आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ नागरिकलाई घुमफिरका लागि शुक्रबारदेखि आठ दिन छुट्टी

शुक्रबार, १२ असोज २०८०, ०९ : ४२
शुक्रबार, १२ असोज २०८०

चीन । जन गणतन्त्र चीनमा शुक्रबारदेखि आठ दिन लामो छुट्टी सुरु भएको छ । शुक्रबार चिनियाँहरुको राष्ट्रिय पर्व ‘मीट अटम फेस्टिबल’ हो । आजको दिन चिनियाँहरुले चन्द्रमा अंकित ‘मुन केक’ आफ्ना परिवार इष्टमित्र सदस्यहरुलाई दिने र लिने चलन छ ।

शनिबार र आइतबार नियमित छुट्टी हो । सोमबारदेखि बुधबारसम्म तीन दिन चिनियाँ राष्ट्रिय दिवसको छुट्टी छ । बिहीबार र शुक्रबार सापटी बिदा मिलान हुने गरी चीन सरकारले नागरिकहरुलाई यस पटक आठ दिनको छुट्टी दिएको हो ।

सन् १९४९ अक्टोबर १ तारिख जनवादी गणतन्त्र स्थापना भएको दिन हो । सोही दिन चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सञ्चालन गर्न थालेपछि नयाँ चीन स्थापना भएको मानिन्छ । राष्ट्रिय दिवसको अवसरमा देशभर राष्ट्रिय झण्डाले सजावट गरिएको छ ।

यस पटक बिहीबार र शुक्रबारको छुट्टीको सापटी काम आगामी शनिबार र आइतबार अर्थात् ७ र ८ अक्टोबर सरकारी कार्यालय र विश्वविद्यालय सञ्चालन हुने सूचना जारी गरिएको छ ।

यति लामो बिदामा चिनियाँहरु घुमफिरमा जाने गर्दछन् । चीनमा हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने गर्दछ । त्यसबाहेक चिनियाँ नयाँ वर्षमा तीन दिन, पुर्खा दिवसमा एक दिन, श्रमिक दिवसमा एक दिन, ड्रागन ढुङ्गा दिवसमा एक दिन, मध्य शरद चाडमा एक दिन, राष्ट्रिय दिवसमा तीन दिन र अन्तर्राष्ट्रिय नयाँ वर्षमा एक गरी जम्मा ११ दिन सार्वजनिक बिदा हुने गर्दछ ।

तर चीनमा सार्वजनिक बिदा हुने दिनमा अगाडि र पछाडिको दिनमा सापटी बिदा मिलाएर नागरिकलाई अन्तरिक पर्यटनमा प्रोत्साहनका लागि सन् २०१४ देखि यस्तो सापटी बिदाको चलन सुरु गरेको हो ।

सापटी बिदाले चिनियाँ अर्थतन्त्रमा निकै ठूलो प्रभाव पारेको छ । चिनियाँहरु पछिल्लो समयमा अर्थतन्त्र मजबुत भएपछि घुमन्ते भएका छन् ।

गत मे महिनामा मजदूर दिवसको अवसर पारेर पाँच दिनको छुट्टीमा २७ करोड नागरिकले चीन घुमेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । चिनियाँ सञ्चारमाध्यमले यो आठ दिनको बिदामा ५० करोडभन्दा बढी मानिस आन्तरिक पर्यटनमा जोडिने अनुमान गरिएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा यो सप्ताहको बिदामा अर्थतन्त्र चलायमान हुने आशा गरिएको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक वृद्धि, अन्तरिक पर्यटन र स्थानीय व्यापार व्यवसायका लागि यस्तो बिदाको नियम ल्याएको हो ।

चीनमा दिइने ११ दिने विभिन्न बिदा सार्वजनिक बिदाको दिनमा परेमा त्यस हप्ताको सोमबार पनि बिदा दिने गरिन्छ । तर सोमबारको बिदाको काम सोही हप्ताको अगाडि पछाडिको शनिबार काम गर्नु पर्दछ । बिदालाई लामो बनाउन र नागरिकलाई घुमफिरमा उत्साह होस् भनेर यो नियम चीनभर लागू छ ।

एक अर्ब ४० करोड जनसंख्या रहेको चीनमा २३ वटा प्रान्त, ५ वटा स्वायत्त प्रदेश, ४ वटा केन्द्र शासित सहर र २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । त्यसमध्ये मंगोलिया, सिन च्याङग युगुर, क्वाङ्ग सि च्वाङ्ग जातीय, निङ्ग स्या ही जातीय र तिब्बत स्वायत्त प्रदेश छन् । केन्द्र शासित सहर राजधानी बेङजिङ, शाङ्गहाई, थ्येनचिङ र छोङछिङ छन् ।

चीनमा हङकङ र मकाउ २ वटा विशेष प्रशासनिक क्षेत्र र ३४ वटा प्रान्तीय स्तरका प्रशासनिक अंग छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप