बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लाबाट लागु औषधसहित ९ जना पक्राउ

शनिबार, २१ पुस २०८०, १६ : ०३
शनिबार, २१ पुस २०८०

‍‍‍‍‍‍‍‍‍काठमाडौँ । देशका विभिन्न जिल्लाबाट  अवैध लागु औषधसहित ९ जना पक्राउ परेका छन् । काठमाडौँ, कैलाली, दाङ लगायतका जिल्लाबाट प्रहरीले लागु औषधसहित ९ जनालाई पक्राउ गरेको हो । 

 काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नाग ढुङ्गाबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवती पक्राउ परेकी छन् ।  करिब ८ ग्राम २ मिलिग्राम लागु औषधसहित मोरङ बेलबारी नगरपालिका–२ बस्ने २२ वर्षीय रिकी शर्मालाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौँतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३४१ नम्बरको बसमा जाँच गर्ने क्रममा बसमा सवार शर्मालाई उक्त पदार्थसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै शनिवार कैलालीको चुरे गाउँपालिका–५ खानिडाँडास्थित होटल सञ्चालन गरी बस्ने ५० वर्षीय गोरे जागरीसहित ३ जना लागुऔषध चरेसहित पक्राउ परेका छन् । उनीहरूबाट करिब ४ किलो चरेस, एउटा तराजु र २ थान ढक बरामद गरेको छ। प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जागरीको होटल जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै टीकापुर नगरपालिका–१ दक्षिण पुरुवा बनगाउँ जाने सडकबाट लागु औषसहित २ जना पक्राउ परेका छन् । अवैध लागु औषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित २ जनालाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–१ ब्लक नम्बर २३ बस्ने २३ वर्षीय शिशिर साउद र २४ वर्षीय सिद्ध बुढा रहेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उता, दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित पार्टी फ्लो रेस्टुरेन्टबाट पनि लागु औषधसहित ३ जना पक्राउ परेका छन् । लागु औषध ब्राउनसुगर ३ ग्राम ५ सय २० मिलिग्रामसहित ३ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–९ बेलुवा बस्ने २१ वर्षीय प्रदीप बुढाथोकी, २१ वर्षीय सञ्जीव कठायत र २१ वर्षीय चन्द्र प्रकाश केसी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप