बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
संसदीय समिति

एनसेल प्रकरणमा मंसिर २५ गते प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने समितिको निर्णय

शुक्रबार, २२ मङ्सिर २०८०, २१ : ००
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले प्रधामन्त्री प्रचण्डलाई बोलाएर एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छलफल गर्ने निर्णय गरेको छ ।  शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिए । 

उक्त बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकबारे पनि प्रधानमन्त्रीसँग छलफल हुनेछ । यस्तै मंसिर २७ गते प्रधानसेनापतिलाई समितिमा बोलाउने पनि निर्णय भएको छ । उक्त बैठकमा प्रधानसेनापति प्रभुराम शर्मासँग फास्ट ट्रयाकबारे छलफल हुने खतिवडाको भनाइ छ । यस्तै नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्ने पनि समितिको भनाइ छ । 

यसअघि बैठकमा सदस्यहरुले विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए । सांसद राजेन्द्र पाण्डेले एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर सोधपुछ गनुपर्ने बताएका थिए । प्रशासनिक र राजनीतिक मिलेमतोबिना एनसेल काण्ड नहुने भएकाले प्रधानमन्त्रीसँग समितिले सोधपुछ गर्नुपर्ने उनको भनाइ थियो । 

यसैगरी सांसद गगन थापाले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समिति माथि यो समितिले छानबिन गर्नुपर्ने बताए । एनसेल प्रकरणमा ठुलै भ्रष्टाचार भएको दाबी थापाको थियो । ‘सरकारले बनाएको समितिले चोख्याउने वा कारबाही के गर्छ भनेर यो समितिले नजिकबाट नियाल्नुपर्छ’  कांग्रेस महामन्त्री समेत रहेका थापाले भने ।

थापाले  पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत समयमै पठाउनुपर्ने समेत बताए।  यसैगरी सांसद सर्वेन्द्रनाथ शुक्लाले एनसेल प्रकरणको छानबिन गम्भीर रूपमा हुनुपर्ने बताए। उनले सरकारले बनाएको समितिले कति गम्भीर भएर छानबिन गर्छ वा टालटुले हुने हो त्यो हाम्रो समितिले नजिकवाट नियाल्नुपर्ने बताए।

सांसद उपेन्द्र यादवले प्रदेशमा खाली झन्डा, गाडी र  गार्ड मात्रै रहेको तर  कर्मचारी अभावमा काम अड्किएको बताए। अहिलेको व्यवस्थाप्रति नै प्रश्न उठाउँदै यादवले एउटै सचिव वर्षमा चार पटक सरुवा गरेर सुशासन नहुने बताए। 

यसअघि संसदको अर्थ र लेखा समितिले पनि एनसेल प्रकरणबारे चासो राख्दै आवश्यक निर्णय गरेको थियो । बुधबार बसेको संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको सेयर खरिद बिक्री तत्काल रोक्न निर्देशन दिएको थियो ।

यस सम्बन्धमा समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय समेत गरेको थियो । एनसेल सेयर विक्री प्रकरणमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्व जानकारी गराउनुपर्नेमा प्रारम्भमा जानकारी नगराई अहिले आएर जानकारी गराउँछु भनेकाले पनि कानुनी व्यवस्थाको परिपालना नगरिएको ठहर समितिको छ ।

यस्तै अर्थ समितिले एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन निर्देशन दिएको छ । बुधबार नै बसेको समितिको बैठकले १५ दिनभित्र एनसेलको सेयर बिक्रीबारे विस्तृत जानकारी दिन निर्देशन दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप