मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
सम्झना

नवप्रवेशी सांसदहरू भन्छन् : सुवास नेम्वाङ हाम्रो गुरुको भूमिका निर्वाह गर्नुहुन्थ्यो

मङ्गलबार, २६ भदौ २०८०, १८ : ०१
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गएराती हृदयघातबाट आकस्मिक निधन भयो । उनको निधनमा सरकारले सार्वजनिक बिदा दिने र राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । 

साथै, उनी आबद्ध पार्टी एमालेले ३ दिनसम्म देशभरका पार्टी कार्यालयमा आधा झण्डा झुकाउने, पार्टीका सबै कार्यक्रमहरु स्थगित गर्ने र असोज २ गते काठमाडौँमा श्रद्धाञ्जलीसभा गर्ने निर्णय गरेको छ । 

दुई पटक संविधान सभाका अध्यक्ष भएका नेम्वाङले लामो समय संसदको नेतृत्वको अनुभव हासिल गरेका थिए । संविधान निर्माणदेखि जारी गर्ने प्रक्रियासम्म उनको महत्त्वपूर्ण भूमिका रहेको थियो । २०५६ सालदेखि हालसम्म भएका सबै संसदीय निर्वाचनमा इलामबाट उनले विजय हासिल गर्दै आएका थिए । 

२०७९ सालको प्रतिनिधिसभाबाट निर्वाचित भएर पहिलो पटक संसदको भूमिकामा रहेका युवा सांसदहरु नेम्वाङले गुरुको झैँ भूमिका निर्वाह गरेको बताउँछन् । 

प्रतिनिधि सभा अन्तर्गतका कानुन, न्याय तथा मानव अधिकार समितिको सदस्य रहेका नेम्वाङले समिति बैठक प्रभावकारी बनाउन, बैठकमा विवादित विषयमा समाधानको लागि उनले गरेको पहललाई सांसदहरुले स्मरण गरेका छन् । उनको निधनले कुशल नेता गुमाउनुको साथै देशलाई अपूरणीय क्षति भएको सांसदहरुले बताएका छन् । नवप्रवेशी सांसदहरू को के भन्छन् ?

इन्दिरा राना, उपसभामुख, प्रतिनिधिसभा  

संसदमा उहासँग संगत गरेको त धेरै भएको छैन । तर, म सन् १९९८ देखि नै म उहाँलाई नजिकबाट चिन्छु । उहाँ अधिवक्ताको रुपमा हुनुहुन्थ्यो ।सभामुख भएको बेलापनि उहाँको धेरै कुराहरु सुन्थेँ । 

महिना दिनअघि धुलिखेलमा भएको एउटा कार्यक्रममा उहाँले भन्नु भएका कुराहरु सम्झिरहेको छु । मेरो लागि उहाँ ठूलो नेता हुनुहुन्छ । उहाँजस्तो अनुभवी, बुद्धिमान व्यक्तिलाई गुमाउनु नेपालको लागि धेरै क्षतिको रुपमा बुझेको छु । उहाँलाई एउटा असल मार्गदर्शक र कुशल नेताको रुपमा लिएको छु । 

ईश्वरी घर्ती, सांसद, एमाले

सुवास नेम्वाङ् एमालेमा रहेपनि उहाँ एउटा पार्टीको मात्र नेता नभई समग्र देशकै अभिभावक नेता हुनुहुन्थ्यो । उहाँसँग छोटो समय सात–आठ महिनामात्र अभिभावकत्व पाइयो । उहाँले जहिले पनि हामीलाई प्रेरणा दिनुहुन्थ्यो । 

प्रतिनिधि सभा सदस्यले जहिलेपनि संविधानको पुस्तक आफ्नो साथमा राखिराख्नुपर्छ । संविधानमा पालना भएका कुराहरुलाई अक्षरश पालना गर्न गराउनका लागि प्रतिनिधि सभा सदस्यको पहिलो दायित्व हो भनेर हामीलाई प्रेरित गर्नुहुन्थ्यो । 

आफ्नो कामप्रति जहिलेपनि लगनशील हुने, कानुनभन्दा बाहिर नजाने, काम गर्दा पार्टीप्रति उत्तरदायी हुने, संविधान र जनताप्रति उत्तरदायी हुनका लागि सधैँ हामीलाई मार्गनिर्देशन दिइराख्नुहुन्थ्यो । मैले मेरो जीवनमा उहाँले भनेका यस्ता कुराहरुलाई आत्मसाथ गर्नेछु । 

व्यावहारिकदेखि विशेष गरी राजनीतिक कुराहरु उहाँबाट धेरै भन्दा धेरै जति सिक्न पाइन्थ्यो, त्यति सिक्न पाइएन । जीवनमा उहाँको धेरै अभाव महसुस भइरहनेछ । 

विमला सुवेदी, सांसद, माओवादी केन्द्र 

उहाँ सबैसँग एकदमै मिलनसार, सरल स्वभावको, भद्र शालीन, संविधान निर्माणमा अत्यन्तै ठूलो भूमिका निर्वाह गर्ने सफल राजनीतिक नेतृत्वको रुपमा हुनुहुन्थ्यो । 

उहाँसँगको मेरो भेटघाट, चिनजान त २०६४ सालदेखि नै हो । त्यो बेला म संविधानसभा सदस्य थिएँ, उहाँ हाम्रो सभामुख हुनुहुन्थ्यो । 

अहिले संसदको कानुन, न्याय तथा मानव अधिकार समितिमा म सभापति हुने बेला उहाँले समर्थन पनि गर्नुभयो । भदौ १९ गतेको बैठकमा पनि उहाँको असाध्यै महत्त्वपूर्ण भूमिका रह्यो । 

हिजो बिहान ९ बजे मात्रै पनि उहाँसँग मेरो महत्त्वपूर्ण छलफल भएको थियो विधेयकहरुको बारेमा, समितिको बैठक कसरी अगाडि बढाउने भन्ने बारेमा, निरन्तर छलफल भइरहेको थियो । 

हिजोको कुराकानीमा उहाँले बिरामी भएको छु, सन्चो छैन । डाक्टरहरुको टिम घरमै आएको, हेर्दै हुनुहुन्छ भन्नुभएको थियो । उहाँले हामी सबै सांसदहरुलाई अभिभावकीय भूमिका निर्वाह गरिरहनु भएको थियो ।  

अब्दुल खान, सांसद, जनमत

संसदमा उहाँसँग धेरै संगत त हुन पाएन । उहाँ शान्त, शालीन, धेरै नबोल्ने, बोल्नु पर्दा स्पष्ट ढंगले ठोस कुरा राख्ने कुशल नेता हुनुहुन्थ्यो । दलका प्रमुख नेताहरुको बैठकमा मैले पनि भाग लिँदा मैले बुझेको, जो नेतासँगपनि प्रष्ट धारणा राख्न सक्ने नेताको रुपमा हुनुहुन्थ्यो । केपी ओलीसँगपनि उहाँले स्पष्ट ढंगले कुरा राखेको मैले पाएको थिएँ । 

शान्त स्वभावको एकजना आँटिलो नेता, चिन्तन मनन गर्ने, बोल्दा छोटो वास्तविक कुराहरु बोल्ने नेताको रुपमा मैले पाएको थिएँ । उहाँजस्तो प्रष्ट वक्ताको रुपमा बोल्ने संसदमा मैले अरु नेता पाएको छैन ।

नागिना यादव, सांसद, नेपाली कांग्रेस 

प्रतिनिधिसभा नियमावली २०६९ को मस्यौदा बनाउने बेलामा हामी एउटै समितिमा थियौँ । त्यो बेला मैले उहासँग काम गर्ने मौका पाएको थिएँ । संविधान निर्माणदेखि नै उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

संसदको कानुन समितिमा उहाँपनि हुनुहुन्थ्यो, म पनि सोही समितिमा छु । उहाँ एकदमै शालीन नेता र काम गर्दा कतै विवादित कुरा भएमा त्यसलाई मिलाउन पहल गर्ने उहाँमा क्षमता थियो । छलफलका क्रममा कुनै मुद्धामा बादविवाद हुन्थ्यो तर सबैका लागि चित्त बुझ्ने गरी साझा मुद्धा बनाएर लैजाने उहाँमा एउटा क्षमता थियो । 

हामीले बैठकपछि कुरा पनि गरेका थियौँ, सुवास नेम्वाङ र रमेश लेखक शालीन, भद्र नेता हुन् । बिग्रिएको कुरामा पनि उहाँहरुले एकदम सकारात्मक रुपमा लिएर टुङ्गोमा पु¥याउन प्रयास गर्ने उहाँको क्षमता रहेको थियो । 

उहाँले कुनैपनि काम कुरा गर्दा पार्टीभन्दा माथि उठेर जनताका लागि गर्नुहुन्थो । संक्रमणकालीन न्यायसम्बन्धी बिधेयकमाथि छलफल गर्दा कन्भिन्स गर्ने क्षमता उहाँको एकदमै राम्रो थियो । उहाँको निधनले एमाले पार्टीलाई मात्र नभएर राज्यलाई ठूलो क्षति पुगेको छ । 

यसरी अघि बढ्नुपर्छ, कानुन भनेको यो हो, कानुनको नौ सिङ हुन्छ, बाह्र सिङ हुन्छ पनि भन्नुहुन्थ्यो । कमा, अर्धविराम, पूर्णविरामले पनि अर्थ राख्छ । त्यसकारण त्यस्ता कुराहरुमा सचेत हुनुपर्छ भनेर उहाँले हामीलाई सिकाउनु हुन्थ्यो । हामी जुनियर सांसदहरुका लागि उहाँले एउटा गुरुको भूमिका निभाउन भएको थियो । 

सोविता गौतम, सांसद, रास्वपा 

राजनीतिमा उहाँको आफ्नैखाले योगदान रहेको छ, त्यसको बारेमा सबैलाई थाहै छ । नेपालको एउटा जुन राजनीतिक जटिलता थियो, त्यसलाई सुल्झाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो । 

मेरो व्यक्तिगत नजरमा पनि उहाँ कानुनलाई शिरोपर गर्ने, कानुनलाई अक्षरशः पालना गर्नुपर्छ, विधिको शासन लागू हुनुपर्छ भन्ने नेता हुनुहुन्थ्यो । 

संविधानसभाको अध्यक्ष भइसकेपछि नेपालमा संविधान जारी गर्दाको क्षण होस् वा अहिलेको संसदीय अभ्यासमा कुनैपनि जटिलता आउँदा होस्, सबैजनाले खोज्ने मानिस भनेको उहाँ नै हुनुहुन्थ्यो । 

युवा पुस्तालाई एकदमै उत्साह दिनुहुन्थ्यो । अब तपाईहरुले नै देश बनाउने हो तर विधिको शासन भन्दा माथि गएर गर्नुहुँदैन । विधिको शासन मान्नुपर्छ भनेर सधैँ ऊर्जा दिनुहुन्थ्यो । 

विशेष गरी नेपालको राजनीतिमा सबै पार्टीलाई एकै ठाउँमा, एकै सुत्रमा जोडेर एउटा संवादको वातावरण सिर्जना गर्न सक्ने, सहजीकरण गर्न सक्ने, त्यसलाई टुङ्गोमा पु¥याउन महत्त्वपूर्ण व्यक्तिको रुपमा सधैँ उपस्थित हुनुहुन्थ्यो । 

उहाँले मलाई प्रायःजसो नम्र बोल्नुपर्छ, नम्र बोलेर संसार जितिन्छ है भन्नुहुन्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप