बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गाजाको अल–शिफा अस्पतालमा ‘रगतको खोलो’ : डब्लुएचओ

आइतबार, ०१ पुस २०८०, १५ : ४३
आइतबार, ०१ पुस २०८०

जेनेभा ।  आइतबार  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको बताएको छ । 

डब्लुएचओ र अन्य संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको एउटा टोली शनिबार प्यालेस्टिनी क्षेत्रको सबैभन्दा ठूलो अस्पतालमा चिकित्सा आपर्ति पुर्याउन सक्षम भएको छ । “हजारौँ विस्थापितहरू आश्रयका लागि अस्पतालको भवन र मैदान प्रयोग गरिरहेका छन्, पिउने पानी र भोजनको ‘चरम अभाव’ छ”, डब्लुएचओले विज्ञप्तिमा भनेको छ, “टोलीले आपत्कालीन विभागलाई ‘रगतको खोलो’ का रूपमा वर्णन गरेको छ, उक्त विभागमा सयौँ घाइते बिरामी थिए र प्रत्येक मिनेटमा नयाँ बिरामी आइरहेका थिए, आघातबाट घाइते बिरामीहरूलाई जमिनमा टाँका लगाइरहेको थियो र दुखाइ कम गर्ने कुनै व्यवस्था थिएन ।”

अस्पतालले अत्यन्त कम कर्मचारीहरूका साथ न्यूनतमस्तरमा काम गरिरहेको भन्दै डब्लुएचओले गम्भीर बिरामीहरूको शल्यक्रियाका लागि अल–अहली अरब अस्पतालमा सार्ने काम भइरहेको बताएको छ । अक्सिजन र आपूर्तिको कमीका कारण अपरेटिङ थिएटरले काम नगरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । डब्लुएचओले भनेको छ, “यो पुनरुत्थानको आवश्यकता रहेको अस्पताल हो ।” अस्पतालमा दैनिक ३० बिरामीले मात्र डायलासिस गर्न पाउँछन् । 

अक्टोबर ७ मा इजराइली क्षेत्रमा हमासले गरेको अभूतपूर्व हमलापछि इजराइली सेनाले गरेको बमबारी र स्थल कारबाहीबाट गाजापट्टीमा सबै स्वास्थ्य पूर्वाधारमा व्यापक क्षति भएको छ ।  इजराइली अधिकारीहरूको पछिल्लो आँकडाअनुसार हमासको हमलामा अधिकांश सर्वसाधारणहित करिब एक हजार एक सय ४० मानिसको मृत्यु भएको थियो । हमासले दुई सय ४० जनालाई बन्धकसमेत बनाएको थियो । हमासका अनुसार गाजामा इजराइलको जवाफी हमलामा अधिकांश महिला तथा बालबालिकासहित १८ हजार आठ सयको मृत्यु भएको छ । 

इजराइलले हमासमाथि अस्पतालमुनि कमान्ड सेन्टर सञ्चालन गरेको आरोप लगाएको छ । उक्त अस्पताललाई युद्धको कानूनअन्तर्गत विशेष सुरक्षा प्राप्त छ । अस्पतालका अधिकारी र प्यालेस्टिनी लडाकू समूह हमासले बारम्बार उक्त आरोपलाई खारेज गरेका छन् । पूर्वाधार सेवाहरू पुनः सुरु गर्न ‘आगामी साताहरूमा’ अल–शिफा अस्पताललाई सुदृढ गरिने डब्लुएचओले बताएको छ ।

“आवश्यक कर्मचारीका साथ इन्धन, अक्सिजन, औषधि, भोजन र पानीको नियमित आपूर्ति प्रदान गरिने हो भने अस्पतालमा २० अपरेटिङ थिएटरका साथै पोस्ट–अपरेटिभ हेरचाह सेवाहरू पनि सक्रिय बनाउन सकिन्छ”, डब्लुएचओले भनेको छ । 

हाल अल–अहली अरब गाजापट्टीको सम्पूर्ण उत्तरमा ‘आंशिकरूपमा काम गर्ने’ एउटा मात्र अस्पताल हो । अल–शिफा, अल अवदा र अल सहबा मेडिकल कम्प्लेक्सले न्यूनतमस्तरमा काम गरिरहेका छन् । युद्ध सुरु हुनुअघि त्यहाँ २४ परिचालन सुविधा थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप