बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

संस्कृति मन्त्रीको भाषण : क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो

बुधबार, ०४ पुस २०८०, २२ : ५४
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका छन् । उनले संविधान  मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताए ।

बुधवार काठमाडौँमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा बोल्दै किराँतीले भने, ‘नेपाल बहु धार्मिक राज्य हो । यो संविधानले स्वीकारेको कुरा हो । मैले भनेको कुरा होइन । राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिश्चियनहरु भइसकेका छन् । क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’

उनले आफू कुनै धार्मिक मान्छे नभएको पनि बताए । ‘म त राज्य हो नि । म राज्यमा बसेर धर्म माने भने मैले नमान्नेमाथि दमन गर्छु । राज्यमा बस्नेको धर्म हुँदैन । त्यसकारण धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ ।’ धर्म मान्ने स्वतन्त्रतामाथि आफूले सम्मान गर्ने पनि उनको भनाइ थियो । 

विश्वमा धार्मिक जनसङ्ख्या ८५ प्रतिशत रहेको उल्लेख गर्दै किराँतीले त्यसमा पनि ३० प्रतिशत क्रिश्चियन रहेको बताए । ‘संसारले मान्ने अनि हामीले चाहिँ नमान्ने ?’, उनले भाषणका क्रममा भने । 

उनले जिसस क्राइस्ट महान् नेता भएको पनि बताए । उनी विद्रोही नेता भएको दाबी गर्दै तत्कालीन अवस्थामा त्यो देशको शासन नमान्दा मृत्युदण्ड दिएको उनको भनाइ थियो । ‘म पनि विद्रोहबाट आएको हुनाले धेरै सम्मान गर्छु’, उनले भने, ‘मैले मात्रै होइन, यो चाहिँ अहिलेको प्रधानमन्त्रीले पनि गर्नुहुन्छ ।’ जिससको व्यक्तित्व प्रधानमन्त्री प्रचण्डलाई पनि मन पर्ने उनको जिकिर थियो । 

अर्को प्रसङ्गमा किराँतीले राम्रो काम गर्दागर्दै सरकारमाथि आक्रमण भएको भन्दै नेतृत्वलाई गाली र बदनाम गर्नु गणतन्त्र मास्नु भएको पनि बताए । 

‘राम्रो काम गर्दागर्दै पनि प्रधानमन्त्रीमाथि यति ठुलो आक्रमण छ । अहिलेको सरकारको नेतृत्वलाई गाली र बदनाम गर्नु भनेको गणतन्त्र मास्नु हो । व्यवस्थालाई अन्त्य गर्दिनु हो । व्यवस्थालाई अन्त्य गरे संविधान मासिन्छ, त्यो भनेको हामी सबैको अन्त हुन्छ । त्यसकारण अग्रगामी शक्तिहरूको एकता जरुरी छ,’ उनले भने । 

परिवर्तन चाहने अग्रगामी शक्तिहरू एक हुन जरुरी भएको पनि उनले उल्लेख गरे । राणा शासन, पञ्चायत फालेको र मिलेर संविधान बनाएजस्तै सबै मिलेर गरिबीको अन्त्य गर्नतर्फ लाग्नुपर्ने धारणा पनि उनले राखे ।

यस्तै, उनले नेपाल हिन्दु राष्ट्र मात्र कायम हुनै नसक्ने बताएका छन् । सबै नेपाली जनता मिलेर बसेको र धार्मिक सहिष्णुता लामो समयबाटै रहिआएकाले व्यवस्था विरोधीले चाहँदैमा हिन्दु राष्ट्र नहुने उनको तर्क थियो । 

दुर्गा प्रसाईँ नेतृत्वले केही समयअघि हिन्दु राष्ट्रको पक्षमा गरेको विरोधलाई हाफ्सिलाको संज्ञा दिएर किराँतीले भने, ‘प्राचीन इतिहासदेखि नेपाली समाज मिलेर बस्दै आएको छ । ती हाफ्सिलालाई के चिलाको ? क्रिश्चियनको घरमा हिन्दु पनि मलामी गएकै छ, हिन्दुकोमा किराँत पनि मलामी गएकै छ, बुद्धिस्टहरू पनि सँगै मिलेर बसेकै छन् । तर, यिनीहरू चाहिँ हामीलाई जुधाउन र लडाउनको निम्ति देशलाई बारुदभित्र हराउनको लागि लागेका छन् । तर नेपाली जनताले यसलाई अस्वीकार गर्छन् ।’ 

यस्ता प्रयास विभिन्न कालखण्डमा पटक पटक भइआएको उनको भनाइ थियो । ‘पञ्चायतमा पनि कोसिस गरे, पछि पनि भयो र अहिले पनि हुँदै छन् तर, जनताले एकचोटि तिरस्कार पनि गरिसकेका थिए,’ उनले भने, ‘पूर्वतिर हाप्सिलाहरू अलिअलि कराउँदै थिए । कराउँदै कराउँदै बल्खु आइपुगेछ । तितरबितर हुँदै सिफल पुगेछ । अनि भक्तपुर हुँदै फर्केर आफ्नै ओडार गएछ । जनताले अस्वीकार गरिसके, प्रकृतिमा मरेको चिज फर्किँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप