मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

चिसोमा शिशु र बालबालिकामा देखिन सक्छ यस्ता समस्या, कसरी गर्ने हेरचाह ?

शुक्रबार, ०८ मङ्सिर २०८०, ०६ : १६
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । जाडो मौसम सुरु भएसँगै शिशु तथा बालबालिकामा स्वास्थ्य सम्बन्धी अनेक खालका समस्या देखिने बालरोग विशेषज्ञहरू बताउँछन् ।

अन्य उमेर समूहका मानिसलाई स्वास्थ्य समस्या देखिनासाथ प्रकट गर्न सक्छन् । तर, नवजात शिशु तथा बालबालिकाले आफ्ना स्वास्थ्य समस्या व्यक्त गर्न नसक्ने भएकाले चिसो मौसममा उनीहरूको स्वास्थ्य अवस्थाबारे अभिभावकले थाहा नपाएको खण्डमा जटिल रुप लिन सक्ने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका बालरोग विशेषज्ञ, नवजात शिशु विभागका प्रमुख डा. कल्पना उपाध्याय सुवेदी बताउँछिन् ।

चिसोमा यस्ता समस्या देखिन्छन्

डाक्टर सुवेदीका अनुसार बालबालिकालाई चिसोका कारण रुघा लाग्ने, निमोनिया, दम, ज्वरो लगायतले सताउन सक्छ । चिसोमा नवजात शिशु अनि बालबालिकालाई संक्रामकजन्य रोगले सताउन सक्ने उनको भनाइ छ ।

यस मौसममा बालबालिकालाई भाइरल इन्फेक्सन बढी हुनुका साथै ब्रोन्काइटिस रोगसमेत लाग्ने सम्भावना रहने उनले बताइन् । निमोनियाको जस्तो लक्षण देखिने भएकाले सचेत हुनुपर्नेमा उनले जोड दिइन् ।

ब्रोन्काइटिस हुँदा अलिअलि ज्वरो आउने, मौसमी फ्लुका कारण धेरैलाई साधारण खालको रुघाखोकी लाग्न सक्ने डा. सुवेदीको भनाइ छ । यस समयमा ज्वरो आउने, छाती घ्यारघ्यार हुने, श्वासनलीमा इन्फेक्सन हुने जस्ता समस्या देखिन सक्ने उनले बताइन् ।

यस्तै, यस मौसममा कुनै बालबालिकालाई दम छ भने चिसोका कारणले दम बढ्न सक्ने डा. सुवेदी बताउँछिन् । उनका अनुसार जवजात शिशु तथा बालबालिकालाई जाडो महिनामा भाइरल डाइरिया पनि हुन सक्छ । बालबालिकालाई भाइरल इन्फेक्सन भनेर अभिभावले ठान्दा ब्यक्टिरियल इन्फेक्सन हुन सक्ने उनले बताइन् ।

शिशु र बालबालिकालाई यसरी हेरचाह गरौँ

चिसो मौसममा न्यानो लुगा लगाइदिने गरिन्छ । नवजात शिशु तथा बालबालिकालाई चिसो नलागोस् भनेर धेरै लुगाले लपेट्दा पसिना आएर झन् बढी चिसो हुने बालरोग विशेषज्ञ डा.सुवेदीले सुनाइन् ।

उनीहरूलाई एउटा मात्रै मोटो न्यानो लुगा लगाइदिन भन्दा दुई तीन वटा तहमा लुगा लगाइदिन उनको सुझाव छ । ‘तह तहमा लुगा लगाइदिँदा हावा खेल्न पाउँछ, जसले गर्दा पसिना आउँदैन,’ उनले भनिन् ।

शिशु तथा बालबालिकालाई न्यानो घाममा पनि खेल्न दिनुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘उनीहरु जति राम्रो खेल्छन्, त्यति राम्रो निद्रा लाग्छ । निदाउँदा उनीहरू स्वस्थ हुन्छन् भने न्यानो भएर सुत्दा चिसोबाट जोगिन्छन् ।’

नवजात शिशुले लुगामा पिसाव फेरेका छन् भने चाँडै लुगा फेरिदिनुपर्ने उनको भनाइ छ । टाउको अर्थात् तालु खुला नराख्न र टोपी तथा मोजा नियमित लगाइदिन उनको सुझाव छ ।

यस्तै, नवजात शिशुलाई सकेसम्म आमासँगै टाँसेर राखेमा चिसो कम लाग्ने डा. सुवेदी बताउँछिन् । पटक–पटक स्तनपान गराउँदा शिशुलाई न्यानो राख्न सहयोग हुने उनको भनाइ छ ।

बिहानको न्यानो घाममा एकदेखि डेढ घण्टा राख्ने र बालबालिकालाई नियमित खेल्न दिएमा भिटामिन डी पाउने उनले बताइन् ।

यस्तै, ६ महिनासम्म बच्चालाई नियमित रुपमा आमाको दूधमात्रै खुवाउन उनको सुझाव छ । स्तनपानले शिशुको रोग प्रतिरोधात्मक क्षमता राम्रो हुने उनले बताइन् । ६ महिनापछि बच्चालाई आमाको दुधसँगै अन्य पौष्टिक तत्वयुक्त खानेकुरा खुवाउन, मनतातो झोलिलो पदार्थहरू प्रशस्त मात्रामा खुवाउन उनको सुझाव छ ।  

बच्चालाई स्वास्थ्य समस्या छ भने उनीहरूलाई  भिडभाड भएको स्थानमा नलैजान डा. सुवेदी सुझाव दिन्छिन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिकालाई भिडभाडमा लगिएमा अन्य संक्रमणजन्य रोगले आक्रमण गर्न सक्ने उनको जिकिर छ ।   

शिशु तथा बालबलिकामा स्वास्थ्य समस्या देखियो भने तत्काल स्वास्थ्य संस्था पु¥याएर भाइरल इन्फेक्सन वा ब्याक्टेरिया हो भन्ने पत्ता लगाउन जरुरी हुने उनको भनाइ छ ।

चिसो लागेको कसरी थाहा पाउने ?

नवजात शिशुको हात, खुट्टा र ढाड चिसो भएमा सिताङ्ग हुन्छन् । उनी भन्छिन, ‘सिताङ्ग हुनु भनेको सिभिएर हुने भयो ।’

उनका अनुसार बच्चाहरूलाई अलिअलि ज्वरो आउने, नाकबाट सिंगान बाग्ने, श्वासप्रश्वासमा समस्या हुने, खोकी लाग्ने, घाँटी खसखस लाग्ने, श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने कोखा हान्ने हुन सक्छ ।

भाइरल डायरिया भएमा ज्वरो अलिअलि आउने र पटक पटक दिसा आउने  हुन्छ । पटकपटक पातलो दिसासँगै रगत आएमा ब्यक्टिेरियाका कारण हुन सक्छ । भाइरल संक्रमण हुँदा रगत आउँदैन तर ब्यक्टिेरिया संक्रमण हुँदा पातलो दिसामा रगत आउन सक्छ । यस्तै, बच्चालाई दम भएमा श्वास फेर्न गाह्रो हुन्छ ।

डा. सुवेदीका अनुसार भाइरल इन्फेक्सन हुँदा बच्चाहरूको शरीर दुखेको हुन्छ । टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकीजस्ता लक्षण देखिए भाइरल इन्फेक्सन हुन सक्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप