आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
मुगु सामूहिक हत्या प्रकरण

मुगु सामूहिक हत्याकाण्डः वीरेन्द्रनगरको बाँस घारीमा फेला पर्‍यो श्रीदेवीको मोबाइल

लुटेको गरगहना बिक्री गरिएको पसलमाथि पनि अनुसन्धान
बुधबार, २० मङ्सिर २०८०, १९ : ०९
बुधबार, २० मङ्सिर २०८०

सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दु गाउँमा भएको सामूहिक हत्याकाण्डमा प्रहरीले थप तथ्य फेला पारेको छ । हत्यामा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको करिब आधा महिनापछि मृतक श्रीदेवी बोहोराले प्रयोग गर्दै आएको मोबाइल पत्ता लागेको हो ।

अनुसन्धानमा सक्रिय एक अधिकृतले रातोपाटीलाई दिएको जानकारी अनुसार उक्त मोबाइल सोमबार बिहान सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–५, चिसापानीको एउटा बाँसको झाङमा भेटिएको हो ।

पक्राउ परेका दुई मध्येका गोर्खबहादुर शाही ‘काले’लाई उपचारको क्रममा सुर्खेत ल्याइएको थियो । त्यही क्रममा सोधपुछ गर्दा मोबाइल फालेको स्थानबारे जानकारी दिएका थिए । सोही आधारमा त्यहाँ पुग्दा मोबाइल भेटिएको ती अनुसन्धान अधिकृतले बताए ।

उनका अनुसार अहिले मोबाइलमा के कुराहरु भएको थियो भन्ने विषयमा ल्याबमा टेन्ट गर्ने लगायतका काम भइरहेको छ ।

कात्तिक ८ गते मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज बोहरा, ८ महिनाका अर्का छोरा रहर बोहरा र ८ वर्षीय छोरी अप्सरा बोहराको हत्या भएको थियो ।

कात्तिक १० गते बिहानमात्रै चार जनाकै शव घरभित्रै भेटिएको थियो । प्रहरीले घटनामा संलग्न सोही नगरपालिकाको–७, पिना घर भई हाल बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही ‘काले’ र मन्दु गाउँकै ३१ वर्षीय गोपालबहादुर बोहोरालाई पक्राउ गरेको थियो ।

प्रहरीले शाहीलाई कार्तिक २० गते सुर्खेत, वीरेन्द्रनगरको पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो भने बोहोरालाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

धारिलो हतियारबाट टाउको र घाँटीमा प्रहार गरी हत्या गरिएको अवस्थामा श्रीदेवीसहित छोराछोरीको शव भेटिएको थियो ।

हत्या भएको साँझ कतारमा रहेका श्रीमान् दीपक बोहोरासँग श्रीदेवीले भिडिओ कल गरिरहेकी थिइन् । तर, हत्याराले उक्त मोबाइलसमेत लगेका थिए भने त्यसपछि श्रीदेवीसहित छोराको तस्बिर दीपकलाई पठाएको पनि अनुसन्धानबाट खुलेको थियो । तर, मोबाइल भने पत्ता लागेको थिएन ।

मोबाइल पत्ता लागेसँगै घटनाको अनुसन्धान अगाडि बढाउन थप सहज हुने प्रहरीको भनाइ छ । आफन्त पर्ने गोपालबहादुर बोहोराको डिजाइनमा उक्त हत्या भएको बताइएको छ । श्रीदेवीका श्रीमान् दीपकले कतारको भिसा नपठाइदिएको रिसमा सामूहिक हत्या भएको निष्कर्ष प्रहरीको छ ।

यद्यपि उक्त घटना गोपालकी आमासँग पनि आएर जोडिएको ती अनुसन्धान अधिकृतको भनाइ छ । गोपालकी आमा र मृतक श्रीदेवीबिचको आपसी मनमुटावको कुराहरु भएको पनि अनुसन्धानबाट खुलेको छ ।

गोपाल र गोर्खबिच श्रीदेवी बोहोरासँग भएको १०÷१२ तोला सुन र नगद रुपैयाँ लुटपाट गर्ने सल्लाह भएको थियो । सोही अनुसार लुटिएको सुन गोर्खबहादुरले बिक्री गरेको पसल पनि प्रहरीले पत्ता लगाएको छ ।

ती अनुसन्धान अधिकृतका अनुसार नेपालगन्जको कुनै एक पसलमा सुन बिक्री गरिएको रहेछ । उक्त विषयमा पनि अहिले अनुसन्धान भइरहेको उनले बताए ।

घटनाको अनुसन्धानमा प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मा लगायतको टोली सक्रिय छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप