सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

मङ्गलबार, ०९ माघ २०८०, २० : ३०
मङ्गलबार, ०९ माघ २०८०

आज २०८० माघ ९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • मनमौजी कर्मचारी भर्ना

स्थानीय तहले मनमौजी रूपमा कर्मचारी भर्ना गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी भर्नाको मापदण्ड बनाउने गृहकार्य सुरु गरेको छ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मन्त्रालयहरूका सचिवलाई डाकेर स्थानीय तहमा कर्मचारी भर्नाको विषयमा कुरा उठाएका थिए । एक साता अघि बसेको बैठकले कर्मचारी भर्ना मापदण्ड बनाएर स्थानीय तहमा पठाउने निर्णय गरेको थियो ।

  • पक्राउ पुर्जीले तरङ्ग

१५ वर्षअघिको हत्या सम्बन्धी घटनालाई लिएर नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । गत शुक्रबार प्रहरीले सुर्खेत जिल्ला अदालतबाट पक्राउ अनुमति पाएको हो । प्रहरीका अनुसार कालिकोटको खाँडाचक्र नगरपालिका–८, का १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भएको हो ।

  • घरजग्गा लिलामीको सूचना

नेकपा एमालेका दिवङ्गत नेता सुवास नेम्वाङको इलामको घर जग्गा लिलामी सम्बन्धी सूचना प्रकाशित भएको छ । नेपाल बैंक लिमिटेडले घरजग्गा लिलामीको ३५ दिने सूचना निकाल्दै फागुन १० गत भित्र कर्जा चुक्ता गर्न भनेको छ । 

  • हृदय रोग केन्द्रको स्थायित्व 

कोशीका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार बनेको एक सय दिनको अवसर पारेर शैलजा आचार्य हृदय रोग केन्द्र उद्घाटन गराए । उद्घाटन समारोहकै लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

  • टाटा समूहको इच्छा

वर्षौँदेखि बन्द अवस्थामा रहेका सरकारी लगानीका रुग्ण उद्योग चलाउन भारतको टाटा समूहले इच्छा देखाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रुग्ण अवस्थामा रहेका उद्योगहरूलाई चलाउने गरी प्रक्रिया अघि बढाएपछि लगानीका लागि टाटा समूहले इच्छा देखाएको हो ।

  • भिजिट भिसा

सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्ट पारेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी भएको निर्णय खारेज गर्ने गर्दै अध्यागमन विभागले नयाँ व्यवस्था गरेको हो ।

  • खाद्यान्न भित्रियो

नेपालले चालु आर्थिक वर्षको ६ महिनामा २२ अर्ब २२ करोड रुपैयाँको खाद्यान्न आयात गर्दा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ६ महिनामा ४ लाख ७८ मेट्रिक टन खाद्य वस्तु आयात गरिएको हो । 

  • सामाजिक सुरक्षा कोष

योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) मा तरलता थुप्रिन पुगेको छ । कोषको पछिल्लो तथ्याङ्क अनुसार माघ ८ गतेसम्म योगदानकर्ताको रकम मात्र ४८ अर्ब १२ करोड २६ लाख रुपैयाँ जम्मा भएको छ । जुन औपचारिक तथा अनौपचारिक क्षेत्रका १० लाख ७३ हजार ८३१ जना योगदानकर्ताहरूले बचत रकम हो । 

  • मधेस सरकार

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनमत पार्टीका मन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको खुलेको छ । उक्त योजनाकै बिच जनमतका मन्त्रीले मंगलबार राजीनामा दिएका छन् भने सरकारलाई दिँदै आएको समर्थन समेत फिर्ता लिने निर्णय भएको  नेता चन्दन सिंहले जानकारी दिए। 

  • नेपाल प्रहरीमा असन्तुष्टि

 मुख्यमन्त्रीहरुको दबाबमा प्रहरी समायोजनको प्रक्रिया आरम्भ भएसँगै प्रहरी संगठनमा असन्तुष्टि बढेको छ । समायोजनपछि खुल्ला प्रतिस्पर्धाबाट प्रहरी सेवामा आएकाहरुको वृत्ति विकास रोकिने देखेर असन्तुष्टि प्रकट हुन थालेको प्रहरी अधिकृतहरुले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप