शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

सोमबार, १५ माघ २०८०, २० : २५
सोमबार, १५ माघ २०८०

आज २०८० माघ १५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा प्रधानमन्त्री भन्छन्– दरबार हत्याकाण्डको छानबिन हुन्छ, नेकपा एकीकृत समाजवादीमा दुई धार संघर्ष छताछुल्ल, एनसेल सेयर बिक्रीबारे गठित छानबिन समितिले बुझायो प्रतिवेदन, मानव अधिकार उल्लंघनबापत को–को परे कारबाही सिफारिसमा ?, राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन नसक्ने दुर्गा प्रसाईँको दाबी, जर्मन नागरिक मृत्यु प्रकरण : अनुसन्धानका लागि कुकुर परिचालन, त्रिभुवन विमानस्थलमा प्रहरी–अध्यागमन कर्मचारी कुटपिट प्रकरणको छानबिन कहाँ पुग्यो ? लगायत छन् ।

१. प्रधानमन्त्री भन्छन्– दरबार हत्याकाण्डको छानबिन हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।  

२. नेकपा एकीकृत समाजवादीमा दुई धार संघर्ष छताछुल्ल

नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा दुई धार संघर्ष छताछुल्ल भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको केन्द्रीय परिषद् बैठकमा ‘जनताको बहुदलीय जनवाद’ त्याग्न नसकिने बताइरहँदा सम्मानित नेता झलनाथ खनालले भने ‘जनताको बहुदलीय जनवाद’कै कुरा गर्ने हो भने आफ्नो पार्टीको भन्दा एमालेकै कुरा बढी बिक्ने भन्दै कटाक्ष गरे ।

३. एनसेल सेयर बिक्रीबारे गठित छानबिन समितिले बुझायो प्रतिवेदन

एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोमबार प्रतिवेदन बुझाएको छ । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रतिवेदन बुझाएको हो ।

४. मानव अधिकार उल्लंघनबापत को–को परे कारबाही सिफारिसमा ?

राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष ०७९/८० मा मानवअधिकार उल्लंघनका घटनामा जोडिएका राजनीतिक दलका नेता कार्यकर्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी लगायतलाई कारबाही गर्न सिफारिस गरेको छ । आयोग प्रवक्ता टीकाराम पोखरेलका अनुसार ०७९/८० मा मानव अधिकारको उल्लंघन वा हननका एकसय वटा उजुरी आयोगमा दर्ता भएका छन् ।

५. राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन नसक्ने दुर्गा प्रसाईँको दाबी

मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन नसक्ने जिकिर गरेका छन् । उनले राजेन्द्र लिङ्देनको राजतन्त्र पुनर्स्थापित गर्ने एजेन्डा ‘साँढेको टाङमुनि बाल्टी थापेजस्तै’ भएको टिप्पणी गरे ।  

६. जर्मन नागरिक मृत्यु प्रकरण : अनुसन्धानका लागि कुकुर परिचालन

ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ । मृतक जर्मन घर भएर ललितपुर बस्ने एडी इल एचइडी हुन् । प्रहरीले घटनाको अनुसन्धानमा कुकुरसमेत परिचालन गरेको छ ।

७. त्रिभुवन विमानस्थलमा प्रहरी–अध्यागमन कर्मचारी कुटपिट प्रकरणको छानबिन कहाँ पुग्यो ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको कुटपिट प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । घटना छानबिन गर्न गठित समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरूसँग बयान लिइरहेको छ । बयान सकिए लगत्तै घटनाको प्रतिवेदन बुझाउने समितिको तयारी छ ।

८. टेरामक्स प्रकरणमा दुई हाइप्रोफाइलसँग बयान लिने तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्रीद्वय मोहनबहादुर बस्नेत र ज्ञानेन्द्र बहादुर कार्कीसँग छिट्टै बयान लिने भएको छ । उनीहरूको बयान लिनासाथ विशेष अदालतमा मुद्दा दर्ता गरिने आयोगको उच्च स्रोतले आइतबार रातोपाटीलाई जानकारी दिएको छ ।

९. कोशीमा एमालेले दियो ‘काँध फेर्ने’ चेतावनी

कांग्रेसका ८ सांसदलाई विद्रोह गराउँदै आफ्नै जोडबलमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएको नेकपा एमालेले आफू विकल्प सोच्ने अवस्थामा पुग्न लागेको जनाएको छ । एमाले कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले दलको तर्फबाट सोमबार पत्रकार सम्मेलन गर्दै भण्डारीले आफैले बनाएको मुख्यमन्त्रीका कारण काँध गलेको र फेर्न सक्ने परिस्थिति बन्दै गएको बताएका हुन् । 

१०. सेयर बजार १० अंकले बढ्यो

सोमबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १०.३७ अंकले बढ्दै नेप्से सूचक २ हजार ९४.४६ अंकमा पुगेकोमा सोमबार थप १०.२६ अंकले बढ्दै २ हजार १०४.७२ अंकमा उक्लिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप