आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

बेलायत जान १०० जना नर्सको माग हुँदा ७५ जनाको आवेदन योग्य

सोमबार, १३ कात्तिक २०८०, ०७ : ४८
सोमबार, १३ कात्तिक २०८०

काठमाडौं । रोजगारीका लागि बेलायत जान मागभन्दा कम आवेदन परेको छ । बेलायतका लागि १०० जना नर्स (हेल्थ केयर एसिस्टेन्ट अर्थात् स्वास्थ्य सेवा सहायक) को माग गरिएको थियो । तर, योग्य आवेदन भने ७५ जनाको मात्रै परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार व्यवस्थापन शाखाका अधिकृत धनन्जयकुमार शाहले ७५ जनाको आवेदनको मात्रै मापदण्ड पुरा भएको बताए । आवेदनका लागि ७७१ जनाले अनलाइन फारम भरेका थिए । तर, ७५ जनाले मात्रै आवेदनका लागि आवश्यक पर्ने मापदण्ड अनुसारको कागजात पेश गरेको उनको भनाई छ । 

यसरी। अक्टोबर १९ तारिखसम्म तीन महिना लामो समय तोकेर आह्वान गरिएको आवेदनमा न्यून संख्यामा मात्र आवश्यक कागजातसहित सबमिट गरेका हुन् । 

नेपाल र बेलायतबीच नेपाली नर्सहरूलाई रोजगारीका लागि लैजाने गरी समझदारी भएको थियो । सोहीअनुसार सरकारले गत जुलाई २० तारिखममा आवेदन माग गरेको थियो । 

तोकिएको अवधिमा सबै कागजपत्र र मापदण्ड पूरा गरेर आवेदन फारम बुझाउनेको संख्या १०० पनि नपुग्दा अब के गर्ने भन्नेमा मन्त्रालयले केही निर्णय गर्न सकेको छैन । 

रजिष्ट्रेशन गरेकालाई थप समय दिइने  

अनलाइनमार्फत् रजिष्ट्रेशन गरेकाहरूलाई आवश्यक कागजात सबमिट गर्नको लागि थप समय दिन सकिने अधिकृत शाहले बताए । 

‘पुरै आवेदन गर्नका लागि थप समय दिइदैन । जसले अनलाइनमार्फत् आफ्नो नाम रजिष्ट्रेशन गरेका छन्, तिनलाई आवश्यक पर्ने कागजात पेश गर्न समय दिइन्छ । त्यो प्रक्रिया पुरा भएपछि छनौट चरणको अर्को प्रक्रिया सुरू गर्छौ ।’ अधिकृत शाहले भने । 

नर्सहरूको छनोट प्रक्रियामा बेलायतको सम्बन्धित निकायहरूसमेत सामेल छन् । जसले गर्दा उनीहरूसँग छलफल गरेर मात्र निर्णय गरिने उनको भनाई छ । यो प्रक्रिया चाँडै हुने बताए । 

किन पर्‍यो कम आवेदन ? 

सरकारले आवेदन आह्वान गरेसँगै आवेदन दिनेहरूको उत्साहजनक सहभागिता थियो, जसले गर्दा १०० जनाको माग हुँदा ७७५ जनाले अनलाइन रजिष्ट्रेशन समेत गरे । तर, तोकिएको मापदण्ड अनुसारको आवश्यक पर्ने कागजात पेश नगर्दा अहिलेलाई योग्य आवेदन ७५ जनाको मात्रै देखिएको शाहले बताए । 

आवेदनका लागि मापदण्ड अन्तर्राष्ट्रिय स्तरकै बनाइएको छ । जसले गर्दा कम आवेदन परेको हुन सक्ने सरकारी अधिकारीहरूको अनुमान छ । आवेदनका लागि कम्तीमा दुई वर्षको कार्य अनुभव भएको र अंग्रेजी भाषा परीक्षाको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । 

आवेदन कम पर्नुका प्रमुख कारणमा उच्च स्कोरको भाषा परीक्षा, २ वर्षको कार्यानुभव लगायतका कारण हुने सक्ने शाहले बताए । 

अंग्रेजी भाषा परीक्षा अक्युपेशनल इङ्लिश टेस्ट (ओईटी) मा ‘बी’ ल्याएको हुनुपर्छ । त्यस्तै, इन्टरनेशनल इङ्लिश ल्याङ्विज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा सात अंक ल्याउनुपर्छ । 

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालले तोकिएको मापदण्डका कारण कम आवेदन परेको हुन सक्ने बताए । 

‘कतिपयको अनुभव दुई वर्ष पुग्न केही महिना बाँकी छ । कतिपयले आईईएलटीएसमा कम अंक ल्याएकाले फारम नबुझाएका हुन सक्छन् । मापदण्ड अलि विशिष्ट खालको देखिन्छ । जसले अलि गाह्रो भयो होला’ उनले भने । 

समझदारीअनुसार नर्सहरूले आईईएलटीएसमा राइटिङमा ६.५ तथा रिडिङ, लिस्निङ र स्पिकिङमा ७ अंक ल्याउनुपर्ने मापदण्ड छ । 

त्यस्तै, अक्युपेशनल इङ्लिश टेस्ट (ओईटी) का लागि भने बी ग्रेडको व्यवस्था गरिएको छ । जसमा रिडिङ, राईटिङ र लिस्निङमा बी ग्रेड तथा राईटिङमा सी ग्रेड ल्याउनुपर्ने मापदण्ड रहेको छ । 

मापदण्ड निकै भाष्ट भएकाले आवेदन बुझाएका अधिकांशको आवेदन सबमिट हुने अवस्था नरहेको अधिकृत शाहले बताए । 

अबको प्रक्रिया के ? 

अब परेका आवेदनहरूमाथि थप छनौटको प्रकरण अघि बढ्नेछ । नेपालले ब्रिटेनको डिपार्टमन्ट अफ हेल्थ एन्ड सोसल केअर (डीएचएससी) मा आवेदकहरूको विवरण पठाउने छ । त्यसपछि डीएचएससीले नर्सहरूको योग्यता, क्षमता र अनुभवको आधारमा मूल्याङ्कन गरेर सूची बनाउनेछ र त्यो नेपाल पठाउनेछ । 

त्यही सूचीको आधारमा वैदेशिक रोजगार विभागमार्फत् अन्तर्वार्ता हुनेछ । अन्तर्वार्ताबाट छनोट भएकाहरू बेलायत जान पाउने अधिकृत शाहले बताए । 

अन्तर्वार्ताका लागि डीएचएससीका प्रतिनिधिहरूसमेत सहभागी हुनेछन् । वैदेशिक रोजगार विभाग र डीएचएसीका प्रतिनिधि भएको टोलीले अन्तर्वार्ता लिने उनको भनाई छ । 

छनोट भएर गएका नर्सहरूले बेलायतमा सुरुमा असिस्टेन्ट (सहायक) का रूपमा काम गर्नेछन् । त्यसपछि बेलायतको नर्सिङ काउन्सिलमा दर्ता हुने अवसर पाउनेछन् । नर्सहरूले सुरुदेखि नै बेलायत सरकारको नियमानुसार पारिश्रमिक पाउनेछन् । 

तीन महिने तालिमबाट योग्य बनेपछि मात्र नेपाली नर्सहरूले त्यहाँका स्वास्थ्य संस्थामा काम गर्न पाउनेछन् । यो सबै छनौट प्रक्रिया डिसेम्बरसम्ममा सकिने र त्यसपछि जान पाउने अधिकृत शाहले बताए । 

सम्झौताअनुसार बेलायतमा काम गर्न जाने नर्सहरूले न्यूनतम मासिक तलब ‘पर ब्यान्ड ४’, लेभल २ अनुसार पाउनेछन् । त्यो भनेको मासिक २ हजार ३६७ पाउन्ड न्यूनतम तलब हो । त्यो वार्षिक २८ हजार ४०४ पाउन्ड (४५ लाख ७७ हजार भन्दा बढी) हुनेछ ।  

नेपाली नर्सहरूले श्रम सम्झौताअनुसार बेलायतमा पाँच वर्ष काम गर्न पाउनेछन् । त्यसपछि उनीहरू नेपाल फर्कनु पर्नेछ । नेपाल र बेलायतबीच भएको समझदारीअनुसार शून्य लागतमा नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीको लागि पठाउन खोजिएको हो । 

बेलायतले नेपालबाट धेरै नर्सहरूलाई रोजगारीको लागि माग गरेको थियो । तर, पहिलो चरणमा पाइलट प्रोजेक्टको रूपमा १०० जना मात्रै पठाउन लागिएको हो । पहिलो चरण सफल भएमा र बेलायत गएका नेपालीहरूको प्रफर्मेन्स राम्रो भएको खण्डमा दोस्रो चरणमा थप नर्सहरू पठाउने योजना सरकारको छ । 

नेपाली नर्सहरू माग गरेको बेलायतले नेपालमा नै नर्स उत्पादनका लागि सहयोग गर्नेछ । समझदारीअनुसार नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धिका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको हो । 

अधिकृत शाहले समझदारीअनुसार नै बेलायत सरकारले नेपाली नर्सहरूलाई लैजाने मात्र नभई अन्य सहयोगसमेत गर्न लागेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप