आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

केयुकेएलमा कर्मचारीको मनोमानी सरुवा गरिएको भन्दै सीईओ कार्कीलाई हटाउन माग

बुधबार, २४ असोज २०८०, ०८ : ३१
बुधबार, २४ असोज २०८०

काठमाडौं । आधिकारिक ट्रेड युनियनले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)मा मनोमानी ढंगले कर्मचारी सरुवा भएको भन्दै आपत्ति जनाएको छ । केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रबहादुर कार्कीले श्रम ऐन तथा ट्रेड युनियन ऐन विपरीत एकपक्षीय रुपमा कर्मचारीको सरुवा गरेको ट्रेड युनियनले आरोप लगाएको हो ।

अधिकृत कार्कीले केयुकेएलका कर्मचारीको दरबन्दी तथा सरुवा नीति विपरित कम्पनीको दैनिक कार्यमा समेत प्रभावित हुने गरी ठुलो संख्यामा सरुवा गरेको आधिकारिक ट्रेड युनियनका संयोजक केशव अधिकारीले बताए । 

कम्पनीको नीतिगत सुधार र कर्मचारीको पेशागत हकहितको लागि व्यवस्थापनसँग ट्रेड युनियन प्रतिनिधिहरु वार्ताको टेबुलमा बसिरहेको अवस्थामा अधिकृत कार्की हठात रूपमा स्वेच्छारी, विभेदपूर्ण, मनोमानी र पूर्वाग्रहि ढंगले अगाडि बढेकोमा उनको आपत्ति छ । 

कम्पनीको साखमा हास आउने तथा असर पर्ने गरी गरिएको सरुवाप्रति आधिकारिक ट्रेड युनियन असहमति रहेको अधिकारीले बताए । 'कम्पनीलाई असर गर्ने कर्मचारीको सरुवा, बढुवा तथा नियुक्तिका विषयहरु खुल्ला प्रतिस्पर्धाबाट ४ वर्षको लागि टीओआरसहित नियुक्त भई बहाल हुने कार्यकारीको अधिकार हो, अस्थायी प्रकृतिको कार्यकारीको होइन,' उनले भने, 'विभागीय प्रमुख, महाशाखा प्रमुख शाखा कार्यालय प्रमुख, लेखा र प्रशासन फाँट प्रमुख लगायत कर्मचारीको कार्य विवरण तोक्ने, जिम्मेवारी हेरफेर गर्ने, काज खटाउने  फिर्ता गर्ने र सरुवा गर्ने विशेषाधिकार नयाँ नियुक्ति भई आउने कार्यकारीको हो ।' 

केयुकेएलले नयाँ प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान गरिसकेको हेक्का नराखि अधिकृत कार्कीले गरेको स्वेच्छाचारी र मनोमानी सरुवा सच्याउन उनको माग छ । यस्तै आधिकारिक ट्रेड युनियनका सह-संयोजकनवल सिंह साउदले आफ्नो अस्तित्वलाई स्विकार गरिए अन्दोलना उतिर्ने बताए ।

खुल्ला प्रतिस्पर्धाबाट आउने कार्यकारी प्रमुखको विज्ञापन हुनुपूर्व रातारात गरिएको सरुवा पूर्ण रूपमा पूर्वाग्रह रहेको साउदको दाबी छ । 'एउटै नीतिले केही कर्मचारीको सरुवा गरिएको, केहीलाई नगरिएको, कसैलाई अपायक हुने गरी सरुवा गरिएको, अनिवार्य अवकाश हुनु एक वर्ष भन्दा कम सेवाअवधि बाँकी भएको कर्मचारीलाई समेत सरुवा गरिएको देखिएकोले तत्काल सच्याउन जोडदार माग गर्दछौँ,' उनले भने ।

सरुवा सम्बन्धमा आधिकारिक ट्रेड युनियनले दिएको सुझाव कार्यान्वयन नगरिएमा कार्यकारी प्रमुख कार्कीलाई जिम्मेवारीबाट हट्न उनको माग छ । 'कार्यकारी प्रमुख तत्काल नहटेमा सञ्चालक समितिले हटाई सञ्चालक समिति सदस्यबाटै कार्यकारी प्रमुखको जिम्मेवारी सहित कम्पनी सञ्चालन गर्न माग गर्दछौँ,' संयोजक अधिकारीले भने । सिइओ कार्कीले अब राजतन्त्र आउँछ भन्दै राजनीतिक दलका नेतामाथि आपत्तिजनक अभिव्यक्ति दिँदै हिड्ने गरेको केयुकेलका कर्मचारीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप