बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
नाटक

नाटकमा बढे दर्शक, मञ्चनमा कस्ता कस्ता नाटक ?

फिल्मी कलाकारसमेत आकर्षित
सोमबार, ०२ पुस २०८०, १५ : २३
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । बत्तिसपुतलीस्थित शिल्पी थियटरमा नाटक ‘ब्युँझिएको सिरानी’ मञ्चन भइरहेको छ । गत मङ्सिर १५ बाट मञ्चन सुरु भएको नाटक ३० गतेसम्म मञ्चन हुने कार्यक्रम थियो । दर्शक बढेका कारण नाटक मञ्चनको समय केही दिन थप गरिएको छ । नाटकका निर्देशक जेडी तमु रहेका छन् । यस अगाडि शिल्पीमै ‘ह राम पण्डित’ मञ्चन भएको थियो ।

यस्तै टेकुस्थित कौसी थियटरमा पनि नाटक ‘बोधि–सत्त्व’ मञ्चन भइरहेको छ । गत मङ्सिर २० देखि मञ्चन सुरु भएको नाटक पुस ४ सम्म चल्नेछ । नाटकको परिकल्पना, लेखन तथा निर्देशन नृत्यगुरु चन्द्रमान मुनिकार हुन् । यसअगाडि कौसीमा नाटक ‘वेडिङ एल्बम’ मञ्चन भएको थियो ।

त्यस्तै थापागाउँस्थित आरोहण गुरुकुल थियटरमा नाटक ‘काल’ भर्खर सकिएको छ । शङ्कर खरेलको काल कथाबाट प्रभावित नाटकका लेखक तथा निर्देशक रामभजन कामत हुन् । गत मङ्सिर १४ गतेदेखि मञ्चन भएको नाटक शनिबार सकिएको हो । आगामी २० गतेबाट फेरि यो नाटक दोहोरिने कुरा छ । पुस ४ गतेदेखि भने नयाँ नाटक ‘नासो’ मञ्चनमा आउँदै छ ।

त्यो त मण्डला थियटरमा पनि केहीअगाडि नाटक ‘मानिस हराएको सूचना’ मञ्चनमा थियो । सन्तोष विष्ट निर्देशित नाटक मङ्सिर १५ गतेदेखि २४ गतेसम्म नियमित मञ्चन भयो । नाटकमा सविन राई, सोनिका शाही ठकुरी, रोमस राय ठकुरी, स्नेहा जोशी, साइमन थापा, दीपक कोइराला लगायतका १३ जना कलाकारले अभिनय गरेका थिए । मण्डला थियटरमै पुस १२ बाट नाटक ‘पागल घोडा’ मञ्चन हुँदैछ ।

ससर्ती नियाल्दा पछिल्लो समय थियटर चलायमान देख्न सकिन्छ । एकपछि अर्को गर्दै नियमित नाटकसमेत  मञ्चन भइरहेका छन् । यसले नाटकप्रति दर्शकको आकर्षण बढेको अनुमान गर्न गाह्रो पर्दैन । 

के अहिले नाटकमा दर्शक बढेको हो ? शिल्पी थियटरका कुमार आले भने पछिल्लो समय नाटकमा दर्शक बढ्दो रहेको बताउँछन् । उनी नाटकमा दर्शक बढेको मात्र होइन, नाटकप्रति फिल्मी कलाकारको आकर्षणसमेत बढेको सुनाउँछन् ।

‘नाटकमा दर्शक घट्ने र बढ्ने मौसमको कारणले पनि हुन्छ,’ आलेले भने, ‘जाडो र छोटो दिनमा केही घट्ला । तर समग्रमा भन्दा दर्शक बढ्दो छ ।’ दर्शकले एकपछि अर्को नाटकको डिमान्डसमेत गर्न थालेको आलेको भनाइ छ ।

‘अहिले नाटकमा टिन एज बढी आकर्षित छन्,’ आलेले थपे ‘नाटकमा दर्शक मात्र होइन, फिल्मका कलाकार भित्रिने क्रम बढ्दो छ ।’ फिल्मका मात्र होइन, थियटर मात्रै गर्छु भन्नेसमेत धेरै हुने गरेको आलेले खुलाए ।

कुमार आलेको विचारसँग मण्डला थियटरकी सर्जिका अछामी पनि सहमत छिन् । उनी नाटक अनुसार दर्शक बढ्ने र घट्ने बताउँछिन् ।

‘हालै मञ्चन भएको ‘मानिस हराएको सूचना’ मा दर्शक ठिकै थिए’, सर्जिका भन्छिन् ‘अब मञ्चन हुने ‘पागल घोडा’ मा दर्शक बढ्न सक्छन् ।’ ‘पागल घोडा’ मा अभिनेत्री मलिका महत, अभिनेता प्रमोद अग्रहरीलगायतको अभिनय रहने भएकाले पनि दर्शक बढ्न सक्ने उनको अनुमान छ ।  समग्रमा नाटकमा दर्शक बढेको उनी सुनाउँछिन् ।

आले र अछामीको विचारसँग सहमत छैनन् आरोहण गुरुकुलका सुनील पोखरेल । उनी कोराना कहर यता नाटकमा दर्शक घटेको बताउँछन् ।

‘थियटर कलाकारको नाटकमा हालीमुहाली हुन थालेपछि थियटरमा दर्शक तथा कलाकारको आकर्षण बढेको थियो,’ पोखरेलले भने, ‘कोरोनापछि भने सुस्ताएको छ ।’ नाटकले दर्शक तान्न नसकेको हो वा नाटक राम्रो दिन नसकेको हो । त्यो आफूले बुझ्न नसकेको उनले सुनाए । भने ‘नाटकको विषयमा एउटा बहस छेड्नु पर्छ अब ।’

मञ्चनमा कस्ता कस्ता नाटक ?

यतिबेला कौसी थिएटर टेकुमा नाटक ‘बोधि–सत्व’ र शिल्पी थियटरमा बत्तिसपुतलीमा ‘ब्युँझिएको सिरानी’ नियमित मञ्चनमा छन् । गत मङ्सिर २० देखि मञ्चन सुरु भएको ‘बोधि–सत्व’ पुस ४ सम्म चल्नेछ । 

‘ब्युँझिएको सिरानी’ मङ्सिर ३० गतेसम्म मात्र भनेर १५ बाट मञ्चन सुरु भएको थियो । दर्शक बढ्दो रहेको कारण नाटकको मञ्चन केही दिन थपिएको छ । अहिले मञ्चनमा रहेको ‘बोधि–सत्व’ र ‘ब्युँझिएको सिरानी’ दुवै फरक फरक विषयवस्तु र कलाकारले भरिएका नाटक हुन् ।

collage

‘बोधि–सत्व’ कसैको कुभलो नचिताई राम्रो चित्त राख्नाले बोधिज्ञान प्राप्त भई बोधिसत्व मार्गमा पुग्न सकिन्छ भन्ने कथामा छ । नाटकको परिकल्पना, लेखन तथा निर्देशन नृत्यगुरु चन्द्रमान मुनिकार हुन् । सुदन मुनिकार, सङ्गीता थापा, युवाहाङ राई, अनिशा श्रेष्ठ, सन्तोष गिरी, अजय लामा, सृजना शर्मा, अञ्जु श्रेष्ठ, नवीन काफ्ले, नानुमैया महर्जन र सचिन लामालगायतको नाटकमा अभिनय छ । नाटकलाई ममा आर्ट्सको सहकार्यमा बज्र कलाकुञ्जले प्रस्तुत गरेको हो ।

त्यस्तै ‘ब्युँझिएको सिरानी’ मा जेडी तमुको निर्देशन रहेको छ । वाई स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सहप्रस्तुतिमा तयार नाटक मानसिक स्वास्थ्यको विषयमाथि तयार पारिएको छ ।

रूपेश लामा, वेदना राई, सुरज तमु, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, रेनुका घर्तीमगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरू लगायत कलाकार नाटमा देख्न सकिन्छ । अनिल सुब्बाले कला निर्देशन गरेको नाटकमा गायिका झुमा लिम्बुले सङ्गीत संयोजन गरेकी छन् । नवीन बयल्कोटी र आयुषले नाटकमा सङ्गीत भर्ने छन् ।

के–के आउँदै छ त ?

काठमाडौँमा केही थियटर छन् जसले लगातार जस्तै नाटक  मञ्चन गरेर दर्शक खुसी तुल्याउने काम गरिरहेका छन् । तीमध्येमा पर्छ थापागाउँमा रहेको आरोहण गुरुकुल, मण्डला थियटर, बत्तिसपुतलीस्थित शिल्पी थियटर र टेकुको कौसी थियटर । यी चारमध्ये दुई थियटर अर्थात् मण्डला र आरोहण गुरुकुलमा अहिले नयाँ नाटक मञ्चन तयारी भइरहेको छ ।

मण्डलामा केही दिनअगाडि मात्र ‘मानिस हराएको सूचना’ मञ्चन भएको थियो । पुस १२ गतेदेखि ‘पगला घोडा’ मञ्चन तयारी भइरेहको छ । थिएटर आकारको प्रस्तुति रहेको नाटक पुस माघ ६ गतेसम्म नियमित मञ्चन हुनेछ । भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । बादल सरकार १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए । 

नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गरेका छन् । पछिल्लो समय विभिन्न कारणले युवावर्गमा आत्महत्या गर्नेको सङ्ख्यामा बढ्दो छ । यस संवेदनशील विषय नाटले प्रस्तुत गर्न लागेको हो । 

नाटकमा प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, विम्ब अधिकारीलगायत कलाकारको अभिनय रहनेछ । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् ।

त्यस्तै आरोहण गुरुकुलमा अहिले ‘नासो’ मञ्चन तयारीमा छ । ३० मङ्सिसम्म नाटक ‘काल’ को मञ्चन गरेको गुरुकुलले पुस ४ गतेदेखि मञ्चन अहिले ‘नासो’ मञ्चन तयारीमा छ । कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित ‘नासो’ पुस ४ गतेदेखि मञ्चन गर्दैछ । नाटक पुस ७ गतेसम्म मञ्चन हुनेछ । नाटकमा नुबु शेर्पा, क्रिशा बरुवाल, सौगात कक्षपति, साइना स्याङ्तान, युक्ति थापामगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा, सजना माझीलगायत सेजल काफ्लेको अभिनय रहनेछ । नासो, प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो । यस नाटकमा घरको कलहले बालबालिकामाथि पर्ने असर देखाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप