आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
भेटवार्ता

भारतीय विदेशमन्त्री जयशंकरले भेटे राष्ट्रपतिलाई

बिहीबार, १९ पुस २०८०, ११ : ५१
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आज नेपाल अवतरण भएसँग राष्ट्रपति निवास शीतल निवासमा उनले पौडेलसँग भेट गरेका हुन् । 

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिएका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताए । उनले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गरे।

सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताए । 

परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

उनले आज दिउँसो १ बजे परराष्ट्र मन्त्री साउदसँग  होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।

उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।

उनी शुक्रबार नै भारत फर्किनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप