आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीमा पुस्तान्तरणको बहस

शनिबार, २७ माघ २०८०, १७ : ३४
शनिबार, २७ माघ २०८०

काठमाडौँ । विधान अधिवेशनको तयारीमा जुटेको माओवादी केन्द्रभित्र युवा पुस्तालाई नेतृत्वमा ल्याउने बाटो कसरी सहज बनाउने भन्ने बहस अघि बढेको छ । शनिबार पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकमा यसबारे छलफल भएको नेताहरूले बताएका छन् । 

बैठकपछि उपमहासचिव वर्षमान पुनले युवालाई नेतृत्वमा ल्याउन पार्टीभित्र बहस भइरहेको बताएका छन् । ‘हामी विधान अधिवेशनको तयारीमा छौँ, यसमा मुख्यगरि नेतृत्वको चयन कसरी गर्ने भन्ने नै हो । महाधिवेशनले नै निर्वाचन गरेर नेतृत्व चुन्ने विषय अहिलेसम्म हामीले अभ्यास गर्दै आएका छौँ,’ उनले भने, ‘यसलाई अझ कसरी व्यवस्थित गर्ने, कि जसबाट युवा नेतृत्व आउन सकोस् र हाम्रो जस्तो खालको सामाजिक बनोट छ त्यो पनि देखियोस् र नेतृत्वको पङ्क्ति निरन्तर तयार भइराख्ने वैज्ञानिक विधि होस् भन्ने हाम्रो बहसको मुख्य विषय हो ।’ 

नेतृत्वमा नयाँ पुस्ता ल्याउन स्पष्ट पद्धति निर्धारणका विषयमा छलफल चलेको उनले बताए । ‘प्रत्यक्ष रूपले नै सबै तहका नेतृत्वहरू चयन गरेर जाने हो भने अहिलेको जनताको जनमत पनि व्यक्त हुने, विभिन्न पुस्ता पनि पार्टीमा हुने एउटा खालको बहस छ,’ उनले भने, ‘व्यक्तिवादी भन्दा पनि एउटा स्पष्ट पद्धति बसेपछि त्यसले नेतृत्व आफैँ तयार हुन्छ त्यसमा बहस गरिरहेका छौँ ।’ 

यस्तै, पार्टीका अर्का नेता जनार्दन शर्माले संविधानले मार्गनिर्देश गरेका कुरालाई आत्मसात् गरेर त्यसलाई कार्यान्वयन गर्नु पार्टीको आज आवश्यकता भएको बताए । ‘हाम्रो पार्टीको विधि, संरचना, स्वरूपहरूलाई बढाउनु पर्ने अवस्था भएको हुनाले हामी अहिले त्यसैमा छलफल गरिरहेका छौँ,’ उनले भने, ‘यो भनेको नयाँ तरिकाले जनताको बिचमा समर्पित हुने एउटा उद्देश्यमा केन्द्रित भएर हाम्रो बहस भइरहेको छ । हामीले विधानमा को मान्छे के भनेर होइन, विधान नयाँ पुस्ता, सपनासहितको शक्ति पनि पार्टीको नेतृत्वमा आउनुपर्छ भनेर छलफल भइरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप