सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

मुगुको गमगढीमा आगलागी : ४ करोड १९ लाखको क्षति

सोमबार, ०८ असोज २०८०, १० : १९
सोमबार, ०८ असोज २०८०

सुर्खेत । शुक्रबार राति मुगुको सदरमुकाम गमगढीमा भएको आगलागीबाट ४ करोड १९ लाख ६ हजार बराबरको आर्थिक क्षति भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाको अध्यक्षतामा आइतबार बसेको विपद् समितिको बैठकमा प्रस्तुत प्रहरीको रिपोर्ट अनुसार आगलागीमा जलेका घरका धनी, विभिन्न व्यवसाय गर्दै आएका व्यवसायी र घर बहालमा बस्नेहरूबाट लिएको मालसामानहरूको सूचना र बजार मूल्य विश्लेषण गरेर अनुमानित क्षतिको विवरण निकालिएको हो । 

३ लाख २२ हजार ३ सयको खाद्यान्न र आइफोन मोबाइल, ११ लाख भन्दा बढीको फेन्सी सामाग्री, ५० हजारका भाडावर्तन, लत्ताकपडा, १ लाख ५० हजार बराबरको घरको छतको सबै फ्रेम र माथिल्लो तलाका झ्यालहरूमा क्षति भएको विवरणमा उल्लेख छ । ४ करोड २ लाख ५४ हजार ६१० रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ भने १६ लाख ५२ हजार ३ सय बराबरको सामानहरू हराएको प्रहरीको रिपोर्ट छ ।

आगलागीबाट ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । यस्तै ३ वटा घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट २८ परिवारका ९५ जना प्रभावित भएको बताइएको छ । आगलागीबाट क्षति भएका घरहरूमा विभिन्न व्यवसाय गर्दै आएका ९ जना व्यवसायीका पसल र घरभाडामा बस्दै आएका ११ जनाको सामान तथा लत्ताकपडा पनि जलेर खरानी भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

आगलागी भएपछि झ्यालबाट हाम फालेर भाग्दा राष्ट्रिय लोक दोहोरीकी मुगु जिल्ला कोषाध्यक्ष गायिका स्वस्तिका शाही घाइते भएकी छिन् । उनको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । आगलागीबाट पीडित परिवारलाई विभिन्न सरकारी तथा गैरसरकारी संघ/संस्था, कार्यालयहरूले आर्थिक तथा जिन्सी राहत सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

थापाका अनुसार पीडित परिवारलाई हिरिन्डेक नेपाल मुगुले व्यक्तिगत तथा घरायसी सरसफाइका सामग्री, छाया नेपालले खाद्यान्न, यूएमएन क्लस्टरले आगलागी भएका घरधनीलाई ३ लाख रुपैयाँ बराबरको सहयोग, कर्णाली सामुदायिक विकास केन्द्रले २ लाख बराबरको सहयोग र हिरिन्डेकले ५० हजार बराबरको सहयोग गरेको छ ।

यस्तै साहस नेपालले प्रतिघर ७ हजारसम्मको खाद्यान्न सहयोग गर्ने र आइएनएफ मुगुले जिल्ला विपत् समितिको सहयोग आग्रह केन्द्रमा पठाई केन्द्रको निर्णयअनुसार पीडित परिवारलाई सहयोग गर्ने बताएको छ । यद्यपि प्रदेश र स्थानीय सरकारहरूले भने अहिलेसम्म कुनै सहयोगको घोषणा गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप