शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

इजराइल सीमा हिंसाले लेबनानमा ७६ हजार मानिस विस्थापित– आइओएम

शुक्रबार, २० पुस २०८०, १७ : ४२
शुक्रबार, २० पुस २०८०

बेरुत । इजराइलसँगको सीममा भएको करिब तीन महिनाको लडाइँमा लेबनानमा ७६ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले जनाएको छ । 

अक्टोबरको प्रारम्भमा इजराइल–हमास युद्ध सुरु भएपछि सीमा क्षेत्रमा हिंसा बढेको छ । शुक्रबार इजराइली सेना र प्यालेस्टिनी लडाकू समूहको लेबनानी सहयोगी एवं इरान समर्थित हिजबुल्लाहबीच शुक्रबार पनि गोलाबारी जारी छ ।

 बिहीबार प्रकाशित प्रतिवेदनमा आइओएमले हिंसा वृद्धिले मुख्यरूपमा इजराइलको सीमामा रहेको दक्षिणी लेबनानका क्षेत्रबाट ७६ हजार १८ मानिस विस्थापित भएको उल्लेख छ । प्रतिवेदनअनुसार ८० प्रतिशतभन्दा धेरै विस्थापित लेबनानी आफन्तहरूसँग बसिरहेका छन् भने दुई प्रतिशतलाई मुलुकको दक्षिणी भागमा फैलिएको मुख्यरूपमा तटीय सहर टायर र हसबायाका सामूहिक आश्रयस्थलमा राखिएको छ ।  

राष्ट्रसङ्घीय एजेन्सीका अनुसार बाँकी विस्थापितले अपार्टमेन्टमा भाडामा लिएका छन् वा सीमाभन्दा टाढाका क्षेत्रमा घरमा सरेका छन् । सीमापार हिंसामा लेबनानमा एक सय ७५ जना मारिएका छन् । मारिनेमा एक सय २९ हिजबुल्लाहका लडाकू र तीन पत्रकारसहित २० भन्दा धेरै सर्वसाधारण रहेका छन् । 

इजराइली अधिकारीहरूका अनुसार उत्तरी इजराइलमा नौ सैनिक र पाँच नागरिक मारिएका छन् । सीमामा इजराइली सेनाविरुद्ध दैनिक कारबाही सञ्चालन गर्ने हिजबुल्लाहले गाजामा उसले हमासको समर्थनमा हस्तक्षेप गरिरहेको बताएको छ । 
हिजबुल्लाहको गढमा मङ्गलबार भएको हमलामा हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी मारिएपछि तनाव अझ बढेको छ । हिजबुल्लाह नेता हसन नसरल्लाहले इजराइललाई व्यापकरूपमा जिम्मेबार ठहर गरिएको उक्त हत्याका लागि ‘दण्ड नदिने’ चेतावनी दिए ।
आधिकारिक आँकडाअनुसार अक्टोबर ७ मा इजराइलमाथि हमासको अभूतपूर्व आक्रमणपछि इजराइलले हमासलाई नष्ट गर्ने वाचा गरेको छ । हमासको उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ४० को मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजराइलको जवाफी हमलामा अधिकांश महिला तथा बालबालिकासहित २२ हजार चार सय ३८ को मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप