बाँकेको डुडुवा गाउँपालिकाले ‘संस्कार’ पाठ्यक्रम निर्माण गर्दै

खजुरा । बाँकेको डुडुवा गाउँपालिकाले ‘संस्कार’को स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको छ । पछिल्लो समयमा आधुनिकतासँगै घरमा परिवार तथा बालबालिकाले नैतिक र संस्कार बिर्सिन थालेकाले ‘संस्कार’ पालनाका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा लागू गरिने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।\
अध्यक्ष चौधरीका अनुसार आगामी शैक्षिक सत्र (२०८१) बाट संस्कारिक (नैतिक) कक्षा सुरुआतका लागि आवश्यक तयारी थालिएको छ । अध्यक्ष चौधरीले भने,– “त्यसका लागि स्थानीय पाठ्यक्रम निमार्णको कार्य अघि बढेको छ, अहिले समिति निर्माण गरी कार्य प्रारम्भ भएको छ ।”
पालिकाअन्तर्गत रहेका सबै विद्यालयमा संस्कारको पाठ्यक्रममार्फत सम्मानलगायतका विषयमा जानकारी गराई त्यसको पालना गराउन पहल सुरु गरिएको हो । संस्कार अन्तरगत घरमा आफू भन्दा ठूलालाई सम्मान गर्ने, बिहान उठ्ने वित्तिकै ढोग्ने, नमस्कार गर्ने, आशीर्वाद लिने, आफूभन्दा ठूलाको कुरा सुन्ने, आदर गर्ने, झुक्ने, सानालाई माया गर्ने, राम्रोसँग बोल्ने, आफ््नो धर्मका बारेमा अध्ययन अनुसन्धान गरी थाहा पाउनेजस्ता कुरालाई समावेश गरिने अध्यक्ष चौधरीले बताए ।
पालिकाका सम्पूर्ण जनतालाई मालिक भनेर सम्बोधन गर्ने अध्यक्ष चौधरीले भने,“म आफ्ना मालिकको अगाडि जहिले पनि झुक्छु, सबै भन्दा ठूला मेरा मालिक नै हुन, म उहाँको नौकर हुँ, पाँच वर्षसम्म काम गर्नका लागि मालिकहरुले मलाई नोकरको रुपमा चुनेका छन् ।”
“म बाल्यकालदेखि नै एउटा संस्कारिक परिवारबाट हुर्केकाले मैले सबैलाई संस्कार सिकाउनु मेरो दायित्व र कर्तव्य हो,” उनेले भने । उनले पालिकाका कर्मचारी, जनता, सेवाग्राही र कार्यक्रता सबैलाई संस्कारको शिक्षा दिन उत्प्ररित हुनुहुन्छ । मदरसा विद्यालयमा धार्मिक गुरुको रुपमा रहनुहुने ‘मुक्ति÷मौलाना÷हाफी’ लाई शिक्षक विज्ञको रुपमा नियुक्त गरी धार्मिक तथा संस्कारिक शिक्षा प्रदान गर्दै आएको पालिकाले जनाएको छ ।
शिक्षामा सुधारको पहल
पालिकाले शिक्षा क्षेत्रमा सुधार गर्नका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले यस वर्ष शिक्षाको गुणस्तरियतासँगै आवश्यक सुधार गर्न रणनीतिअनुसारको कार्ययोजना अघि बढाएको हो ।
पालिका अन्तरगतका विद्यालयको गुणस्तरीय, शिक्षकको निगरानी, विद्यार्थीको सहभागिता, अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले कार्य थालिएको पालिकाका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताए ।
शाखा प्रमुख कर्णका अनुसार अहिले पहिलो चरणमा पालिकाअन्तर्गत रहेका सात वटा माध्यमिक विद्यालयमा क्लोज सर्किट क्यामराबाट निगरानी सुरु गरिएको छ । यसले विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यायपन, सुरक्षालगायत विषयको निगरानी सुरु गरिएको छ ।
छात्रा विद्यालयको तयारी
डुडुवाले छात्रा विद्यालय सञ्चालन गर्न लागेको छ । डुडुवा गाउँपालिका–२ को बेतहनीमा यस वर्षदेखि कक्षा १ को स्वीकृति पाएकाले अब पढाइ सुरु गरिने छ । विद्यालय सञ्चालन गर्नका लागि अहिले भौतिक संरचना निमार्णको कार्य भइरहेको छ ।
मधेशी तथा मुस्लिम समुदायका अभिभावकले आफ्ना बालिकालाई प्रायः विद्यालय नपठाउने गर्नाले छात्राको छुट्टै विद्यालय सञ्चालन गर्ने योजनाअनुरुप छात्रा विद्यालय सञ्चालन गर्न लागेको पालिकाका उपाध्यक्ष शाहिदा बानोले बताइन् ।
डुडुवा मै छात्रा विद्यालय स्थापना भएपछि बालिकाहरुलाई अन्यत्र तथा टाढा गएर पढनुपर्ने बाध्यताको अन्त्य हुने मावि नौरीगौढीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार यादवले बताए । उनले भने,–“हाम्रो मधेशी समुदायमा बालिकालाई विद्यालय नपठाएर घरकै काम लगाउँछन्, विद्यालय नभएपछि झन नपठाउने बहाना पनि हुन्छ, त्यसैले आफ्नै गाउँघरमा विद्यालय भयो भने पढनमा सहज हुन्छ ।”
गुणस्तर मापनका लागि शिक्षण सहजीकरण
डुडुवा गाउँपलिकाले शैक्षिक गुणस्तर मापनका लागि अहिले शिक्षण सहजीकरण सुरु गरेको छ । सुरुमा माध्यमिक विद्यालयमा गएर शिक्षकले पढाएको कक्षाको अवलोकनको कार्य भइरहेको शिक्षा शाखा प्रमुख कर्णले बताए ।
उनले भने,“हामी विद्यालयमा जान्छौँ, शिक्षकले विद्यार्थीलाई विषयगत शिक्षा पढाइरहेको बेला शिक्षकको कार्यक्षमता र सिकाइमूलक सीपका बारेमा मूल्याङ्कन गरेका छौँ ।” उनले भने– “अनुगमनबाट देखिएको समस्यालाई समाधानका लागि कार्ययोजना निमार्ण गर्छौं र सोही बमोजिम सुधार गर्नेछौं ।”
डुडुवामा माध्यमिक विद्यालय सात वटा, आधारभूत विद्यालय नौ वटा, मदरसा १८ वटा, गुरुकूल एक वटा र ७५ वटा बालविकास केन्द्र रहेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?