मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

खानपिनमा घट्दैछ भारतीयहरूको खर्च ?

सोमबार, १४ फागुन २०८०, १६ : २२
सोमबार, १४ फागुन २०८०

नयाँ दिल्ली । गएको १० वर्षमा भारतीयहरूको खर्च गर्ने प्रवृत्तिमा निकै परिवर्तन देखिएको छ । एउटा सरकारी सर्वेक्षणका अनुसार घरायसी खर्च बढेर दुई गुणा भएको छ । तर खानपिनमा खर्च भने घट्दै गइरहेको छ । अर्थात् मानिसहरू खानपिनको सट्टामा अन्य चिजमा धेरै खर्च गरिरहेका छन् ।

कपडा–मनोरञ्जनमा धेरै खर्च

तथ्याङ्क मन्त्रालयले भारतीय घरपरिवारको खर्चबारे एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार भारतीयहरूको घरायसी खर्च गएको १० वर्षमा बढेर दोब्बरभन्दा माथि पुगेको छ । तर खानेकुरामा खर्च भने कम भइरहेको छ । भारतीयहरूले अहिले कपडा, टिभी सेट र मनोरञ्जनसँग सम्बन्धित सामानमा बढी खर्च गरिरहेका छन् ।

प्रतिवेदनका अनुसार ग्रामीण क्षेत्रमा सन् २०११–१२ मा कूल मासिक खर्चमा खानपिनमा खर्चको अनुपात ५३ प्रतिशत थियो । यो अहिले घटेर ४६ दशमलव ४ प्रतिशतमा झरेको छ । सहरी क्षेत्रमा यो अनुपात ४२ दशमलव ६ प्रतिशतबाट घटेर ३९ दशमलव २ प्रतिशतमा झरेको छ । सहरी क्षेत्रमा एक दशकअघि गैर–खाद्य खर्चको अनुपात ५७ दशमलव ४ प्रतिशतबाट बढेर ६० दशमलव ८ प्रतिशतमा उक्लिएको छ । ग्रामीण क्षेत्रमा यसको अनुपात ४७ प्रतिशतबाट बढेर ५३ दशमलव ६ प्रतिशतमा उक्लिएको छ । 

यो सर्वेक्षण सन् २०२२ को अगस्टदेखि सन् २०२३ को जुलाईको बीचमा गरिएको थियो । सर्वेक्षणअनुसार सन् २०११–१२ मा २ हजार ६३० रहेको मासिक प्रतिव्यक्ति उपभोक्ता खर्च बढेर ६ हजार ४५९ आसपास पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप