गाजाको अल–शिफा अस्पतालमा ‘रगतको खोलो’ : डब्लुएचओ
जेनेभा । आइतबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको बताएको छ ।
डब्लुएचओ र अन्य संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको एउटा टोली शनिबार प्यालेस्टिनी क्षेत्रको सबैभन्दा ठूलो अस्पतालमा चिकित्सा आपर्ति पुर्याउन सक्षम भएको छ । “हजारौँ विस्थापितहरू आश्रयका लागि अस्पतालको भवन र मैदान प्रयोग गरिरहेका छन्, पिउने पानी र भोजनको ‘चरम अभाव’ छ”, डब्लुएचओले विज्ञप्तिमा भनेको छ, “टोलीले आपत्कालीन विभागलाई ‘रगतको खोलो’ का रूपमा वर्णन गरेको छ, उक्त विभागमा सयौँ घाइते बिरामी थिए र प्रत्येक मिनेटमा नयाँ बिरामी आइरहेका थिए, आघातबाट घाइते बिरामीहरूलाई जमिनमा टाँका लगाइरहेको थियो र दुखाइ कम गर्ने कुनै व्यवस्था थिएन ।”
अस्पतालले अत्यन्त कम कर्मचारीहरूका साथ न्यूनतमस्तरमा काम गरिरहेको भन्दै डब्लुएचओले गम्भीर बिरामीहरूको शल्यक्रियाका लागि अल–अहली अरब अस्पतालमा सार्ने काम भइरहेको बताएको छ । अक्सिजन र आपूर्तिको कमीका कारण अपरेटिङ थिएटरले काम नगरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । डब्लुएचओले भनेको छ, “यो पुनरुत्थानको आवश्यकता रहेको अस्पताल हो ।” अस्पतालमा दैनिक ३० बिरामीले मात्र डायलासिस गर्न पाउँछन् ।
अक्टोबर ७ मा इजराइली क्षेत्रमा हमासले गरेको अभूतपूर्व हमलापछि इजराइली सेनाले गरेको बमबारी र स्थल कारबाहीबाट गाजापट्टीमा सबै स्वास्थ्य पूर्वाधारमा व्यापक क्षति भएको छ । इजराइली अधिकारीहरूको पछिल्लो आँकडाअनुसार हमासको हमलामा अधिकांश सर्वसाधारणहित करिब एक हजार एक सय ४० मानिसको मृत्यु भएको थियो । हमासले दुई सय ४० जनालाई बन्धकसमेत बनाएको थियो । हमासका अनुसार गाजामा इजराइलको जवाफी हमलामा अधिकांश महिला तथा बालबालिकासहित १८ हजार आठ सयको मृत्यु भएको छ ।
इजराइलले हमासमाथि अस्पतालमुनि कमान्ड सेन्टर सञ्चालन गरेको आरोप लगाएको छ । उक्त अस्पताललाई युद्धको कानूनअन्तर्गत विशेष सुरक्षा प्राप्त छ । अस्पतालका अधिकारी र प्यालेस्टिनी लडाकू समूह हमासले बारम्बार उक्त आरोपलाई खारेज गरेका छन् । पूर्वाधार सेवाहरू पुनः सुरु गर्न ‘आगामी साताहरूमा’ अल–शिफा अस्पताललाई सुदृढ गरिने डब्लुएचओले बताएको छ ।
“आवश्यक कर्मचारीका साथ इन्धन, अक्सिजन, औषधि, भोजन र पानीको नियमित आपूर्ति प्रदान गरिने हो भने अस्पतालमा २० अपरेटिङ थिएटरका साथै पोस्ट–अपरेटिभ हेरचाह सेवाहरू पनि सक्रिय बनाउन सकिन्छ”, डब्लुएचओले भनेको छ ।
हाल अल–अहली अरब गाजापट्टीको सम्पूर्ण उत्तरमा ‘आंशिकरूपमा काम गर्ने’ एउटा मात्र अस्पताल हो । अल–शिफा, अल अवदा र अल सहबा मेडिकल कम्प्लेक्सले न्यूनतमस्तरमा काम गरिरहेका छन् । युद्ध सुरु हुनुअघि त्यहाँ २४ परिचालन सुविधा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण