आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता बानिले बिग्रिन सक्छ तपाईँको राम्रो सम्बन्ध

शुक्रबार, १३ पुस २०८०, १६ : ०२
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । सम्बन्ध कायम राख्न सधैँ सजिलो हुन्न । सम्बन्धहरूलाई सम्हालेर राख्नुपर्छ । हेरविचार गर्नुपर्छ । सावधानी अपनाउनु पर्छ र समझदारी पनि देखाउनु पर्छ । यी सबै कुराहरूले मात्रै सम्बन्ध स्वस्थ र बलियो बन्छ । तर कहिलेकाहीँ अन्जानमै मान्छेहरूले आफ्नो सम्बन्ध बिर्गान थाल्छन् । सम्बन्ध खराब हुनुमा व्यक्तिको व्यवहारले मुख्य भूमिका निर्वाह गर्छ । जसका कारण दुई व्यक्तिबिचको कनेक्शन नै हराउँदै जान थाल्छ । आजको यस लेखमा हामीहरू यस्तै केही व्यवहारबारे कुराकानी गर्नेछौं, जसबाट तपाई सकेसम्म बच्नु पर्छ । यी कुराहरु गर्दा सम्बन्धको स्तर र उमेरमा पनि खराब असर पर्छ । के हुन त ती कुराहरु ?

अव्यक्त आशाः

अव्यक्त आशा पालेर कहिलेकाहीँ मान्छे मन मनमै अर्को मान्छेसँग टाढा हुन थाल्छन्, अर्को व्यक्तिसँग दूरी बनाउन थाल्छन् । मुखले केही नबोलीकन मन मनमै आशा अपेक्षाहरु राख्ने र इच्छाहरु व्यक्त नगर्ने गर्दा सम्बन्धमा असन्तुष्टि र असमझदारीको बिउ रोपिन्छ । कयौँ पटक चाँहि व्यक्ति आफूले नबोलिकन नै पार्टनरले बुझिदेओस् न भन्ने सोच्छ । आफ्नो आशाबारे अर्को व्यक्तिसँग कुराकानी नै गर्दैनन् अनि सधैँ हताश अनि निराश रहन्छन् । जसले गर्दा सम्बन्धमा दूरी आउन थाल्छ ।

सधैँ आफूलाई मात्रै सही भन्नेः

जे कुरामा पनि मै ठिक हुँ, ‘मेरो गोरुको सोह्रै टक्का’को व्यवहार देखाउने बानीले पनि सम्बन्धलाई बिगार्न सक्छ । यसले सम्बन्धमा लडाई झगडा बढाउन थाल्छ । सम्बन्धमा दुबैले एक अर्कालाई बुभ्mनुको सट्टा आफैँलाई सही र अर्कोलाई गलत ठान्न थालियो भने सम्बन्धको ग्रोथमा खराब असर पर्छ ।

बेवास्ता गर्नेः

पार्टनरहरूले एक अर्कालाई बेवास्ता गर्नु भनेको आपसी सम्बन्धको जगलाई कमजोर बनाउनु हो, बिगार्नु हो । अप्ठ्यारा विषयमा कुराकानी नगर्ने, समस्यालाई दबाउने या भावनात्मक रुपमा आफैँलाई पछाडि राख्ने गर्दा दुई जनाबिच भावनात्मक खाडल पैदा हुन सक्छ । यसले तपाईँको सम्बन्धमा अव्यक्त तनावको स्थिति उत्पन्न हुन्छ ।

गुनासोको पोको बनाउने:

अर्कोले के गर्‍यो र के गरेन तथा आफूले चाँहि के के गरे भनेर हिसाब–किताब राख्ने बानीले सम्बन्धमा विष घोलिदिन्छ । एक अर्काले गरेको गल्ती टिपेर कुरै पिच्छे यस्तो गरेको वा नगरेको भनेर गल्ती गनिरहँदा पनि सम्बन्ध कमजोर हुन थाल्छ । यो बानीका कारण दुई जनाबिच असन्तुष्टि बढ्न सक्छ ।

‘म जस्तै बन्नुपर्छ’ भन्ने मानसिकता:

म जस्तै बन्नुपर्छ भन्ने मानसिकताले सम्बन्धमा तुलना र आलोचनालाई जन्म दिन्छ । सामुन्ने रहेको व्यक्तिलाई आफ्नो जस्तै बनाउने वा त्यस्तै व्यवहार गर्ने दबाब दिँदा सम्बन्धमा नराम्रो असर पर्छ । यस्तो खालको मानसिकताले पार्टनरमाथि दबाब बढ्छ । यही मानसिकताका कारण व्यक्तिको ग्रोथमा पनि नकारात्मक असर पर्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप