मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर

मङ्गलबार, २७ जेठ २०८२, ०० : ००
मङ्गलबार, २७ जेठ २०८२

रातोपाटी डटकम वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–

१.विद्यालय शिक्षा विधेयक अन्योलमा 

बहुप्रतीक्षित ‘विद्यालय शिक्षा विधेयक–२०८०’ असार १५ गतेभित्र संघीय संसद्, प्रतिनिधिसभाबाट पारित गरिनुपर्ने लक्ष्य रहे पनि हालसम्म त्यसतर्फ कुनै प्रगति देखिएको छैन ।

शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबिच वैशाख १७ गते भएको सहमतिअनुसार विधेयक सो म्यादभित्र पारित गरिनुपर्ने म्यान्डेट छ । तर प्रक्रिया ढिलो हुँदा विधेयक नै अलपत्र पर्ने सम्भावना देखिन थालेको छ ।

२. सुनमा पाइलैपिच्छे कर

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सुनमा विलासिता शुल्क र हिरामा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि सुन व्यवसायीहरू आन्दोलनको तयारीमा छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार, सरकारको निर्णयले व्यवसाय नै सङ्कटमा पार्ने भएकाले असार ४ गते राष्ट्रिय भेला गरी आन्दोलनको घोषणा गरिनेछ।

३ .माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: परीक्षामा अख्तियार

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अहिले पक्ष–विपक्षमा बहस भइरहेको छ । 

काभ्रेमा रहेको पतञ्जली योगपिठको जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

 

४. अर्थमन्त्री सँग अन्तर्वार्ता
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटलाई धेरैले सन्तुलित मानेका छन् । हरेक वर्ष बजेटपछि सरकार र अर्थमन्त्रीको व्यापक आलोचना हुने गथ्र्यो तर यसपटक त्यस्तो देखिएन । आलोचनाको प्रचलनमा यसपालिबाट ब्रेक नै लाग्यो ।
बजेट कार्यान्वयनको कार्ययोजना, कर नीतिमा भएका परिवर्तन, राष्ट्रिय गौरवका आयोजना, निजी क्षेत्रको भूमिका र सामाजिक सुरक्षाजस्ता विषयमा रातोपाटीका लागि अनिष मिजारले उपप्रधानमन्त्री समेत रहेका पौडेलसँग गरेको कुराकानी

५. सङ्घीय अस्पतालमा जनशक्ति थप्ने तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेकामा अर्थ मन्त्रालयसँगको सहमतिमा स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएका थिए ।

६.विमानस्थल अध्यागमनमा दरबन्दीभन्दा बढी उपसचिव, दुई सचिवलाई कारबाहीको चेतावनीसहितको पत्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी उपसचिव खटाइएको पाइएको छ । अध्यागमन कार्यालयमा ६ उपसचिवको दरबन्दी रहे पनि अहिले ८ उपसचिव कार्यरत रहेको पाइएको हो ।

यससँगै  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहसचिव र संघीय मामिला तथा सामान्य प्रशासन सचिवलाई कारबाहीको चेतावनीसहितको पत्र पठाएको छ । 

७.संसद्को गतिरोध अन्त्यका लागि रास्वपाको पाँच बुँदे प्रस्ताव

संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच बुँदे प्रस्ताव अघि सारेको छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएपछि नेकपा माओवादी केन्द्र,रास्वपा लगायत प्रतिपक्षी दलहरुले संसद्मा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन् । 

८.राजावादी समूहमा विवाद चुलियो, आन्दोलन छिन्नभिन्न

राजतन्त्र फर्काउने उद्घोषसहित जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिएको राजावादी समूहभित्रै विवाद चर्किएको छ ।

चैत १५ गते भएको तीनकुने हिंसात्मक घटनापछि रक्षात्मक बनेका राजावादीहरूले पुनः जुरमुराउँदै ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीको नेतृत्वमा जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन थालेका थिए । 

 

९.  कर्मचारीलाई सदस्यसचिव नियुक्त गरेको भन्दै अदालतमा रिट

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा सामाजिक विकास मन्त्रालयका उपसचिव (दशौँ) जवाहरलाल हमाललाई नियुक्त गरिएको विषय अदालतमा पुगेको छ ।

अधिवक्ता शेरबहादुर खत्री र उपेन्द्रकुमार रावतले कानुनी व्यवस्था विपरीत कर्मचारीलाई नियुक्त गरिएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दर्ता गरेका हुन् ।

१०.प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ ।

दिउँसो बसेको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबार एक बजेसम्मका लागि स्थगित गरिएको हो । 

११. गृहमन्त्रीलाई माओवादीको सुझाव
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ। 

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल मातहतको निकायले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरे । 

 

१२. माओवादी केन्द्रका नेता श्रेष्ठको हृदयघातबाट निधन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको ७३ वर्षको उमेरमा आज ९सोमबार० आफ्नै निवासमा हृदयाघातबाट निधन भएको छ।

याे पनि:

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप