आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अनुदानमा वितरित गहुँको बिउ नउम्रेपछि पालिकासँग क्षतिपूर्ति माग्दै किसान

आइतबार, ०८ पुस २०८०, १५ : ४६
आइतबार, ०८ पुस २०८०

सिरहा । धनगढीमाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा बाँडेको गहुँको बिउ नउम्रेपछि यहाँका किसान मर्कामा परेका छन् । नगरपालिकाले दोस्रो लटमा निजी व्यवसायीमार्फत गरिद गरेको एक सय १० क्विन्टल गहुँको बिउ नउम्रिएको किसानको भनाइ छ ।

नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा प्राप्त गहुँको बिउ ८ कट्ठा जमिनमा छरेको तर नउमे्रको धनगढीमाई नगरपालिका–४ जयपुरका ५७ वर्षीय किसान हरिदेव यादवले बताए । उनले नगरपालिकाबाट अनुदानमा ४५ रुपैयाँ प्रतिकिलोका दरले ४० केजी गहुँ छरेको १० दिन बितिसक्दा पनि नउम्रिएको बताए । सँगै छरेको जौ उमे्र पनि गहुँ नउमे्रपछि गाउँमै पुनः ६० रुपैयाँ किलोका दरले बिउ किनेर छरेको उनको भनाइ छ ।

यादवले भने, ‘६ दिनमा उम्रिएर ९ दिनमा दुई पात हुनु पर्ने गहुँ १५ दिन बित्दा पनि उम्रिएन । खाद, मल, ट्रयाक्टरको जोताई सबै खेर गयो । हामी किसानको जहाजै डुब्यो । कसरी बालबच्चा पाल्ने ?’ उनले थपे, ‘यही उब्जाले जसोतसो परिवार चलिरहेको थियो । यो पटक लगानी धेरै लागिसक्यो, समयभन्दा ढिलो छरेको गहँु पनि कति फल्छ, पत्तो छैन ।’

धनगढीमाई–४ फूलकाहाकट्टीका जयप्रकाश महतोले पनि नगरपालिकाबाट प्राप्त बिउ नै छरेका थिए । तर गहुँ नउम्रिएपछि खेत बाँझै रहेको उनले सुनाए । नगरपालिकाले उपलब्ध गराएको बिउ नउम्रिएका कारण आफूहरुले क्षतिपूर्ति पाउनु पर्ने उनको माग छ ।

वडाको सिफारिस लिएर महतोका दुई दाजुभाइले नगरपालिकाको कृषि शाखाबाट ४० किलो गहँुको बिउ ल्याएका थिए । उनीहरुले पनि ८ कट्ठा खेतमा गहुँ छरेका थिए ।

यस्तै व्यथा छ धनगढीमाई–४ जयपुरका रासोभित यादवको । उनले पनि बुबा र आफ्नो नाममा ४० केजी बिउ ल्याएर १० कट्ठामा छरेका थिए । अहिले खेत बाँझै छ । छरेको बिउ नउम्रिएपछि नयाँ बिउ किनेर पुनः छर्ने तरखरमा छन् उनी ।

नगरपालिकाबाट अनुदानको गहुँको बिउ लैजाने ५ सय ५० जना किसानको अवस्ता यस्तै छ । धनगढीमाई नगरपालिकाले किसानलाई अनुदानमा बाँडेको गहुँको बिउ  नउम्रिएपछि ५ सय ५० जना किसानको करिब एक सय ३५ बिघा खेत बाँझै भएको हो ।

कतिपय किसान नयाँ बिउ खरिद गरेर दोहो-याएर छर्ने तयारीमा छन् भने धेरैको खेत बाँझै हुने भएको छ । बिउको माग बढेपछि नगर प्रमुखको ठाडो आदेशमा सुनसरीको देवानगञ्जस्थित कुशवाहा बिज भण्डारबाट ल्याइएको आदित्य जातको १ सय १० क्विन्टल गहुँ प्रतिकिलो ४५ रुपैयाँमा किसानलाई वितरण गरिएको थियो ।

गहुँ नउमे्रपछि किसानको ट्रयाक्टर जोताई खर्च, डीएपी मल र पोटास छरेको खर्च, ड्याङ्ग बनाउन लागेको मजदुर खर्च र बिउ किनेको खर्च डुबेको छ ।

यस विषयमा धनगढीमाई नगरपालिकाका कृषि शाखा प्रमुख अशोक पासवानसँग जिज्ञासा राख्दा उनले पहिलो लटमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबाट ल्याएको १० लाख बराबरको गौतम जातको गहुँको बिउ राम्रो रहेको बताए । उक्त बिउ प्रतिकिलो ८० रुपैयाँमा उपलब्ध भएको र ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको उनको भनाइ छ । साल्ट ट्रेडिङ्गबाट ल्याइएको बिउ लैजाने सबै किसानको गहुँ राम्रो उम्रिएको उनले बताए ।

गहुँको बिउ माग्ने किसानको चाप बढेपछि पुनः ११ लाख बराबरको एक सय १० क्विन्टल गहुँको बिउ मगाइएको तर पछिल्लो लटमा आएको बिउमा धेरै सिकायत आएको उनले बताए । उनले भने, ‘दैनिक दर्जनौँ किसान कृषि शाखा घेराउ गर्न आउँछन् । गहुँको बिउ उम्रिएन, क्षतिपूर्ति देऊ भन्छन् । हामीले के गर्नु ? अप्ठ्यारोमा परेका छौँ ।’

बिउको माग बढेपछि मेयर आफैँले कुशवाहा बिज भण्डारबाट बिउ ल्याउन अह्राएको र सोही अनुसार ल्याइएको पासवानले बताए । उनले भने, ‘हामीले रोजेको पनि होइन, निर्णय गरेको पनि होइन । पालिकाबाट जुन बिउ उपलब्ध गराइयो, त्यही बिउ वितरण गरिदिएका हौँ ।’

ल्यावबाट ल्याएर पेस गरिएको प्रमाण पत्र आफूहरुले हेरेको र त्यसमा सबै कुरा ठिकै रहेको उनले बताए । नगरपालिकाको कृषि संयोजक समेत रहेका १ नम्वर वडाका वडाध्यक्ष सूर्य नारायण यादव पनि यसको जिम्मेवारी र जवाफदेही मेयरले लिनुपर्ने बताउँछन् ।

सुनसरीबाट किन बिउ खरिद गरियो होला ? भन्ने प्रश्नमा वडाध्यक्ष यादवले भने, ‘नाता, कुटुम्बले पनि काम गरेको होला । अब किसानको मर्का त नगरपालिकाले बुझ्नु पर्छ । अनर्थ भएको छ ।’

धनगढीमाई नगरपालिका ४ का वडाध्यक्ष ओम यादवले दर्जनौँ किसान गुनासो गर्न आएको बताए । उनले आफैँ किसानको खेत–खेत घुमेर हेरेको भन्दै पछिल्लो लटमा बाँडिएको बिउ नउम्रिएको बताए ।

धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम कुमार महतोसँग यसबारे बुझ्न बारम्बार फोन सम्पर्क गर्ने प्रयास गरे पनि उनी सम्पर्कमा आउन चाहेनन् ।   

यस सम्बन्धमा धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोले बाहिर हल्ला चलेजस्तो केही नभएको बताए । दुईचार जना किसानको खेतमा चिस्यान नभएर गहुँ नउम्रिएको हुनसक्ने उनको भनाइ थियो ।

मेयर महतोले आफू काठमाडौँमा रहेको र १० गते बिउ बिक्रेता पनि आएर हेर्छु भनेकाले आफू फर्किएपछि मात्र यसबारे थप जानकारी हुन सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप