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप