शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको मुख्य एजेण्डा जलविद्युत

मङ्गलबार, २६ मङ्सिर २०८०, १६ : ०७
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । भारतीय विदेश मन्त्री एस. जयशंकरको नेपाल भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास जुटेको छ ।

सातौँ नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन पुस १९ गते नेपाल आउन लागेका भारतीय विदेशमन्त्री जयशंकरले मन्त्रीस्तरीय छलफलमा दुई देशबिच भएको सन्धि सम्झौता, व्यापार तथा आर्थिक समझदारीको विषयमा कुराकानी गर्ने बताइएको छ ।

त्यसमा मुख्य विषय जलस्रोत नै हुने स्रोतले जानकारी दिएको छ । भारतीय विदेशमन्त्रीको भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षरसमेत हुने बताइएको छ । त्यसको तयारीमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गृहकार्य गरिसकेको छ ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला भारतले १० हजार मेगावाट बिजुली नेपालबाट खरिद गर्ने समझदारी भएको थियो । १० हजार मेगावाट बिजुली खरिद गर्ने भनेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले यसबारे केही दिनपछि आफ्नो क्याबिनेटबाट निर्णयसमेत गराएका थिए । अहिले विदेश मन्त्री जयशंकरले नेपाल भ्रमणका क्रममा त्यस विषयमा सम्झौतापत्रमा हस्ताक्षरसमेत गर्ने भएका छन् ।

जयशंकरको भ्रमणका क्रममा राजनीतिक भेटघाट पनि हुने बताइएको छ । मन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग भेटघाट गर्नुको साथै भारतीय दूतावासले आयोजना गर्ने कार्यक्रममा पनिसहभागी हुने जनाइएको छ ।

तर परराष्ट्रले मन्त्रालय स्रोतले भारतीय विदेशमन्त्रीको भ्रमणका बारेमा अहिले छलफल भइरहेको र कार्यक्रमहरु निर्धारित हुन बाँकी रहेको जनाएको छ । स्रोतले भन्यो, ‘भारतीय विदेश मन्त्री आउने विषय र उहाँको कार्यक्रमहरुको बारेमा अहिले छलफल नै चलिरहेको छ, कुनै कुराको टुङ्गो लागेको छैन ।’

भारतीय दूतावास र अन्य मन्त्रालयको समन्वयमा कार्यक्रमहरुको बारेमा आन्तरिक छलफल चलिरहेको स्रोतको भनाइ छ । सबै विषयवस्तु केही दिनपछि टुङ्गो लाग्ने मन्त्रालय स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप